काठमाडौं– नेपाल आँखा अस्पतालले आफ्नो स्थापनाको ५० वर्षमा ३४ लाखभन्दा बढीलाई आँखा उपचारको सेवा दिएको छ।
अस्पतालले सेवा सुरु गरेको ५० वर्ष पुग्दासम्म ३४ लाख ३८ हजार ५७२ जनाको आँखा जाँच र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।
अस्पताल सञ्चालक समितिका बोर्ड सचिव यूद्धध्वज सापकोटाका अनुसार अस्पतालमा दैनिक ४०० देखि ७०० जनाले बहिरंग सेवा लिइरहेका छन्। अस्पतालले आँखाको कर्निया, मोतिबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा सेवाको लागि विभाग नै सञ्चालन गरेर सेवा दिइरहेको सापकोटाले जानकारी दिए। अस्पतालमा हाल १५ जना नेत्र विशेषज्ञ र ११३ जना अन्य कर्मचारीहरुबाट आँखाको विशिष्टकृत सेवा दिँदै आएको सापकोटाको भनाइ छ।
अस्पतालले चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा मात्र १ लाख १ हजार ७३४ जनालाई बहिरंग सेवा दिएको छ। यस्तै २ हजार ७३५ जनाले आकस्मिक सेवा लिएका छन्। ती मध्ये १६ वर्ष मुनिका बालबालिकाको संख्या मात्र १६ हजार ४० जना रहेको छ।
अस्पतालले ८ महिनाको अवधिमा ३ हजार ५९८ जनाको आँखाको शल्यक्रिया समेत गरेको छ। यस्तै, ७२१ जनाको आँखा शिविर मार्फत शल्यक्रिया सेवा लिएको थियो।
अस्पतालले ८ महिनाको अवधिमा विद्यालय स्तरमा १४ हजार ९९४ जनाको दृष्टि परीक्षण र १ हजार १० जनालाई नि:शुल्क चश्मा वितरण गरेको सपाकोटाले जनाकारी दिए।
यस्तै अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिष्य प्रतिष्ठान अन्तर्गत एमडी अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ।
अस्पतालले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि मोतिबिन्दुको शल्यक्रियामा ५० प्रतिशत सहुलियत प्रदान गरी सेवा दिइरहेको पनि सापकोटाले बताए।
पछिल्लो समय आँखा अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गएको सापकोटाले जानकारी दिए। उनले भने, ‘गत ४ वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको संख्या ५० प्रतिशतले वृद्धि भएको छ।’
भदौदेखि कम तौल वा प्रिम्याच्युअर्ड जन्मेका शिशुहरुमा हुने दृष्टि पर्दाको रोगको पनि उपचार सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपाल प्रसाद पोखरेलले बताए। अस्पतालले प्रसूति तथा स्त्री रोग अस्पताल र एक एक पाइला संस्थासँगको समन्वयमा सुरु गरिएको सेवाबाट ८ महिनामा ४०० बालबालिकाले सेवा लिएको र ती मध्ये ३५ जनाको उपचार तथा एकजनाको शल्यक्रिया समेत गरिएको पोखरेलको भनाइ छ।
अस्पतालमा हाल ५ वटा शल्यक्रिया कक्ष संचालनमा रहेकोमा एउटा कक्ष थप गर्ने लक्ष्य अस्पतालको छ। यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ११ लाई मोतिबिन्दु फ्रि बनाउने योजना सहित आँखाका बिरामी खोज्ने र रोग पहिचान तथा उपचार सेवा पनि सुरु गरिएको डा पोखरेलले बताए।
अस्पतालमा ११ नम्बर वडामै रहेको र सोही वडामा पनि कतिपय आँखामा समस्या भएकाहरु उपचार नै नगरी बसेको अवस्था हुनसक्ने भएकाले सो सेवा सुरु गरिएको डा पोखरेल बताए। सो अभियान अन्तर्गत हालसम्म ३४ जनालाई शल्यक्रिया सेवा समेत दिइएको डा पोखरेलले जानकारी दिए।
पछिल्लो समय शहरका बालबालिकाहरुमा आँखाको दृष्टिमा समस्या बढ्दै गएको डा पोखरेलको भनाइ छ।
उनका अनुसार घरमै कोठाभित्र बस्ने व्यक्तिमा बढी चस्मा नै प्रयोग गर्नुपर्ने अवस्थामा आँखामा समस्या देखिएको छ।
‘हामीले शिविरहरु गरेर पनि थाहा पायौं, शहरका स्कुलका धेरै बालबालिकामा चस्मा नै लाउनुपर्ने अवस्थामा पुगेको छ, यो ग्रामिण क्षेत्रका स्कुलका बालबालिकाको तुलनामा बढी छ,’ डा पोखरेलले भने, ‘बाहिर खेल्ने, कुद्ने ठाउँ नहुने,कोठाभित्र मात्र बस्नेमा चस्माको प्रयोग गर्नुपर्ने अवस्था धेरै देखिएको छ।’