काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्न सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बैठक बोलाएको थियो। उक्त बैठकमा स्वास्थ्यमन्त्री नै अनुपस्थित भएपछि सांसदहरु आक्रोशित भएका छन्।
समितिका केही सांसदले मन्त्री नै अनुपस्थित भएको भन्दै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्। रास्वपाकी सांसद डा तोसिमा कार्कीले मन्त्रालयको कामकारबाही र मन्त्रीको निर्णयहरुका सम्बन्धमा सार्वजनिक रुपमा समेत प्रश्न उठिरहेको अवस्थामा मन्त्री आफैं अनुपस्थित भएको भन्दै आक्रोश व्यक्त गरिन्। उनले मन्त्री अनुपस्थित हुनुको कारण समेत माग गरिन्।
बैठकमा स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पूँजीगत खर्चको सम्वन्धमा र मन्त्रालयसंग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका विषयमा छलफल भएको छ। उक्त छलफलमा मन्त्री बस्नेतलाई पनि बोलाइएको थियो। तर मन्त्री बैठकमा अनुपस्थित भएका हुन्।
समिति सभापति भानुभक्त जोशीले आफूले माघ ५ गतेदेखि निरन्तर स्वास्थ्यमन्त्रीलाई फोन गरेको तर नउठाएको बताए। समितिका अरु सदस्यहरुले पनि स्वास्थ्यमन्त्रीको उपस्थितिमै छलफल आवश्यक रहेको बताए। त्यस आधारमा समितिले स्वास्थ्यमन्त्री संगै छलफल गर्ने निर्णय लिएको छ। मन्त्रीलाई समिति बैठकमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्ने समितिको निर्णय छ।
सभापति जोशीले भने, ‘हामीले एउटा कुरा त मन्त्रीज्यूलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमती गर्यौंर। दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौं। तेस्रो भनेको स्वास्थ्यसँग आबद्ध भएको स्वायत्त निकायहरु खासगरी बीमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुसँग पनि छुट्टाछुट्टै हामीले बैठक गर्ने भन्ने तेस्रो निर्णय गर्यौं।’
बैठकमा मन्त्रालयका दुई जना सचिवहरु डा रोशन पोखरेल र देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा विकास देवकोटा र नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेल उपस्थित थिए।
सचिव डा पोखरेलले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरुमा नर्सिङ र एमबीबीएस अध्यापन गराउने विषयमा मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी दिए। उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भएको पनि बताए।
सचिव पोखरेलले चालू आर्थिक वर्षको स्थास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात करिव २१ प्रतिशत खर्च भएको बताए। उनले चालूतर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे। धेरै आयोजनाहरुको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भए पनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए।
उनले मन्त्रालयको भौतिक प्रगतिमा कायक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको जानकारी दिए।