काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुएट्स तहको थप सात विषयका पाठ्यक्रम तयार पारेको छ। दुई दिनसम्म चलेको प्रतिष्ठानको कार्यशाला गोष्ठीबाट सात विषयका पाठ्यक्रमलाई पूर्णता दिइएको हो।
प्रतिष्ठानले ५० सिटमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यस वर्ष पोष्ट ग्राजुएट (पिजी) तहका थप सात विषयको अध्यापन गराउने लक्ष्यका साथ पाठ्यक्रम तयार गरिएको प्रतिष्ठानका रेक्टर डा डबल बहादुर धामीले बताए।
विसं २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल स्नातक तथा स्नाकोत्तर तहका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। प्रतिष्ठानले ३ सय बेडको अस्पतालसहित फार्मेसी,जनस्वास्थ्य,नर्सिङ, चिकित्सा महाविद्यालय मार्फत् स्नातक र स्नातकोत्तर तहमा ४ सय भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आइरहेको डा धामीले बताए।
प्रतिष्ठानले एनेस्थेसिया, गाइनोकोलोजी,पेडियाट्रिक, एमडीजीपी, अर्थाेपेडिक र मेडिसिन जस्ता क्लिनिकल विषयहरुमा एमडी तथा फार्मेसी र जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्यापन गराउदै आइरहेको छ।
'बेसिक मेडिकल साइन्सहरुमा र थप क्लिनिकल विषयमा एमडी एमएस र एम एस्सी अध्यापन सुरु गर्न पाठ्यक्रम तयार गर्नुपर्ने भएकोले यो दुई दिने कार्यशाला गोष्ठी गरिएको हो', डा धामीले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेको गोष्ठीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल, शिक्षा आयोगका उपाध्यक्ष,नेपालका अन्य प्रतिष्ठानका उपकुलपति र पूर्व उपकुलपतिहरु,रेक्टरहरु, रजिष्ट्रारहरु ,डीनहरु लगायतको उपस्थिती रहेको थियो। उक्त चरणमा पाठ्यक्रम सम्बन्धी र वर्तमान नेपालको स्वास्थ्य स्थिती र यसका निराकरण आदि विषयमा विज्ञहरुले मन्तव्य राखेका थिए।
त्यस्तै दोस्रो दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिकुलम विकास समितिले विभिन्न विषयमा एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री माइक्रोबायोलोजी, प्याथोलोजी,फर्माकोलोजी,फरेन्सिक मेडिसिन गरि सात विषयमा सम्बन्धित विषयका विज्ञहरुको रिभ्यूसहित पाठ्यक्रम तयार पारेको थियो। ड्राफ्टमाथि कार्यशाला गोष्ठीमा थप विज्ञहरु माझ प्रस्तुतीकरण तथा छलफल गर्दै पाठ्यक्रमलाई पूर्णता दिइएको छ।