काठमाडौं- नेपालका अस्पतालहरुमा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया सेवा पाउनका लागि १ सातादेखी २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ।
महालेखापरीक्षकको ६१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनका आधारमा देशको संघीय अस्पताल वीरमा शल्यक्रियाको प्रकृतिका आधारमा १ सातादेखि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यता छ । त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी परीक्षणका लागि ३ देखी ६ घन्टा तथा शल्यक्रियाका लागि रोगको प्रकृति अनुसार ४ देखि १२ हप्ता,हेमोडायलासिस्का लागि ४देखी ५ महिना, इन्डोस्कोपीका लागि १ सातासम्म कुर्नुपर्ने अवस्था रहेको छ।
त्यस्तै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिसका लागि ७ सय जना बिरामीमा कुरिरहेका छन्। भने उक्त केन्द्रमा बिरामीले सेवा लिनका लागि ६ महिनादेखी १ वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि ४५ दिनसम्म कुनुपर्ने अवस्था छ । क्यान्सर उपचारमा एकदमै महत्वपूर्ण पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट तथा मेमोग्राफी मेसिन नहुँदा बिरामीले जटिल प्रकृतिको उपचार पाउन सकेका छैनन्।
त्यस्तै कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रियाका लागि ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोसिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो कुर्नुपर्ने अवस्था रहेको छ।