मुख तथा अनुहार शल्यचिकित्सा विधालाई सम्भवतः विश्वमै सबैभन्दा बढी अध्ययन समय लाग्ने विधाको रूपमा मानिन्छ। मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।
किन अद्वितीय छ यो विधा?
मुख तथा अनुहार शल्यचिकित्सा विधालाई सम्भवतः विश्वमै सबैभन्दा बढी अध्ययन समय लाग्ने विधाको रूपमा मानिन्छ। बेलायतको कुरा गर्ने हो भने कक्षा १२ को पढाइ सम्पन्न भएपछि यो विधा हासिल गर्न डेन्टल प्राइमरी डिग्री भएर १८ वर्ष र मेडिकल प्राइमरी डिग्री भएर १६ वर्ष लाग्छ।
यसले दन्त र मेडिकल विधालाई जोड्ने पुलको काम गर्छ। अर्थात्, डेन्टल र मेडिकल विषयका ज्ञानलाई आदानप्रदान गर्ने माध्यमको काम गर्छ। दुवै क्षेत्रको गहन तालिम प्राप्त गर्ने विधाका रुपमा यसलाई हेरिएको छ। देश अनुसार यो विधा हासिल गर्न डेन्टल तथा मेडिकल दुवै डिग्री आवश्यक पर्छ।
बेलायत, जर्मनी, युरोप, लगायतका मुलुकमा डेन्टल डिग्रीबाट बाटो सुरु भई मेडिकल शिक्षाको गहन तालिम प्राप्तपश्चात् यो विधाको उपाधि हासिल गरिन्छ। यसले मानव दीर्घ रोग भएकाहरुको दाँत, मुख तथा अनुहार सम्बन्धी विषेशज्ञ उपचार प्रदान गर्छ। यस विधामा काम गर्नेहरु कतै डेन्टल डाक्टर त कतै सर्जनको रूपमा चिनिन्छन्।
अमेरिकामा यस विधामा काम गर्नेहरु धेरै आम्दानी गर्ने मानिसमा चौथो नम्बरमा पर्छन्।
यस विधाद्वारा हुने उपचार
मुलतः मुख, दाँत, अनुहार, घाँटी, टाउको सम्बन्धी रोग, अवस्था र विकृतिको उपचार यस विधाबाट हुन्छ अर्थात् अनुहारको अभिभावकको रूपमा परिचित छ यो विधा। बुँदागत रूपमा यसका कार्य क्षेत्रहरु निम्न अनुसार छन्।
–मुख तथा अनुहारको घाउ, चोट–पटक, जलन, केमिकल इन्जुरी, इत्यादि।
–मुख तथा अनुहार सम्बन्धी ट्युमर इत्यादिको उपचार।
–मुख तथा टाउको, घाँटीको क्यान्सर सम्बन्धी उपचार।
–अनुहारको जोर्नी सम्बन्धी रोगहरुको उपचार।
–अनुहार, ओठ, तालु खुँडे सम्बन्धी उपचार।
–अनुहारको कस्मेटिक, प्लास्टिक सर्जरी।
–बाङ्गोटिङ्गो अनुहारका हड्डीको सर्जरी।
–थुक ग्रन्थी सम्बन्धी रोगको उपचार।
–अनुहार साइनस सम्बन्धी उपचार।
–दन्त प्रत्यारोपण, डेन्टल तथा फेसियल इम्प्लान्ट।
–घुर्ने।
–डेन्टल सर्जरी।
–बुद्धि बंगारा सम्बन्धी उपचार।
–मुख तथा अनुहारको संक्रमण सम्बन्धी उपचार
–मुख, दाँत तथा अनुहारको दुखाइ, नसा सम्बन्धी उपचार।
–अनुहारको ट्रान्स जेन्डर सर्जरी इत्यादि।
नेपालमा यस विधाबाट माथि उल्लेखित उपचार भइरहेको छ। यद्यपि, यो विधासँग अन्य विधाहरुका केही भाग ओभरल्याप पनि हुन्छन्।
यो विधाको महत्व किन छ?
माथि उल्लेख गरे जस्तै अति विषेशज्ञ सर्जनद्वारा उपचार गरिन्छ। अनुहार जस्तो भागलाई उपचार गर्दा धेरै सोच्नु पर्छ। विज्ञले केवल रोगको उपचार मात्र गर्दैनन् बिरामीको सौन्दर्यलाई पनि बनाउँछन् या बिग्रिन दिँदैनन्। धेरैजसो दाग नआउने गरी उपचार गरिन्छ। बिरामीको मनोविज्ञान, आर्थिक अवस्था र रोग अनुसार अनुकुलन गरी उपचार गरिन्छ।
बिरामीको चाप बढी, उपयुक्त रोगको पहिचान नहुनु, आवश्यक जनशक्ति परिचालनमा समस्या हुँदा बिरामीले सोही अनुरूप गुणस्तरीय सेवा प्राप्त गर्न सकिरहेका छैनन्।
उदाहरणको लागि, कुनै ५ वर्षको बच्चा लडेर चिउँडोमा चोट लागी अस्पताल जान्छ। उसलाई घाउ सिलाएर डिस्चार्ज गरिन्छ। त्यतिबेला केही पनि लक्षण देखिँदैन। तर केही वर्षपछि अनुहारको जोर्नीको समस्या आउँछ। अनि जिन्दगीभर अनुहारको विकृतिको समस्या भोग्नुपर्छ।
अर्काे उदाहरण, दाँतमा संक्रमण हुन्छ, एन्टिबायोटिक दिइन्छ, सही ठाउँमा रिफर हुँदैन, संक्रमणको कारण दाँत हटाइँदैन, एन्टिबायोटिक रेसिसटेन्स हुन्छ। पछि उसको जटिल अनुहार तथा घाँटीको संक्रमण हुन्छ, ज्यान पनि जान सक्छ। अनुहारमा चोट लाग्छ, नराम्रो नगरी दाग आउने गरी टाका लगाइन्छ।
यसको मतलब बिरामीहरुले उपचार नपाएको या अरूले गलत उपचार गरेको भन्न खोजेको होइन। विषेशज्ञ उपचार अभावको अवस्थालाई उजागर गरेको भन्ने बुझ्नु होला। यस्ता धेरै उदाहरण छन् जसमा बिरामीहरूले ओरल एण्ड मेक्सिल्लो फेसियल सर्जनको परामर्श पाउन अलि ढिलो हुन्छ या कहिले अवसर नै पाउँदैनन्।
यससम्बन्धी डाक्टरहरु नेपाल सरकारको प्रादेशिक अस्पताल, प्रतिष्ठान, सरकारी तथा निजी शिक्षण अस्पताल, निजी मेडिकल अस्पताल, निजी क्लिनिक इत्यादिमा सेवा दिँदै आएका छन्। सरकारी स्तरमा सीमित दरबन्दी भएको हुँदा धेरैजसो निजी क्षेत्रमा कार्यरत छन्।
समस्या जनशक्तिको छ। बिरामी छन्, व्यवस्थापन छैन। फलस्वरूप बिरामीहरू गुणस्तरीय सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो विषयमा मात्रै नभई अन्य चिकित्सा विधा, नर्सिङ, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी जस्ता विषयमा पनि यस्तै अवस्था छ भन्ने मेरो अनुमान छ।
(डा आचार्य मुख तथा अनुहार शल्यचिकित्सक हुन्।)