काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा सुर्तिजन्य पदार्थको हानीबारे उल्लेख हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभामा सांसद प्रेम सुवालले यसबारे उठाएको प्रश्नको जवाफ दिँदै उक्त कुरा उल्लेख गरेका हुन्।
नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थको सेवन दुरुत्साहन गर्न उक्त विधि प्रभावकारी हुने भन्दै मन्त्रालयले त्यससँग सम्बन्धित कार्य गर्ने बताए। उनले भने, 'नयाँ पुस्तामा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्ति बढेको छ। विद्यालय र विश्वविद्याल तहका पाठ्यपुस्तकमा यसको हानी उल्लेख गर्न जरुरी छ।'
यसैगरी सुर्तिजन्य पदार्थमा लगाइएको करबाट उठेको सवै रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्न पाउनेगरी प्रस्ताव अघि बढाउने तयारी रहेको पनि उनले जानकारी दिएका छन्। वर्षमा पाँच देखि सात अर्ब मात्रै त्यसबाट कर उठ्ने तर ४० अर्ब भन्दा बढी उपचार खर्च हुने उल्लेख गर्दै सांसद सुवालले प्रयोग निरुत्साहित हुनुपर्ने बताउँदै मन्त्रालयले कसरी काम गरिरहेको छ भनेर प्रश्न गरेका हुन्।
उनको प्रश्नमा उत्तर दिँदै मन्त्री पौडेलले थपे, 'सुर्तीजन्य वस्तुहरुबाट नागरिकको स्वास्थ्यमा असर परेको छ। उत्पन्न समस्या समाधानका निम्ति विभिन्न कार्यहरु गर्नुपर्नेछ । यसबाट प्राप्त कर स्वास्थ्य मन्त्रालय मार्फत् नै खर्च गरेर रोग निरवारण र जनचेतना वितार गर्न उपयोग गर्ने प्रस्ताव लैजाने तयारी गरेका छौं।'
सुर्तिजन्य पदार्थबाट उठ्ने सबै रकम स्वास्थ्य मन्त्रालयले पाउने गरेको छैन। अर्थ मन्त्रालयसँग सवै रकम मन्त्रालय अन्तर्गत नै आउनुपर्ने प्रस्तावका लागि मन्त्री पौडेलले तयारी गरेको बताएका हुन्।