फोक्सो देखिने समस्या तथा रोगहरुलाई अल्पकालीन तथा दीर्घकालीन गरी दुई भागमा विभाजन गर्न सकिन्छ। अल्पकालीन समस्याहरुमा रुघाखोकी, भाइरल इन्फेक्सन, सामान्य इन्फेक्सन, एलर्जी लगायत पर्छन्।
दीर्घ रोगमा सीओपीडी साझा समस्याका रुपमा देखा पर्ने गरेको छ। आज्मा, कलेजो क्यान्सर, फोक्सोको रगत नलीमा हुने समस्या लगायत रोगहरु दीर्घ रोग अन्तर्गत पर्छन्।
कोरोना संक्रमणपछि फोक्सोको कार्य क्षमता घट्छ
कोरोना लागेकामध्ये धेरैलाई फोक्सोको निमोनियाको समस्या देखा परेको थियो। कोरोनाका कारण अस्पताल बसेर उपचार गर्नुपरेका बिरामीहरुका फोक्सोमा दाग बसेका कारण फोक्सोको कार्यक्षमता घटेको पाइएको छ। त्यस्तै कोरोनाकालमा छातीको धेरै सिटी स्क्यान पनि भएका कारण पहिल्यै भएका रोगहरुको पनि यसै समयमा पहिचान हुन पुग्यो। ‘आईएलडी इन्टर टोटल लङ डिजिज’ तथा क्यान्सर लगायतका रोगहरु समेत त्यतिबेला देखिएको थियो।
आईएलडी कस्तो समस्या?
फोक्सोलाई समग्र एउटा अंगका रुपमा नलिई सानोसानो भागमा विभाजन गर्ने हो भने हामीले हावाबाट जुन श्वास लिन्छौं, त्यो सानोसानो नलीमार्फत हाम्रो फोक्सोमा जान्छ।
तर, त्यो नलीमा बसेको अक्सिजन मानव शरीरको प्रत्येक अंगमा लैजानका लागि उक्त अक्सिजन रगतको नलीमा जानुपर्ने हुन्छ। उक्त रगतको नलीमा अक्सिजन जानका लागि फोक्सोमा रहेको हावाको नलीले सहयोग गर्छ। नलीमा रहेको मसिनो जालो छेडेर अक्सिजन मान्छेको रगत नलीमा जान्छ। रगतको नलीमा जाने जालोको भागलाई इन्टलसिटन भनिन्छ। यो भाग बाक्लो भएको अवस्थामा अक्सिजन रगतको नलीमा जाने कार्य ढिलो भई अक्सिजनको कमी हुन जान्छ।
यसरी अक्सिजनको कमी हुँदा स्याँ–स्याँ हुने, खोकी लाग्ने हुन्छ। यसैलाई इन्टलसिटन लङ डिजिज भन्ने गरिन्छ।
इन्टर टोटल लङ डिजिजले निम्त्याउने अन्य समस्या
यस रोगको लक्षण प्रायजस्तो दमसँग मिल्दोजुल्दो छ। त्यस कारण आईएलडी भइसकेका धेरै जस्तो बिरामीहरु पनि दमको औषधि सेवन गरिरहेका हुन्छन्।
यो रोग लागिसकेपछि धेरैमा सुख्खा खोकी लाग्ने गर्छ। त्यस्तै स्याँ–स्याँ हुने, औंलाका टुप्पाहरु निलो हुने, कसैकसैको नङ डल्लो भएर जाने, हाडजोर्नी दुख्ने, मुख सुक्ने, आँखा सुक्ने जस्ता लक्षणहरु पनि देखिन सक्छ।
यस रोगका अनुसार लक्षणहरु पनि फरकफरक हुन सक्छ। यो दम जस्तो बढी देखिने रोग भने होइन। छातीको सिटी स्क्यानपश्चात् यो रोगको पहिचान हुन्छ।
कोरोना महामारीको समयमा सिटी स्क्यान धेरै भएकोले पनि यसको पहिचान त्यतिबेला धेरै नै भएको थियो।
कोरोनाले पनि आईएलडी गराउने भएकोले कोरोना महामारीपश्चात् विश्वमा नै आईएलडी उपचार बढी हुँदै आएको छ।
उपचारमा प्रयोग हुने विधिहरु
आईएलडी करिब २ सय प्रकारका छन्। यसमा कारक तत्व अनुसारका उपचार विधिहरु प्रयोग हुन्छन्। नेपालमा कुन प्रकारको आईएलडी भएका बिरामीहरु कति छन् भन्ने कुनै पनि यकिन तथ्यांक छैन।
यसको उपचारका लागि धेरै प्रकारका परीक्षण आवश्यक हुन्छ। कतिपय परीक्षण ज्यादै महँगो पनि छ। जस्तै बाथ रोगको परीक्षण।
उपचारका लागि चिकित्सक कहाँ आइपुगेका बिरामीहरुको लक्षणका आधारमा ८० प्रतिशत समस्या पत्ता लगाउन सकिन्छ। यसका लागि फोक्सोले कति काम गरेको छ भन्ने परीक्षण तथा सिटी स्क्यानपश्चात् यसको उपचार सुरु गरिन्छ। कतिपयलाई मुटुको इको परीक्षण, फोक्सोको बायोप्सीपश्चात् उपचार गरिन्छ।
नेपालमा वयस्कहरुमा बाथ रोग तथा एलर्जीका कारण हुने आईएलडीका बिरामीहरु धेरै छन् भन्ने अनुमान गर्न सकिन्छ। त्यस्तै धुँलो, धुवा तथा रसायनमा काम गर्नेहरुलाई पनि आईएलडी हुनसक्छ।
यदि कसैलाई बाथ रोगका कारण आईएलडीको समस्या देखिएको भने बाथको उपचार गर्नुपर्ने हुन्छ।
आईएलडी हुन नदिन के गर्ने?
धेरैमा यो समस्या जन्मजात तथा वंशाणुगत कारणले हुन्छ। यद्यपि, धूमपान बानी त्याग, पोषणयुक्त खानाको सेवन तथा स्वस्थकर जीवनशैली अपनाउन सकेमा यसको जोखिमलाई कम भने गराउन सकिन्छ।
कतिपयमा बाथ रोगको समस्या बढ्दै जाँदा आईएलडी हुने गर्छ। यसलाई रोकथामभन्दा पनि चाँडै उपचार गर्न सकिन्छ।
यदि २ हप्ताभन्दा लामो खोकी लागिरहने, हाडजोर्नी दुख्ने तथा स्याँ– स्याँ भएमा सकेसम्म छिटो चिकित्सकको परामर्शमा जानु राम्रो हुन्छ।
औषधिको सेवनपश्चात् रोग छिटोछिटो बढ्नबाट रोक्न सकिन्छ। कुनै आईएलडी जस्तै फोक्सोमा दाग हुँदाको अवस्थामा जीवनभर औषधि खानुपर्ने पनि हुनसक्छ।
(डा पाण्डे फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ हुन्।)