काठमाडौं– बजारमा अखाद्य वस्तु विक्री गर्नेको विगविगि छ। २०८०/८१ मामात्रै अखाद्य वस्तु बिक्री गर्नेविरुद्ध १७८ मुद्दा जिल्ला अदालतमा दायर भएका छन्।
जसमध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीको मुद्दा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। धेरैजसो प्रशोधित पानी न्यून गुणस्तरको भेटिने, जसमा कोलिफर्मजस्ता जिवाणु भेटिने गरेको उनको भनाइ छ।
‘खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाहरुको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएको खाद्य तथा दाना पदार्थहरु उत्पादन तथा विक्रीवितरण गर्ने व्यवसायीहरुलाई आर्थिक वर्ष २०८०/८१ मा १७८ वटा मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो,’ उनले भने, ‘दायर गरिएका १७८ मुद्दाहरु मध्ये प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न तथा दलहनका २९ वटा रहेका छन्।
यस्तै गुलियो पदार्थ कन्फेक्सनरीका २२ वटा तेल तथा घ्यूजन्य पदार्थ १८ वटा, दूध तथा दुग्ध पदार्थका १६ वटा मसलाका ९ बटा, फल तथा सागपातजन्य पदार्थ ३ वटा, चिया कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको छ। जसमध्ये ६१ वटा मुद्दा दुषित, ५९ बटा मुद्दा न्यून गुणस्तरका ३५ वटा मुद्दा लेवल सम्बन्धिका, ८२३ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलाइन सम्बन्धि रहेको छ।
सो अवधिमा उद्योग अनुज्ञापत्र जारी ९३३ वटा उद्योग नविकरण २,४३० वटा र उद्योग स्थापनार्थ दर्ताको सिफारिस १ हजार ४१७ वटा गरि जम्मा ४ हजार७८० वटा उद्योगलाई सिफारिस गरेको छ।
दलहन र सागपातजन्य वस्तुका नमूना बढी अखाद्य भेटिए
आर्थिक वर्ष २०८०/८१ मा विभागले ३ हजार ६६३ पटक खाद्य तथा दाना बजार अनुगमन गरेको छ। यस्तै ३ हजार २७७ पटक खाद्य तथा दाना उद्योग अनुगमन गरेको छ। २ हजार ५८५ पटक होटल रेष्टुरेन्ट अनुगमन गरेको छ। यस्तै रपिड रेस्पोन्स अनुगमन ५४३ पटक हाटबजार ११६, १ हजार १९ पटक संवेदनशिल खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन गरी कूल ११ हजार २०३ पटक अनुगमन गरेको छ।
यस अवधिमा निरीक्षण अनुमनका क्रममा खाद्य तथा दाना सैन नियमानुसार जम्मा ३ हजार १२५ नमुनाहरु संकलन भएको विभागले जनाएको छ। जसमध्ये ऐन बमोजिम संकलित नमुनाहरुमध्ये दलहनका ८८७ वटा फल तथा सागपातजन्य पदार्थ ३५९ नमूना प्रतिकूल पाइएको छ। यस्ता प्रतिकूल नमूनाहरु अखाद्य मानिन्छ।
यस्तै तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा, मसलाका २९४ बटा गुलियो पदार्थ/कन्फेक्सनरीका १६४ वटा चिया कफीका १५५ बटा, प्रशोधित पिउने पानीका ११४ बटा. दुध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ ३ वटा अन्य खाघ पदार्थका १२९ बटा र दाना पदार्थका १०९ वटा गरी २.६५९ वटा नमुनाहरूको विश्लेषण परिक्षण गर्दा खाद्यान्न/दलहनका ३२ वटा, फल तथा सागपात जन्य पदार्थ १२ बटा, तेल तथा घ्यूजन्य पदार्थ १५ बटा, मसलाका ५ बटा, गुलियो पदार्थ/कन्फेक्सनरीका ९ वटा, चिया कफीका ९ बटा, प्रशोधित पिउने पानीका १० वटा, दुध तथा दुग्ध पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १० बटा गरी जम्मा १०९ वटा (४.१०४) नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो।
म्याद गुज्रिएका, लेबल नभएका खाद्य पदार्थ जफत तथा नष्ट
यस आर्थिक वर्ष २०८०/८१ मा विभाग तथा मातहत कार्यालयहरुवाट बजार, उधोग, होटल रेष्टुरेन्ट/मिठाई पसल, फलफूल बजार हाट बजार एवं गुनासो उजुरी सम्बोधनका लागि रेपिड रेस्पोन्स मोडालिटिबाट अनुगमन गरीएकोमा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन/नियम निर्देशिका बमोजिम नपाईएका करिव १ करोड १ लाख ६४ हजार ६ सय रुपैया बराबरको मसला, खाद्यात्र, विगर, दालमोठ, चिप्स, मिट मसाला चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको
रङ दलेको दाल भेटियो
यस अवधिमा बजार अनुगमनको क्रममा दालमा बाह्य रङ दलेको भेटिएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेले भन्सार कार्यालयबाट वैठारीका लागि प्राप्त दालहरुका ६ वटा नमुनाहरु जाँच विश्लेषण गर्दा बाह्य रंग पाईएकोले ३०.३१० केजी दाल आयात अस्वीकृत गरेको।
विभागमा प्राप्त २२ बटा दालहरुको नमूनाहरु जाँच परिक्षण गर्दा २ वटा रहरको दालमा कोलटार रंग प्रयोग गरेको त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट २१ वटा दालका नमूनाहरु जाँच परिक्षण गर्दा ३ वटा मासको दालमा बाहा रंगको प्रयोग गरेको पाईएकोले कारवाहीको प्रकृयामा रहेको जनाएको छ।
अखाद्य कटन क्यान्डि बिक्री गर्नेलाई कारबाही
बालवालिकालाई लक्षित गरी खुला रुपमा विभिन्न रंगको प्रयोग गरी बिक्रीवितरण हुने कटन क्याण्डीमा प्रयोग भएको रंग विभागले विश्लेषण परिक्षण गर्दा कार्सिनोजेनिक रोडमिन बी नामक अखाद्य रङ प्रयोग भएको पाइएकोले विभाग तथा मातहतका कार्यालयहरुबाट तत्काल सूचना जारी गरी आम उपभोक्तामा सुसूचित गराएको तत्कालै नियमन तथा कारबाही गरिएको। सो सूचनालाई संबोधन हुने गरी विभिन्न स्थानीय तहबाट समेत अनुगमन कार्य गरेको जनाएको छ।
खाद्य तथा पेय पदार्थका ४७ हजार परीक्षण गर्दा ४५ वटा प्रतिकूल भेटियो
यस वार्षिक अवधिमा विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुबाट खाद्य तथा पेय पदार्थका ४६ हजार ९४८ वटा नमूनाहरुको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ४५ वटा नमूनाहरु प्रतिकूल पाइएको छ। त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३ हजार ३५७ वटा नमुनाको आरबीपीआर विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण गरिएकोमा ३७ वटा नमूनाहरु प्रतिकूल पाइएको छ।