मुगु जिल्ला मुगुमकार्मारोङ गाउँपालिकाका अन्तरगत स्वास्थ्य शाखा अन्तरगत स्वास्थ्य चौकी पुलुमा कार्यरत जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाले २०७९ सालदेखि समुदायमा निशुल्क स्वास्थ्य प्रवर्दन परामर्शका लागि प्रत्येक शनिबार घुम्ती सेवा संचालन गर्दै आएका छन्। उनले २०७९ सालको जेठ महिनादेखि सामुदायिक स्वास्थ्य प्रवर्दन तथा परामर्शका लागि निःशुल्क रूपमा महिनाको दूई शनिबार दुई गाउँमा दन्त सेवा सहितको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिदै आएका छन्।
समुदायमा स्वास्थ्य सम्बन्धी चेतना कम रहेको र अधिकांश जनजाती खस भासा कम बुझ्ने समुदाय भएकाले स्वास्थ्य संस्थामै नआउने र जटिलता भएर मात्रै आउने उनी बताउँछन्। पैसाको कमीले टाढा जान नपाई गाउँमै ज्यान गएको साथै विभिन्न जटिलताले दीर्घ समस्या नहोस भनेर निशुल्क रूपमा महिनाको दुई शनिबार दुई गाउँमा दन्त सेवा सहितको स्वास्थ्य जाँच तथा परामर्श सेवा सुरु गरिएको उनले बताए।
जागिरको धैरै जसो सेवा अवधी मुगुमकार्मारोङ गाउँपालिका मुगुकै विभिन्न वडा टोल वस्तिहरूमा बिताउका छन्। साविकमा यस भेगमा ५ वटा गाविस थिए। ८५ प्रतिशत जनजाती र १० प्रतिशत क्षेत्री ५ प्रतिशत दलितको संख्या रहेको छ। गाउँपालिकामा मुगु जिल्लाको उत्तरी भेगमा रहेको ठुलो भुगोल र टाढा टाढाका वस्तीहरुमा हरेक महिनाको दुई सनिबार दुई गाउँमा गत वर्ष जेष्ठ महिनादेखि स्वास्थ्य सेवा तथा परामर्शका लागि व्यक्तिगत तर्फबाट सामुदायिक अभियान थालिएको हो। यस अभियनमा विशेष गरि दन्तरोगी, उच्च रक्तचाप, सरसफाई, खान पिन, नसर्ने रोग, स्वास्थ्य बीमा, घरमै रहेका दीर्घरोगीहरूको स्वास्थ्य परामर्शमार्फत रेफर , आर्थिक अवस्थाले घरमै छटपटिएका बिरामीहरूलाई विभिन्न निकायको सहयोग माग्ने, २ वर्ष मुनिका बालबालिकालाई नियमित खोप पुरा गराउन अभिभावकको दायीत्व र फाइदाबारे बताउने गरिएको छ।
हालसम्म जनप्रतिनिधि तथा स्थानीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा थप प्रभावकारी भएको छ। यसै क्रममा विभिन्न जटिलता भएका बिरामीहरुलाई संघसस्था तथा चिकित्सकको समन्वयमा जुम्ला, नेपालगंज, ट्रामा सेन्टर काठमाडौ लगायतका ठाउँमा प्रेषणको लागि परामर्श गर्ने गरिएको छ। १६ वटा बस्ति रहेको मुगुमकार्मारोङ गाउँपालिकामा हालसम्म सबै जसो गाउँमा दोहोर्याएर यो अभियान जारी राखेका छन्।
यस्तो छ उनको अनुभवः कुनै एक पटकको शनिबार वडा नं ५ सेरोग गाउँमा पुगेको दिन भर हरेको टोलको एक सेन्टर बनाइ दाँतका बिरामीहरूको उपचार, स्वास्थ्य परामर्श कुहिएका काम नलाग्ने दाँत निकाल्ने गरे। यसैक्रममा गाउँमा कोही त्यस्ता बिरामी छन् भनि सोध्दा गाउँकै ६५ वर्षिय लामाको हात भाचिएर सल्लाको काप्रोको भरमा १० दिन वसेको भेटेँ। उता महिला स्वास्थ्य स्वयंसेविका आफै छारे रोगको २ महिनाअघि म्याद नाघेको फेनिटोइन नामक औषधि सेवन गरेको भेटाएँ। अर्को घरमा लडेर क्लाभिकल बोन भाचिएर नजोडिएको भेटेँ, मलाइ सहयोग गर्ने पेमा बहिनीले उता नि एक जना बिरामी छन भनेर जाँदा बिस सेवन गरेर ३ दिनसम्म घरमै पल्टिरहेको भेटाएँ। यी सबै समस्यलाइ स्वास्थ्य परामर्श रेफर चिकित्सक को परामर्शबाट सघाएँ।
मलाइ लाग्छ एउटा गाउँमा यस्ता समस्या लुक्छन भने १६ वटा गाउँमा कति? रोग लाग्दा वित्तिकै स्वास्थ्य सस्था नजाने र स्वास्थ्य सम्बन्धी जानकारी पनि त्यति नभएका अधिकांस यस पालिका मानिसहरूमा हामी जस्तै मध्यम स्तरका स्वास्थ्यकर्मीले ठुलो उपचार त नगरमला तर समस्या ठुलो हुन दिन्नौं। कठिन भुगोल, स्वास्थ्य चेतनाको स्तर, चिकित्सकको अभाव, जंक फुडको बढी प्रयोग, स्वास्थ्य बीमाको पहुँचको कमी, मासु, मध्यपान या जाँडरक्सीको बढी प्रयोग, सरसफाईमा कमी, सडकको पहुँच नभएको संचारको सुविधा नभएको लगायतका थुप्रै समस्याले यो अभियानको निरन्तरता दिनेछु। हाल सम्म गरीएका कार्यले सामाजिक चेतना,सरसफाई, मुख स्वास्थ्य, रक्तचाप लगायतका कुरामा एकदमै जोड दिने गरेको छु १६ वटा गाउँका १२०० जना भन्दा बढी व्यक्तिहरु संग व्यक्तिगत निशुल्क दन्त तथा स्वास्थ्य सेवा पुर्याएको छु र आगामी दिनमा विद्यालय तथा अन्य ठाउँमा यो सेवा विस्तार गर्ने योजना गरेको छु।