काठमाडौं- नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ।
नेपालभर २ हजार ६१ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्।काठमाडौँमा सबैभन्दा धेरै २४९ जना डेंगु संक्रमित फेला परेका छन्।
त्यस्तै झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ।
डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।
डेंगुका लक्षण के-के हुन् ?
– उच्च ज्वरो,
– कडा खालको टाउको दुखाइ हुने,
– आँखाको गेडी पछाडि दुख्ने,
– मांसपेसीको दुखाइ,
– वाकवाक लाग्ने र वान्ता हुने
कसरी गर्ने डेंगुको रोकथाम?
– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्नेे,
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे,
– लामखुट्टेको टोकाइबाट बच्ने,
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने,
– झुलको प्रयोग गर्ने