कुर्कुच्चा दुख्ने रोग्लाई प्लान्टर फासिआइटिस भनिन्छ। कुर्कुच्चादेखि बुढी औंलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ।
यसको कारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुखाइ हुन्छ। जुन सियोले रोपेको जसरी चसक्क दुख्छ। दुखाइ केहिबेर हिड्यो भने कम भएको अनुभव हुन्छ। तर फेरि लामो समय एकै ठाउँमा उभिँदा दुखाइ बढ्न जान्छ। प्राय जसो मोटोपन भएका र लामो समय एकै ठाउँमा उभिने मानिसहरुमा यो रोग बढी देखिने हुन्छ। धेरै जसो महिलालाई यो समस्या बढी हुनेगर्छ। प्राय ३० देखि ६० वर्ष उमेर समूहमा यो बढी देखिन्छ।
कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ। मोटोपन भएका व्यक्तिहरुमा प्राय यो रोगको समस्या देखिने गर्छ।
कसरत नगर्नेहरुलाई र ठूला हिल भएका स्यान्डल, जुत्ता चप्पल लगाउने हरुलाई पनि यो समस्या हुन सक्छ।
लामो समयसम्म यस्तो कुर्कुच्चा दुख्ने सम्स्या भईरह्यो भने यसले गर्दा गोडा, घुँडा र ढाड दुख्ने समस्या पनि निम्तिन सक्छ। तसर्थ समयमा नै यसको उपचार तिर लाग्दा राम्रो हुन्छ।
यो रोग पत्ता लगाउन महँगो जाँच कुनै गर्नुपर्दैन। बिरामीले भनेका लक्षणका आधारमा रोगको पहिचान हुन्छ। कहिलेकाहीँ गर्नै परेमा खुट्टाको एक्सरे गरेर हेरिन्छ। यस्तै समस्या अरु रोगहरुमा पनि देखिने हुँदा ढाडको एमआरआइ गर्नुपर्ने हुन्छ।
उपचार:
९० प्रतिशत यो रोगका बिरामीहरु फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नु पर्दछ।
कुर्कुच्चामा बरफ (आइस)ले सेक्ने गर्नुपर्छ।
चिकित्सकको सुझाव अनुसार दुखाइ कम गर्ने औषधिहरु प्रयोग गर्ने।
सजिलो जुत्ताको प्रयोग, जुत्तामा सिलिकोन सोल हालेर पनि लगाउन सकिन्छ।
राति सुत्ने बेलामा खुट्टामा स्प्लिन्ट लगाएर सुतेमा त्यस्ले प्लान्टर फासिआलाई तन्काएर राख्दछ जसले गर्दा कुर्कुच्चाको दुखाइमा कमी ल्याउँछ।
यदि लामो समय दुखाइ कम नभए कुर्कुच्चामा सुइ पनि लगाउन सकिन्छ। कसै कसैलाई शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।
लामो समय एउटै ठाउँमा नउभिने।
बिरामीहरुलाई अरु कुनै बाथ रोगको कारणले यस्ता खाले दुखाइ पनि हुनसक्छ तसर्थ लामो समय दुखाइ भएकाहरुले बाथ रोगका चिकित्सकसँग परामर्श गर्दा उचित हुन्छ।