काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरुको विश्वासको मत गुमाएका छन्। प्रधानमन्त्रीमा विश्वासको मात माग गरेका उनलाई दुई तिहाइभन्दा बढी सांसदले 'अविश्वास'को मत दिएका छन्। यो सँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
सरकारमा गएको डेढ वर्षको अवधिमा दाहालले पाँच पटक विश्वासको मत लिनु परेको थियो। सो क्रममा दाहालले झण्डै शतप्रतिशत विश्वासको मतदेखि २२ प्रतिशतसम्म मत ल्याएका छन्।
२०७९ मंसिरको निर्वाचनपछि पहिलोपटक विश्वासको मत लिने क्रममा उनले कुल २७५ सांसद रहेको संसदमा २६८ मत पाएका थिए। तर डेढ वर्षपछि पाँचौ पटक मत लिने क्रममा उनी अहिले ६३ मा खुम्चिएका छन्। प्रतिनिधि सभामा सहभागी २५८ सांसदमध्ये प्रचण्डले ६३ मत पाएका हुन्। उनको विपक्षमा १९४ मत परेको छ। र प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।
उनले जतिपटक विश्वासको मत लिए, त्यति नै उनीप्रति अविश्वास बढेको देखिन्छ। उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिँदा उनको पक्षमा २६८ मत परेको थियो। यो संसदमा रहेको कुल २७५ संख्याको ९७ दशमलव ४५ प्रतिशत हो।
प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल मात्र थिए। त्यतिबेला प्रतिपक्ष दलमा रहेको कांग्रेसले समेत उनलाई मत दिएका थिए।
त्यसपछि दोस्रोपटक २०७९ चैत ५ गते विश्वासको मत लिँदा १७२ मत पाएका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले उक्त पार्टीलाई छाडेर कांग्रेससँग सरकार चलाउने निर्णय गरेपछि ०७९ चैत ५ मा विश्वासको मत लिएका थिए । त्यति बेला दाहालको पक्षमा १ सय ७२ मत आएको थियो। यो कुल २७५ को ६२ दशमलव ५४ प्रतिशत मत हो। त्यतिबेला संसदमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए ।
प्रचण्डले २०८० मा फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए। एमालेसँग पुनः सहकार्य गरेपछि कांग्रेस सरकारबाट बाहिरिएको थियो। त्यसपछि दाहालले गत फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिए। त्यति बेला उनले १५७ मत प्राप्त गरेका थिए । यो मत कुल २७५ को ५७ दशमलव ०९ प्रतिशत हो। त्यतिबेला मतदानमा २६८ जना सहभागी थिए।
प्रधानमन्त्रीका रुपमा दाहालले चौथो पटक ०८१ को जेठ ७ गते विश्वासको मत लिएका थिए। सरकारमा सहभागी जसपा नेपाल सरकारबाट अलग भएपछि उनले चौथो पटक विश्वासको मत लिनु परेको थियो। त्यति बेला पनि उनले १५७ मत नै प्राप्त गरे । यो मत पनि कुल संख्याको ५७ दशमलव ०९ प्रतिशत नै हो।
पाँचौंपटक भने उनले 'प्रचण्ड अविश्वास' हासिल गरेका छन्। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिमा सरकार बनाउने सहमति गरिसकेका छन्। एमालेका केपी शर्मा ओलीले पहिले नेतृत्व गर्नेछन्।