काठमाडौं-नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्यमा कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताए।
उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेको बताए। उनले नेपालमा जनसङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिए।
सांसद केसीले विभिन्न समयमा सरकारहरूले एकै दिन ७५३ स्थानमा १५ शय्याका अस्पताल उद्घाटन भए पनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए। उनले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको जिकिर गरे।
उनले तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए। उनले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल नभएको बताए।
‘‘स्वास्थ्य मन्त्रालयमा कम्तीमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो। तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ। अत्यन्त न्यून हो। भूतपूर्व स्वास्थ्य मन्त्री भएकाले दुःख व्यक्त गर्छु। सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेका छन्। २०५५ सालदेखि २०८० सालसम्म २५ वर्ष भयो। जनसङ्ख्या वृद्धि भयो। स्वास्थ्य संस्थाहरूको वृद्धि भयो। तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी वृद्धि भएको छैन। ठुला काम पनि भएका छन्।,’’ सांसद केसीले भने, ‘‘एकै दिन ७५३ स्थानमा १५ बेडका अस्पताल उद्घाटन पनि भए। तर त्यो कति बन्यो। जनशक्ति कसरी परिचालन गर्ने भन्ने योजना थियो कि थिएन। भौतिक संरचना र उपकरणको बारेमा सोचे नौ। तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर छैनन्।’’