सार्वजनिक खरिद, सरकारी निकायहरुले आफ्नो सेवा, निर्माण कार्य र मालसामानहरू खरिद गर्नका लागि अपनाउने प्रक्रिया हो। यो प्रक्रिया प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धात्मक हुनु जरुरी छ। आवश्यकताका विश्लेषण र प्रतिस्पर्धात्मक प्रक्रिया, दुबै सार्वजनिक खरिदको महत्वपूर्ण पक्ष हुन्। सार्वजनिक खरिद ऐन २०६३को परिच्छेद-२ को दफा ४ बमोजिम सार्वजनिक निकायले मालसामान, निर्माण कार्य वा सेवा खरिद गर्नुअघि आवश्यकता निर्धारण गरी त्यस सम्बन्धि स्फेसिफिकेशन, योजना, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरण तयार गर्नुपर्दछ र सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम खरिद कारबाहीको तयारी गर्नुपर्ने हुन्छ। यसले खरिद गर्नुपर्ने मालसामान वा सेवाको परिभाषा दिन्छ।
खरिद प्रक्रिया प्रभावकारी र लक्ष्य-उन्मुख बनाउँन किन र केका लागि खरिद गरिँदैछ भन्ने स्पष्टता आवश्यक छ। वित्तीय जिम्मेवारी र पारदर्शितामा सहयोग पुर्याउन वार्षिक स्वीकृत कार्यक्रम अनुसार कस्तो बजेटमा, कुन स्रोतबाट र कति खर्च गर्न सकिन्छ भन्ने विश्लेषण गर्नुपर्दछ। बजारमा उपलब्ध मालसामान, सेवा र आपूर्तिकर्ताहरुको अध्ययनले उपलब्ध विकल्प र प्रतिस्पर्धात्मक लागत अनुमान तयार गर्न सहयोग पुर्यावउने गर्छ। सम्बन्धित क्षेत्रका विशेषज्ञहरु र प्रयोगकर्ताबाट सुझाव र सल्लाह अनुसार गुणस्तरमा सम्झौता नगरी आवश्यकता निर्धारण गर्नुपर्दछ।
स्वास्थ्यजन्य मालसामान, (जस्तै : औषधि, चिकित्सा उपकरणहरू र आपतकालीन सेवाहरू) जनताको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित छन्। सीधा असर जनताको जीवनमा पर्ने हुँदा स्वास्थ्यजन्य मालसामानको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन। प्रतिस्पर्धाका आधारमा सस्तो मूल्यमा खरिद गर्दा गुणस्तरमा कमी आउने हुँदा दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्छ।
स्वास्थ्यजन्य मालसामानको खरिदमा गुणस्तरलाई उच्च प्राथमिकता दिनु अतिआवश्यक छ। कम गुणस्तरको मालसामानले रोगको निदान र उपचारमा त्रुटि ल्याउन सक्छ र जसले गर्दा बिरामीको ज्यानसम्म जान सक्छ। गुणस्तरीय मालसामानको प्रयोगले उपचार प्रक्रिया द्रूत, सुरक्षित र प्रभावकारी बनाउने गर्दछ। स्वास्थ्य क्षेत्रमा सार्वजनिक विश्वास अत्यन्त महत्वपूर्ण कुरा हो। यदि खरिद प्रक्रियामा कम गुणस्तरको मालसामान प्रयोग हुन्छ भने जनतामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी प्रति अविश्वास बढी स्वास्थ्य सेवा प्रणालीप्रतिको जनताले हेर्ने दृष्टिकोण र सहभागिता र सहकार्यमा पनि असर पार्न सक्छ।
आपूर्तिकर्ताहरु एक-आपसमा प्रतिस्पर्धा गर्नाले मालसामान वा सेवाको मूल्यमा कमी ल्याउँछ र सरकारी खर्चमा बचत हुन्छ। आपूर्तिकर्ताहरुलाई नयाँ र प्रभावकारी टेक्नोलोजी प्रस्तुत गर्न प्रेरित गरी यसले नवप्रवर्तन र प्राविधिक सुधारमा सहयोग पुर्याउँछ। प्रतिस्पर्धात्मक प्रक्रिया पारदर्शी हुन्छ, जसले भ्रष्टाचार र अपारदर्शितालाई न्यूनिकरण गरी सार्वजनिक खरिद प्रणालीको विश्वसनीयता बढाउँछ।
तर सार्वजनिक खरिदमा प्रतिस्पर्धा प्रायः मूल्यमा केन्द्रित हुन्छ। सस्तो मूल्यमा खरिद गर्न प्रतिस्पर्धा गर्दा गुणस्तरमा सम्झौता हुनसक्छ। स्वास्थ्यजन्य मालसामानको सन्दर्भमा यस्तो सम्झौता अत्यन्त हानिकारक हुनसक्छ। कम मूल्यको मालसामानले अल्पकालीन बचत त देला तर दीर्घकालीनमा यसले स्वास्थ्य सेवा प्रणालीलाई ठूलो हानि पुर्याउन सक्छ। प्रतिस्पर्धात्मक प्रक्रियामा पारदर्शिताको कमी हुनसक्छ। कतिपय ठेकेदारहरूले कम मूल्य देखाएर ठेक्का पाउँछन् तर पछि थप लागत जोडेर वास्तविक लागत बढाउछन् (विषेश गरि प्रयोगशाला सम्बन्धी उपकरणहरुमा)। यसले बजेटमा अनावश्यक भार पर्ने मात्र होइन, स्वास्थ्य सेवाको निरन्तरतामा पनि समस्या निम्त्याउन सक्छ। आवश्यकतामा सम्झौता नगर्दा त्यहाँ प्रतिस्पर्धा हुँदैन भने प्रतिस्पर्धा गर्दा आवश्यकतामा सम्झौता गर्नुपर्छ र न घोडा, न गधा, बिचको खच्चड खरिद हुन्छ। आवश्यकताको स्पष्ट विश्लेषणले खरिद प्रक्रियालाई लक्षित र प्रभावकारी बनाउँछ भने प्रतिस्पर्धाले किफायती र पारदर्शी खरिदलाई सुनिश्चित गर्दछ।
सार्वजनिक खरिदमा स्वास्थ्यजन्य मालसामानको प्रतिस्पर्धा भन्दा आवश्यकतालाई प्राथमिकता दिनु अति नै आवश्यक भइसकेको छ। जनताको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष सम्बन्धित यी मालसामानहरुको खरिद प्रक्रियामा गुणस्तरलाई पहिलो स्थानमा राख्नुपर्छ। प्रतिस्पर्धात्मक प्रक्रियाको सीमाहरूलाई ध्यानमा राख्दै आवश्यकतालाई प्राथमिकता दिनु स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका लागि अपरिहार्य रहेको छ। सार्वजनिक खरिदको सही कार्यान्वयनले मात्र राज्यको स्रोतको उचित प्रयोग र सेवाप्राप्तिको गुणस्तर सुधार्न सकिन्छ भने सरकार, नीति निर्माताहरू, र सम्बन्धित निकायहरूले स्वास्थ्यजन्य मालसामान खरिदलाइ एउटा छुट्टै विशेष व्यबस्था गर्नका निम्ति ठोस कदम चालेर आआफ्नो भूमिका इमान्दारीपूर्वक निभाइ सार्वजनिक स्वास्थ्यको हितमा योगदान दिनुपर्ने हुन्छ।