कुरो २०७८ जेठतिरको हो। कोभिड-१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको पर्बाह नगरी काम गरिरहेका थिए। त्यसै क्रममा दिनरात नभनी काम गरिरहेका भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणको खबर सुन्न पुगेँ। अमेरिकाको येल विश्वविद्यालयमा स्वास्थ्य नीतिमा अध्ययन गरिरहेको म एकदमै हतोत्साहित भएँ।
आखिर जीवन बचाउने स्वास्थ्यकर्मीमाथि किन बिरामीका आफन्तहरु यति निर्दयी भएका होलान् भन्ने प्रश्नले पिरोल्यो अनि यस सम्बन्धमा अनुसन्धान गर्ने योजना बनाएँ। यो लेखमा म स्वास्थ्यकर्मीमाथि हुने हिंसाका कारणहरुको बारेमा चिरफार गर्न चाहन्छु जसले गर्दा यससित सम्बन्धित सरोकारवालाहरुलाई आगामी दिनमा यस्ता घटनाहरुको रोकथाम र प्रतिकार्य गर्न सहज होस्।
संसारमा करिब ६० प्रतिशत स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा शारीरिक, मानसिक वा संवेगात्मक कुनै न कुनै प्रकारको हिंसा भोगिरहेका हुन्छन् र यसको प्रतिशत स्थान र परिवेश अनुसार बढी र कम हुन सक्छ।
नेपालको सन्दर्भमा त्रिभवन विश्वविद्यालय शिक्षण अस्पतालमा हालै गरिएको एक अध्ययनले करिब ४६ प्रतिशत चिकित्सक र ५४ प्रतिशत नर्सहरुले कुनै न कुनै प्रकारको हिंसा भोगेको पाइएको छ। यो अध्ययन एउटा अस्पतालमा मात्र सीमित भएको हुँदा हाम्रो अनुमानमा स्वास्थ्यकर्मीमाथि हुने हिंसाको दर बढी पनि हुन सक्छ।
बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि शारीरिक हिंसा गरेको समाचार सुन्दा प्राय: दुईथरीका प्रतिक्रियाहरु सुन्न पाइन्छ। एकथरीले भन्छन्- स्वास्थ्यकर्मीले लापर्बाही गरे, त्यही भएर कुटाइ खाए, ठिकै भयो। अर्कोथरीको प्रतिक्रिया हुन्छ- होइन, स्वास्थ्यकर्मीले बिरामीलाई नराम्रो गरौं भनेर कहाँ गर्छ, मार्छु भनेर कहाँ मार्छ र, प्रयास गर्दागर्दै नसकेर यस्तो घटना हुन्छ। झट्ट हेर्दा यो दुईमध्ये एक ठिक हो जस्तो लाग्छ। तर स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले गर्ने हिंसाको कारण बुझ्नका लागि यो दुई वटा धरभन्दा अझै भित्र जानुपर्ने हुन्छ।
हिंसाका कारणलाई दुई भागमा बाँड्न सकिन्छ।, एउटा निकटतम र अर्को पर्दा पछाडिका कारण। निकटतम कारणहरु पनि बिरामीजन्य र स्वास्थ्य प्रणालीजन्य हुन सक्छ। हिंसाका घटनाहरु मुख्यतया बिरामीको अवस्था गम्भीर भएको वा मृत्यु भएको अवस्थामा हुने गरेको हाम्रो अध्ययनले देखाएको छ। साथै बिरामी वा बिरामीका आफन्तले मद्यपान सेवन गरेको धेरैजसो घटनामा भएको पाइएको छ। अर्को रोचक कुरा चाँहि कतिपय अवस्थामा अस्पताल वा स्वास्थ्यकर्मीसित आर्थिक मोलमोलाई गर्नका लागि पनि यस्तो घटना भएको पाइएको छ। यसबाट हिंसाको कारणहरु बाहिर देखेजस्तो नहुन पनि सक्छ भनेर बुझ्न सकिन्छ।
स्वास्थ्य प्रणालीसित सम्बधित कारणहरुमा स्वास्थ्यकर्मीको अभाव, अत्यधिक कामको चाप, काम गर्ने स्थलमा भिडभाड हुनु र बिरामीले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था आदि छन्। एकातिर स्वास्थ्य सेवा पाउन लामो समय कुनुपर्ने कारणले बिरामी र बिरामीका आफन्तहरुमा असन्तुष्टि हुन्छ भने, अर्कोतर्फ कामको चाप र कर्मचारीको अभावले स्वास्थ्यकर्मीहरुले बिरामीको अवस्थाको बारेमा आफन्तहरुलाई राम्रोसित व्याख्या गर्न पाइरहेका हुँदैनन्। अनि यी दुवै कारणको मिश्रण रिस र आवेगमा परिणत हुन्छ र स्वास्थ्यकर्मीमाथि हिंसा हुन्छ।
निकटतम कारणहरुमा अझै भित्र जाने प्रयास गरियो भने यसलाई पनि दुई भागमा बाँड्न सकिन्छ- बिरामीजन्य र स्वास्थ्य प्रणालीजन्य। बिरामीजन्य कारणहरुमा बिरामी वा आफन्तहरुको व्यक्तिगत विशेषता, राजनीती शक्तिसितको पहुँच र बिरामीको आर्थिक अवस्था आदिको भूमिका हुन सक्छ। यसका अलावा केही केसहरुमा कमजोर आर्थिक अवस्था भएका बिरामीका आफन्तले आर्थिक क्षतिपूर्तिका लागि पनि हिंसामा उत्रिने गरेको हाम्रो अध्ययनले देखाएको छ।
स्वास्थ्य प्रणालीको तर्फबाट हेर्ने हो भने केही पर्दा पछाडिका कारणहरु देखा परेका छन्। पहिलो, गैरस्थानीय स्वास्थ्यकर्मीहरु हिंसामा बढी परेको देखिएको छ। दोस्रो, रातिको समयमा काम गर्ने स्वास्थ्यकर्मीहरुमाथि बढी हिंसा हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ। तेस्रो, स्वास्थ्यकर्मीलाई बिरामी र बिरामीका आफन्तहरुको रिस र असन्तुष्टिको कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान र सिपको कमी देखिएको छ। चौथो र महत्वपूर्ण कारण चाहिँ बढ्दो दण्डहीनता रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
हिंसामा परेका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो भनेको प्रचलित कानुनको हुबहु पालना नगरी हिंसा गर्ने व्यक्तिसित मेलमिलाप गर्न बाध्य बनाइने, मुद्दा कमजोर बनाउन चलखेल गर्ने र हिंसामा परेका स्वास्थ्यकर्मीलाई कानुनी उपचारमा धेरैतर्फबाट असहयोग गर्ने गरिएको पाइएको छ।
यो समस्यालाई अझै अलि वृहत्तर रुपमा हेर्ने हो भने अस्पताल, स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीहरुप्रति बिरामी वा आफन्तहरुको अपेक्षा एकदमै उच्च हुँदै गइरहेको छ। तर त्यसको दाँजोमा स्वास्थ्य सेवाको प्रवाह, त्यसको गुणस्तर, बिरामी र स्वास्थ्यकर्मीबीचको सम्बन्ध र संवादमा सुधार आउन सकिरहेको छैन, जसले गर्दा यस्ता घटनाहरु दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ।
यसर्थ, स्वास्थ्यकर्मीमाथि हुने हिंसाका कारणहरु विभिन्न तहमा हुने र ती तहहरुका पनि विविध पक्षको योगदान हुने भएको हुँदा यो समस्याको दिगो समाधानको लागि कानुनी पाटोमा मात्रै जोड नदिई समग्र स्वास्थ्य प्रणाली सुधारमा जोड दिइनुपर्छ जसले गर्दा बिरामीको अपेक्षा र स्वास्थ्यकर्मीको सेवा प्रवाहबीचको दूरी कम गर्न सकियोस्।
(लेखक हाल युनिभर्सिटी अफ नर्थ केरोलाइनामा स्वास्थ्य नीति र व्यवस्थापनमा विद्यावारिधि गर्दैछन्। उल्लेख भएको अध्ययनमा काठमाडौं विश्वविद्यालयका दिनेश तिमल्सेना र इन्टिच्युट फर इम्प्लिमेन्टेसन साइन्स एण्ड हेल्थ काठमाडौंका कल्पना चौधरीको पनि उत्तिकै योगदान रहेको छ।
नोटः यस लेखमा हाम्रो अध्ययनको सारांश मात्र प्रस्तुत गरिएको छ। यसको विस्तृत विवरण अनुसन्धानमुलक लेखमा प्रस्तुत हुनेछ।)