धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ। शनिबार प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए।
त्यस्तै चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ हजार वनियोजित गरिएको घोषणा गरे। त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. २ अर्ब ९२ करोड १७ लाख १० हजार र वित्तीय व्यवस्थातर्फ रु. १० करोड हुने गरी विनियोजन भएको छ।
स्वास्थ्य सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेको देखिएको छैन। नियमित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ।
यस्तो छ स्वास्थ्यमा छुट्याइएको बजेट
१.प्रदेश अन्तर्गतका अस्पताल तथा स्थानीय तहका स्वास्थ्य चौकीहरूलाई थप स्तरोन्नति र सुदृढीकरण गरी अस्पतालहरूमा फिजीयोथेरापी सेवा विस्तार गरिनेछ। कल्पसनद चिकित्सा पद्धतिको विकास र विस्तारका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
२.सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालबाट सिकेलसेल एनिमिया, थालासेमिया, हेमोफिलिया जस्ता रोगहरूको पहिचान, निदान र उपचारको व्यवस्थाका लागि घोरघोरा स्वास्थ्य उपचार कार्यक्रममा रु. १ करोड ४० लाख विनियोजन गरेको छु ।
३. मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रदेशमा कुपोषण न्यूनीकरण र केस व्यवस्थापन गर्न स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्वास्थ्य संस्थामा पोषण पुनर्स्थापना केन्द्रहरू स्थापना, विस्तार र स्तरोन्नतिका लागि प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल र स्वास्थ्य कार्यालयहरूमा पर्याप्त बजेटको व्यवस्था मिलाएको छु ।
४. सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय तथा मातहतका स्वास्थ्य निकायहरूको जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिनेछ । प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धिका लागि जनशक्ति तथा उपकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५. प्रसुति केन्द्र र ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई थप सुदृढीकरण गर्न आवश्यक उपकरणहरूको व्यवस्था गरी प्रजनन् स्वास्थ्य सम्बन्धी रोगहरू र रुग्णताको पहिचान र निदान गर्न विषेशज्ञ सहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूमा आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६.शारीरिक रूपमा अपाङ्गता र अटिजम भएका बालबालिकाहरूका लागि स्क्रिनिङ शिविर सञ्चालन गर्न, स्थानीय तहसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना गर्न र स्थानीय तह, गैरसरकारी संघसंस्था तथा निजी क्षेत्रको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
७. मेरो स्वास्थ्यः मेरो जिम्मेवारी भन्ने नारासहित नसर्ने तथा मानसिक रोग न्यूनीकरणका लागि स्थानीय तहसँगको समन्वयमा नसर्ने रोग सम्बन्धी योजना कार्यान्वयन गरिनेछ । नसर्ने रोग नियन्त्रण र रोकथामका लागि संघ सरकारसँगको समन्वयमा प्रदेश मातहत रहेका नागरिक आरोग्य सेवा केन्द्रहरूलाई थप व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । प्रादेशिक अस्पतालहरूमा मानसिक स्वास्थ्य इकाई स्थापनाका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
८. सडक दुर्घटनाबाट स्वास्थ्य क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूलाई बेशिक लाईफ सपोर्ट र फस्ट एड जस्ता तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छु ।