काठमाडौं- हेपाटाइटिस संक्रमणका कारण विश्वमा हरेक वर्ष ११ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
विश्व हेपाटाइटिस दिवसका अवसरमा काठमाडौं जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी सुलोचना खतिवडाले विश्वमा हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको बताएकी हुन्।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार 'हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको छ', 'नेपालमा प्रत्येक वर्ष ०.९ प्रतिशत हेपाटाइटिसका नयाँ बिरामी फेला पर्ने गरेको छ',उनले भनिन्।
नेपाल सरकारले सन् २०३० सम्म हेपाटाइटिस अन्त्य गर्ने लक्ष्य लिएको छ। जसअनुसार सन् २०२१ को तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत मानिसहरुमा हेपाटाइटिसको भ्याक्सिन लगाइएको खतिवडाले जानकारी दिइन्।
सरकारले सन् २००५ देखि गर्भवती महिलाहरुले हेपाटाइटिसको परीक्षण गर्नुपर्ने नियम ल्याएको थियो। हेपाटाइटिस हुने विभिन्न कारणहरुमध्ये नेपालमा बढी मात्रामा सुईंका कारणले यसको संक्रमण हुने गरेको छ।
के हो हेपाटाइटिस, कति प्रकारको हुन्छ ?
हेपाटाइटिस ए,बी,सी,डी र ई गरी ५ प्रकारको हुन्छ। विभिन्न प्रकारका हेपाटाइटिसमध्ये ए र ई पानीको माध्यमबाट सर्ने आरएनए भाइरस हो। हेपाटाइटिस बी हुनेलाई डीको संक्रमण हुने सम्भावना बढी हुन्छ। वयस्कहरुलाई भन्दा बच्चाहरुलाई यो भाइरसले बढी मात्रामा र छिटो संक्रमण गराउँछ। हेपाटाइटिस भाइरसको संक्रमण भई निको भएमा यसले एन्टीबडी बढाउँछ। सामान्यतया ४ सातासम्म निको भइसक्ने यो भाइरस ६ महिनाभन्दा बढी देखिएमा दीर्घकालीन हुने डर हुन्छ।
हेपाटाइटिसको भ्याक्सिन हेपाटाइटिस बी इम्युनो ग्लोबिन र हेपाटाइटिस बी भ्याक्सिन गरी दुई प्रकारको हुने गर्छ। यो भ्याक्सिनको पहिलो मात्रा लगाएको १ महिनामा दोस्रो मात्रा र ५ महिनामा तेस्रो मात्रा लगाउनुपर्ने हुन्छ।