काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हालै मात्रै दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ। यसअघि अस्पतालले यसै प्रकारको महाधमनी स्थानान्तरण शल्यक्रिया १९ पटक सफल रुपमा सम्पन्न गरिसकेको जनाएको छ।
कसरी गरिन्छ महाधमनी शल्यक्रिया?
मुटुबाट निस्कने दुई मुल रगतका नलीहरु अरोटा र पुल्मुनरी आर्टरी विपरीत कोष्ठबाट निस्किएको अवस्थामा महाधमनी शल्यक्रिया गरिने बाल मुटु रोग शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाले जानकारी दिए।
यस शल्यक्रियामा धमनीहरुलाई काटेर अर्काेसँग जोडिन्छ। साथै मुटुबाट निस्कने रक्तनलीलाई काटेर अर्काे धमनीसँग जोडिन्छ। यसका साथै मुटुभित्र रहेको प्वालहरु पनि टाल्ने गरिन्छ।
गंगालालमा पहिलोपटक विं.सं २०६८ मा महाधमनी शल्यक्रिया
ब्राजिलका शल्यचिकित्सक जटीनीद्वारा विश्वमा पहिलोपटक सन् १९७५ मा उक्त शल्यक्रिया गरिएको थियो। नेपालमा डा रविन्द्र तिमलाको नेतृत्वमा विं.सं २०६८ सालमा गंगालाल अस्पतालमा महाधमनी स्थानन्तरण शल्यक्रिया सफल रुपमा सम्पन्न भएको थियो। डा तिमलाका अनुसार हाल गंगालाल अस्पतालमा उक्त शल्यक्रिया ९ दिने बालकदेखि ७ वर्षिया नाबालक सम्ममा गरी २० जनामा सफल भइसकेको छ।
प्रायजसो जन्मेको ७ दिन देखी २ महिना भित्र गर्नुपर्ने उक्त शल्यक्रिया रोग पहिचान तथा अस्पताल आउन हुने ढिलाईका कारण मुटु र फोक्सोमा समेत समस्या हुने डा तिमला बताउँछन्। शल्यक्रिया तथा शल्यक्रियापछिको हेरचाह समेत जटिल हुने भएकोले महाधमनी स्थान्तरण प्रक्रियालाई बाल मुटु रोग शल्यचिकित्सा सेवाको गुणस्तर मापनको कशी पनि मानिन्छ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सुरुवातदेखि नै उक्त शल्यक्रिया नेपाली शल्यचिकित्सकको टोलीले सफल रुपमा गरिरहेका छन्। यसबीच नेपालमा तीन पटक विदेशी चिकित्सकको टोलीले शल्यक्रिया गरेपनि सफल भने हुन सकेको थिएन।