काठमाडौं- मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्। मानसिक समस्याको पहिचान, खोज तथा त्यसको उपचारको सबै व्यवस्था एकै छानामुनि प्रदान गर्नका लागि उक्त इकाईको स्थापना गरिएको अस्पतालका निर्देशक डा अनन्त अधिकारी बताउँछन्।
नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य सेवा प्रदान गर्नु नै यस इकाईको मुख्य लक्ष्य रहेको छ। उनले भने– बाल बालिकाको मानसिक स्वास्थ्य सेवा केही मात्रामा कान्ति बाल अस्पतालले सेवा प्रदान गरिरहेको छ। यद्यपि अन्तरंग तथा बहिरंग सेवा दिने कुनै पनि स्वास्थ्य संस्था नेपालमा नभएकोले यस इकाईको स्थापना गरिएको हो। उक्त इकाईले बाल बालिकालाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि १० बेड छुट्याएको अस्पतालका निर्देशक डा अनन्त अधिकारी बताउँछन्। हालसम्म बाल मानसिक स्वास्थ्यमा विशेषज्ञ मानसिक सेवा प्रदान गर्ने निकाय नभएकोले देशकै एक मात्र केन्द्रिय स्तरको अस्पतालमा उक्त इकाईको गरिएको बाल बालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निामा तुलाधर बताउँछीन्।
१५ प्रतिशत बालबालिकालाई उपचार आवश्यक डा अधिकारी
मानसिक स्वास्थ्य समस्या अन्य प्रकारका समस्या भन्दा विल्कुलै फरक छ। बालबालिकाहरुमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणहरुले मानसिक समस्या देखिने गर्छन्। मानसिक स्वास्थ्य समस्या यीनै कारक तत्वहरु रहेको अस्पतालका निर्देशक डा अनन्त अधिकारी बताउँछन्। कतिपय बालबालिकाहरुमा वंशाणुगत कारण,अभिभावकत्व सही रुपमा नपाएका बालबालिकाहरु, लागुऔषधको सेवन गर्ने बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छन्।
पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्नुको प्रमुख कारण यस रोगको पहिचान बढ्नु पनि हो। नेपालका मानसिक स्वास्थ्य समस्याको पहिचान भएकामध्ये करिब १५ प्रतिशत बालबालिकाहरुलाई उपचार गर्नुपर्ने अवस्था हुन्छ। स्थानीय तथा प्रदेश स्तरले बिरामीको पहिचान गरी मानसिक अस्पतालसम्म रेफर गर्न सकेको अवस्थामा धेरै हदसम्म मानसिक स्वास्थ्यका समस्या सम्बोधन हुन सक्छन्। वयस्क अवस्थामा मानसिक समस्या देखिएका कतिपय मानिसहरुमा १४ वर्ष कै हाराहारीमा क्रोनिक प्रकारका मानसिक रोग लाग्ने गरेको पाइन्छ। यद्यपि त्यसको पहिचानमा मात्रै ढिलाई भएको हो।
सातै प्रदेशमा किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको विस्तार आवश्यक डा कुँवर
नेपालमा १५ वर्ष अगाडिको कुरा गर्ने हो भने बालबालिकाको मानसिक स्वास्थ्य समस्या पहिचान नै हुने नगरेको बाल मनोचिकित्सक डा अरुण कुँवर बताउँछन्। यसको अर्थ बाल मनो रोग नेपालमा पहिला नै भएपनि त्यस विषयमा अध्ययन गरेका दक्ष जनशक्ति तथा उपचारको अभावमा बाहिर आउन सकेको थिएन।
बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा सातै प्रदेशमा सरकार तथा निजी क्षेत्रले महत्वका साथ काम गर्नुपर्ने समय आएको डा.कुँवर बताउँछन्।
प्रादेशिक तथा स्थानीय स्वास्थ्य संस्थाहरुमा समेत मानसिक स्वास्थ्य सम्बन्धि आधारभुत तालिम प्राप्त जनशक्तिको व्यवस्थापन गर्न सकेमा सहरी क्षेत्रमा मात्रै केन्द्रित रहेको मानसिक स्वास्थ्य सेवालाई दुर्गमसम्म लैजान सकिने डा कुँवरको भनाई छ।
कम्तीमा स्थानीय तथा प्रदेश स्तरमा मानसिक स्वास्थ्य समस्यालाई पहिचान गर्न सकेको अवस्थामा पनि धेरै समस्याको सम्बोधन हुन सक्नेछ।
नेपाल मेडिकल काउन्सिलको सन् २०२२ को तथ्यांक अनुसार नेपालमा २४४ जना मनोचिकित्सक रहेको अवस्था छ । हालकै जनसंख्या आधार मान्ने हो भने आगामी ५० वर्षसम्म पनि नेपालको जनसंख्याका लागि मनोचिकित्सकको संख्या अपुग हुने देखिन्छ।
त्यसैले किशोर किशोरी तथा बालबालिकाहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि चेतना विस्तारका लागि टेलिमेडिसिन विधीको प्रयोग गर्न सकिने सरोकारवालाहरु बताउँछन्।
किशोर किशोरी तथा बाल मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नका सिविन नेपालले केही समय अगाडि मात्रै जोरपाटीस्थित अर्थाेपेडिक अस्पताल तथा सहिद गंगालाल हृद्य रोग केन्द्रमा समेतबालबालिकाको मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
हाल सरकारबाट उपेक्षित मानसिक स्वास्थ्य क्षेत्रलाई प्राथमिकता साथ काम गर्नका लागि सिविन जस्ता गैरसरकारी निकायहरुले खेलेको भूमिका प्रशंसायोग्य रहेको मनोचिकित्सक डा सरोज ओझा बताउँछन्।