काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरले शल्यक्रिया सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अत्याधुनिक सुविधासहितको शल्यकक्ष (मोडुलर ओटी) निर्माण गरेको छ। अस्पतालले यसअघि रहेको शल्यकक्षको स्तरोन्नती गर्दै अत्याधुनिक प्रविधिसहितको मोडुलर ओटी निर्माण गरेको हो।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरानिसीले सेन्टरमा पाँच वटा मोडुलर ओटी निर्माण भएर सञ्चालनमा ल्याइएको जानकारी दिए।
डा मरासिनीका अनुसार सेन्टरमा शल्यचिकित्सा सेवा २०७२ सालमा सुरु भएको थियो। तर ओटी सहितको भौतिक संरचना २०६३ साल अघि नै निर्माण भइसकेको थियो। पुरानो संरचनामा रहेको ओटीलाई थप स्तरोन्नती गर्दै मोडुलर ओटी बनाइएको हो। उनले मोडुलर ओटी निर्माणका लागि ९ करोड ८५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए।
मोडुलर ओटीले सेवाको गुणस्तर बढाउने र बिरामीमा अस्पतालजन्य संक्रमण दर घटाउन सहयोग पुग्ने डा मरासिनी बताउँछन्।
सार्वजनिक खरिद ऐन अनुसार नै मोडुलर ओटी बनाइएको डा मरासिनीले बताए।
पाँचवटा मोडुलर ओटीसँगै अब ट्रमा सेन्टरमा ७ वटा ओटी सञ्चालनमा रहेको डा मरासिनीले जानकारी दिए।
ट्रमा सेन्टरकी अर्थोपेडिक सर्जरी विभागकी प्रमुख डा शिलु श्रेष्ठले मोडुलर ओटी चिकित्सक र बिरामी दुवैलाई उपयोगी हुने बताइन्।
‘अप्रेसन गर्ने डाक्टरको कपडा वा ग्लब्सले मात्र पुग्दैन, संक्रमण घटाउन अप्रेसन थिएटरको पुरै वातावरण नै संक्रमणमुक्त हुनुपर्छ,’ उनले भनिन्, ‘मोडुलर ओटीले अस्पतालमा हुनसक्ने संक्रमणलाई घटाउँछ।’ उनले अस्पतालजन्य संक्रमण कम हुँदा अहिले बढिरहेको एन्टिबायोटिक रेसिस्टेन्टको दर पनि कम हुने बनाइन्।
राष्ट्रिय ट्रमा सेन्टरको एन्स्थेसिया तथा क्रिटिकल केयर विभागका प्रमुख चिफ कन्सल्टेन्ट डा रुपेश यादवले वातावरणीय संक्रमणलाई घटाउन मोडुलर ओटी आवश्यक पर्ने बताए।
संक्रमणबाट जोगाउनुका साथै एकै दिन धेरै शल्यक्रिया हुने ओटीमा पहिलो शल्यक्रिया सकिएपछि दोस्रो शल्यक्रियाको गर्नुअघि गरिने सरसफाइको समय पनि मोडुलर ओटीमा कम लाग्ने डा यादवले बताए।
प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन प्राडा विनोद शेरचन ट्रमा सेन्टरमा सुरु भएको मोडुलर ओटीले बिरामीलाई संक्रमणबाट बचाउने बताए। उनले मोडुलर ओटीको वातावरणले बिरामी डरबाट पनि मुक्त हुने र काम गर्ने सर्जनहरुलाई पनि सर्जरी गर्न सहज हुने बताए।
बायोमेडिकल इन्जिनियर सुरेश महर्जनले मोडुलर ओटीको प्रवेश गर्ने ढोकादेखि, भुई, भित्ता र सिलिङहरु नै विशेष प्रकारणले निर्माण गरिएको जानकारी दिए। उनले ढोका तथा धाराहरुमा सेन्सरले काम गर्ने भएकाले संक्रमणलाई घटाउन मोडुलर ओटी महत्वपूर्ण हुने बताए।