औषधि भन्ने वित्तिकै सबैले एलोपेथिक औषधिलाई मात्र बुझ्छन्। हाम्रो घर, भान्सादेखि सबैतिर आयुर्वे औषधि प्रयोगमा आउँछ। तर पनि जडिबुटी औषधिको विषयमा चर्चा थोरै हुन्छ। आयुर्वेद औषधि उत्पादक संघ अन्तर्गत ४२ वटा उद्योग छन्। औषधि व्यवस्था विभागमा धेरै १०० भन्दा बढी दर्ता छन्। औषधि व्यवस्था विभागभन्दा अगाडि नै नेपालमा आयुर्वेद औषधिका कम्पनी थिए। आयुर्वेद औषधिहरु प्रयोग गरिन्थ्यो।
गर्विलो इतिहास बोकेको आयुर्वेद क्षेत्रलाई सरकार र सम्बन्धित निकायले कमजोरीको रुपमा हेरेको देखिन्छ। आयुर्वेदमा बिरामी हुँदा मात्र होइन, बिरामी हुनै नदिन प्रयोग गरिने औषधिहरु पनि छ। आयुर्वेदको क्षेत्रमा पनि औषधि उत्पादनको अवस्था उस्तैउस्तै छ। धेरै समस्या छन्। ती समस्या समाधानका लागि हामी आफैं पनि जुटिरहेका छौं। विभागले गर्ने नियमनले पनि हामीलाई फाइदा भएको छ। भारतबाट आउने कतिपय औषधिहरु आयात बन्द हुँदा आयुर्वेदमा नेपाली उद्योगहरु अगाडि बढ्न सक्षम भएका छन्।
नेपाली आयुर्वेद औषधिमा जीएमपी लागू भएमा आयुर्वेद औषधि उद्योगले पनि फड्को मार्ने विश्वास लिएको छु। सहुलियतको विषयमा कसैले ध्यान दिएको छैन। सरकारकै उद्योग बन्द जस्तो छ। यसतर्फ ध्यान दिइएको छैन। भोलिका दिनमा नेपाली उद्योग नहुँदा, नेपालमा औषधि उद्योग बन्द भएको अवस्थामा सरकारले औषधिहरु आयात मात्र गर्छ ? के गर्छ भन्नेमा सरकारको कुनै चासो छैन। सिंहदरबार वैद्यखाना सबैभन्दा पुरानो आयुर्वेद औषधि उद्योग आज सञ्चालनमा छैन। राजनीति तथा अव्यवस्थित व्यवस्थापनको कारण अहिले ३ सय वर्ष पुरानो उद्योग बिग्रेको अवस्था छ। औषधि उत्पादन गरेर निर्यातसम्म गर्न सक्ने ठाउँमा राज्यले अपहेलित गरेको छ।
आयुर्वेद जडिबुटी भनेको उत्पादन गरेर निर्यात गर्न सकिने क्षेत्र हो। तर यसमा राज्य अग्रसर भएको छैन। यसमा राज्य अलिकति मात्र अग्रसर भएर सुविधायुक्त बनाइदिने हो भने हामीले औषधि उत्पादन गरेर निर्यात गरेर पैसा देशमा भित्र्याउन सक्छौं। कमाउन सक्छौं। सरकारले जडिबुटी भएको क्षेत्रलाई भ्यालु एडिसन गरेर संकलन गर्ने र प्रर्वद्धन गर्ने कुरा गरेर हामीसँग आउने वातावरण मिलाइदिए मात्र पुग्छ। ७ प्रदेशमा ७ ठाउँमा जडिबटी संकलन केन्द्र मात्र बनाइदिने हो भने पनि त्यहाँबाट आउने गुणस्तरीय जडिबुटी उत्पादन गर्न सक्यौं भने देशलाई पनि राम्रो हुन्छ।
अहिले बढिरहेको नसर्ने रोगमा जडिबुटी औषधिको प्रमोट गर्न सकियो भने धेरै काम गर्न सक्छौं। आयुर्वेद औषधि उत्पादन र बिक्री–वितरणमा बजारमा अप्ठेरोपन देखिएको छ। सामाजिक सञ्जालबाट विकृति फैलिएको छ। हामीले उत्पादन गर्ने कुनै औषधि २ सयमा बिक्री गरिरहेका छौं। त्यस्तै औषधि सामाजिक सञ्जालमा २ हजार मूल्य राखेर बिक्री गरिरहेको छ। नेपालीले अनलाइनबाट महँगोमै खरिद गरेर खाइरहेका छन्। आयुर्वेद औषधिहरुको कुशल औषधि उत्पादन अभ्यास (जीएमपी) मा रहेर औषधि उत्पादन गर्ने कम्पनीहरु छैनन्। आयुर्वेदको जीएमपी मापदण्ड नै तयार भएको छैन। एलोपिथिक र आयुर्वेदमा केही भिन्नता छ।
सरकारले मापदण्ड बनाएको अवस्थामा हामी आयुर्वेद औषधि उद्योगहरु त्यो मापदण्डमा रहेर सञ्चालन हुन तयार छौं। हाम्रा उद्योगहरु पनि जीएमपीको मापदण्डमा गएर उत्पादन गर्न सक्ने उद्योगहरु छौं। सरकारले आयुर्वेद औषधि उत्पादनका लागि गुणस्तरीय जडिबुटीको व्यवस्थापन गर्न सक्यो भने हामीले गुणस्तरीय औषधि गुणस्तर राम्रो गर्न सक्छांै। सरकारले जडिबुटीको संरक्षण र संकलन गरिदिएमा हामीले राम्रोसँग उत्पादन गर्न सक्छौं। हाम्रोमा आयुर्वेदमा जनशक्तिको पनि समस्या छ।
(लेखक नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष हुन्।)