काठमाडौँ- महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सक्रिय हुनेमा विश्वभरका स्त्रीरोग विशेषज्ञ प्रतिबद्धता जनाएका छन्। ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन प्रतिबद्ध हुन्।
सम्मेलनमा विदेशबाट आएका चिकित्सकले नेपालका महिलाको स्वास्थ्यका क्षेत्रमा कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने सीप सिकाउने समाजका अध्यक्ष डा सरोजा कार्की पाण्डेले बताइन्।
कार्यक्रममा सांसद डा चन्दा कार्कीले सम्मेलनले महिलाको स्वास्थ्यको क्षेत्रमा गरिएका अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेबारे ज्ञान पुग्ने बताइन्। उनले सम्मेलनमा महिलाको स्वास्थ्य उपचारका लागि अपनाइने नयाँनयाँ प्रविधिका बारेमा छलफल हुने भन्दै ती प्रविधि नेपालमा भित्र्याउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रले समाजले महिलाको स्वास्थ्य क्षेत्रमा गरेका कामको सराहना गरिन्। समाजले यस क्षेत्रमा उपलब्धि हासिल गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।
डा मिश्रले महिलाको स्वास्थ्यको तथ्याङ्कले नेपालले केही प्रगति गरे पनि अझै गर्नुपर्ने भन्दै सरकारले महिलाको स्वास्थ्यलाई प्राथमिकता राखेको बताए। उनले गरिबी, विपन्न वर्गसम्म महिला स्वास्थ्यको पहुँच बढाउन आवश्यक रहेको बताइन्।
समाजका पूर्वअध्यक्ष डा लक्ष्मी नानी श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि महिलाको स्वास्थ्यमा सुधारमा आउनुपर्ने बताइन्। सम्मेलनमा विदेशी चिकित्सकले नेपालमा महिलाका स्वास्थ्यमा गरेका अध्ययन अनुसन्धानबारे पनि छलफल गरिने छ।
समाजका अध्यक्ष डा पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ ।
“अझै पनि महिलाको स्वास्थ्यमा गुणस्तरीय सेवा पुर्याउन सकिएको छैन”, डा पाण्डेले भनिन्, “हामीले सिकेका तालिम फरक हुन्छन् । नयाँ र आधुनिक तालिम सबै चिकित्सकले प्राप्त गर्न सकेका छैनन् ।” उनले चिकित्सक विदेशिएकाले पनि अहिले भइरहेका चिकित्सक र बिरामीको अनुपातमा धेरै फरक देखिएको भन्दै गुणस्तरीय स्वास्थ्य प्रदान गर्न समस्या भइरहेको बताए।
समाजका अध्यक्ष डा पाण्डेका अनुसार सम्मेलनमा महिला स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको छ भने वरिष्ठ चिकित्सकले कनिष्ठ चिकित्सकलाई आफूले जानेको कुरा सिकाएका छन्। उक्त सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश, अमेरिका, अष्ट्रेलियालगायत देशका स्त्री रोग विशेषज्ञको सहभागिता थियो । सम्मेलनले सरकारले महिला स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ।