डाक्टर अर्जुनदेव भट्ट एक अर्थमा मेरा लागि पुनर्जीवनदायी आमा सरह हुनुहुन्छ। प्रोस्टेटको अपरेशन तीन-तीन पटक असफल भई म निकै अत्यासको मनोदशामा थिएँ । हप्तैपिच्छे, अझ कहिले त दिनैपिच्छे, क्याथेटर वा पाइप प्रयोग गरी मूत्रत्याग गर्नुपर्ने दुरवस्थामा म पीडित थिएँ । सुखद् संयोगवश डाक्टर भट्टको ममतामयी तीक्ष्ण दृष्टि र कुशल हातको शल्यक्रिया नपाएको भए म सायद इन्फेक्सनले अस्ति नै मरिसक्थेँ । म आजसम्म सिर्जनात्मक क्रियाशीलता साथ जीवित रहनुमा डाक्टर भट्टद्वारा प्रदत्त पुनर्जीवनको हात छ।
डाक्टर भट्ट र मेरो जन्म मिति रहेछ केवल एक वर्ष अघिपछि । डा भट्टले मेरो शल्यक्रिया गर्ने कुरा भएपछि मलाई लाग्यो- म जस्तै बुढो मान्छे। शल्यक्रिया गर्ने छुरा ठाउँमा नभएर अन्त पुगे के हुन्छ? मेरा मित्रहरु पत्रकार विजयकुमार पाण्डे र जुगल भुर्तेलले एकचौटी गरिहेर्न आग्हर गरे। 'म जस्तै बुढो मान्छे' भन्ने मेरो आशयमा उनीहरुको जोडबल थियो- बुणा भएपनि तगडा छन्।
त्यसपछि मलाई लाग्यो- तीनपटक त शल्यक्रिया असफल भइसक्यो। हद्दै भए, चौथोपटक असफल होला। तर, सफल भयो। डा भट्टले आफ्नो कौशल प्रयोग गरेर मेरो सिर्जनशील जीवन फर्काइदिनु भयो।
मेरो जन्मथलो नेपालको पूर्वी भेग, डाक्टर भट्टको जन्मथलो पश्चिमी भेग। उही समय, उही जात र उस्तै संस्कृतिको प्रभावको कारण हाम्रो जीवनमा कतिपय कुरामा बिछट्टको समानता रहेछ। उहाँको संस्मरण भन्छ- हामी दुबैका परिवारभित्र हिन्दु सामन्ती संस्कृतिको जग्गजी थियो । हामी दुबैका शुद्धतावादी ब्राह्मण बा जनै कानमा सिउरेर बाहिर बस्न जाने । हिन्दु देवी-देवताको नित्य पूजापाठ गर्ने । यसलाई पितृसत्ताको अहंको प्रतीक भनुं वा पत्नीप्रतिको करुणाभाव, हाम्रा बा आमालाई थालमा अलिकता भात छाडिदिने।
डाक्टर भट्टको ब्रतबन्ध नभई बिहा भएछ, मेरो पनि भयो त्यही। हामी दुबैको विवाह अन्तर्जातीय । मेरो विवाह स्वदेशी मतवाली गहुँगोरी नारीसँग, डाक्टर भट्टको विवाह परदेशी गोरी 'म्लेच्छ' सँग । स्वभावतः अन्तर्जातीय विवाहप्रति मेरा परिवारजनको प्रतिक्रिया किञ्चित् नरम, डाक्टर भट्टको विवाहप्रति किञ्चित् कठोर। सांस्कृतिक सन्दर्भहरूमा हाम्रा पत्नी र छोराछोरीले झेलेको जानअन्जान विभेदको प्रकृति पनि उसैगरी किञ्चित् नरम र किञ्चित् कठोर । तथापि पेट पाल्ने कर्ममा हामी दुबै आत्मनिर्भर हुनाले र हाम्रो न्यूनाधिक सार्वजनिक प्रतिष्ठा हुनाले हाम्रा प्रिय जनले उति लामो समयसम्म सांस्कृतिक विभेदको कहर काट्नुपरेन।
अति व्यस्त डाक्टर भट्टको यो संस्मरण व्यस्तताबीचको अस्तव्यस्त लेखनी होला संवेदना र तीक्ष्ण अनुभूतिको कलात्मक कलेवरमा बडो आवेगमय अभिव्यञ्जना रहेछ। सोचें- यो परिमार्जित लेखनीमा साहित्यको पठन तथा स्वनामधन्य लेखक ठुल्दाजु आनन्ददेव भट्ट र निकट सम्पर्कका अन्य सिर्जनशील जनहरूबाट प्राप्त प्रेरणा र संस्कारको छाप अवश्य होला । र, डाक्टर भट्टको समानता र न्यायप्रतिको मुखर झुकावमा सात साले क्रान्तिको हलचल, बाल्यकालमा सुदूर पश्चिम भेगमा अनुभूत गरेका न्यायपथिक विद्रोही भीमदत्त पन्तका पदचापको छाप र सोभियत समाजवादको प्रभावको अवश्य केही न केही भूमिका होला।
(डा भट्टको 'मेरी आमा एक दृढ प्रतिज्ञ नारी'को सार्वजनिक कार्यक्रममा लेखक संग्रौलाले प्रस्तुत गरेको विचारको सम्पादित अंश)