चिकित्सा विज्ञानले दिएको एक उपहारका रुपमा जोर्नी प्रत्यारोपण सेवालाई लिन सकिन्छ। नेपालमा एक दशकदेखि जोर्नी प्रत्यारोपण सेवा उपलब्ध छ।काठमाडौं उपत्यकाका थोरै मात्रै अस्पतालमा पाइने जोर्नी प्रत्यारोपण सेवा अहिले नेपालका अधिकांश सरकारी तथा निजीस्तरका अस्पतालमा पाउन सकिन्छ।
जोर्नी प्रत्यारोपण
कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।
हिपको सन्दर्भमा भन्नुपर्दा बिग्रेको जोर्नीलाई फालेर कृत्रिम जोर्नी राख्ने गरिन्छ। जोर्नी प्रत्यारोपणमा हिप र घुँडाबीचमा धेरै नै भिन्नता पाउन सकिन्छ। घुँडामा प्रत्यारोपणका क्रममा बिग्रेको घुँडालाई सम्पूर्ण रुपमा परिवर्तन गरिँदैन। बिग्रेको भागलाई केही मात्रामा सफा गरिन्छ। उक्त सफा गरेको भागमा फलाम वा कृत्रिम जोर्नी हाल्ने गरिन्छ।
त्यसैले घुँडाको जोर्नी प्रत्यारोपणका क्रममा सम्पूर्ण जोर्नीलाई नफेरि केही अंशलाई मात्रै फेर्ने गरिन्छ। यसरी फेरिएको भागमा राख्ने कृत्रिम सामग्रीलाई नै घुँडाको जोर्नी प्रत्यारोपण भन्ने गरिन्छ।
प्रत्यारोपण शरीरका अन्य भाग अंगको पनि गर्न गरिन्छ। यद्यपि बढी मात्रामा विश्वभर प्रचलित जोर्नी प्रत्यारोपणमा घुँडा र हिपको जोर्नी प्रत्यारोपण नै हो। यी दुई प्रत्यारोपणको नतिजा समेत राम्रो रहेको छ।
कुम तथा कुहिनाको जोर्नीको प्रत्यारोपण गरिए पनि त्यसको नतिजा घुँडा र हिपको प्रत्यारोपण जस्तो राम्रो छैन। विदेशतिर तथा छिमेकी मुलुक भारतमा भने गोडाको गोलीगाँठाको जोर्नी समेत प्रत्यारोपण गर्ने गरेको पाइन्छ।
जोर्नी प्रत्यारोपणको अवस्था किन आउँछ ?
जोर्नीमा क्षति हुने गरी चोटपटक लागेमा
जोर्नीमा रक्तसञ्चारमा कमी भएमा
जोर्नीमा हुने विभिन्न संक्रमण तथा बाथको समस्या
बुढ्यौलीका कारण
यद्यपि जोर्नी प्रत्यारोपण पूर्व चिकित्सकहरुले औषधि उपचारका अन्य विधिहरुको प्रयोग भने गर्छन्। दिनचर्या परिवर्तन गरेर,औषधि सेवन गरेर, फिजियोथेरापी वा व्यायाम गरेर उपचार हुन नसकेको अवस्थामा मात्रै प्रत्यारोपण गरिन्छ।
जोर्नी प्रत्यारोपणका विधि वा प्रक्रिया
जोर्नी प्रत्यारोपण आकस्मिक रुपमा गरिने शल्यक्रिया होइन। जोर्नी प्रत्यारोपणका लागि सही व्यक्तिको चयन नै सबैभन्दा बढी महत्वपूर्ण कुरा हो।
बिरामीको चयन नै चिकित्सकहरुका लागि प्रत्यारोपणको पहिलो चरण हो। यसक्रममा बिरामीको शरीरमा सुगर,रक्तचाप जस्ता अन्य स्वास्थ्य समस्या छन् या छैनन् त्यसबारेमा जानकारी लिनु पनि महत्वपूर्ण मानिन्छ।
बिरामीमा भएका स्वास्थ्य समस्याहरुलाई सामान्यीकरण गरिसकेपछि मात्रै चिकित्सकहरुले शल्यक्रियाको तयारी गर्छन्।
शल्यक्रियाको तयारी गरिसकेपछि प्रत्यारोपण पछि बिरामीले ध्यानदिनुपर्ने कुराहरुको बारेमा परामर्श समेत गरिन्छ।
शल्यक्रिया गर्नु एकदिन पूर्व बिरामीलाई भर्ना गरिन्छ। बिरामी भर्ना गरेको ४ देखि ५ दिनमा डिस्चार्ज गरी नियमित फलोअपमा बोलाइन्छ।
प्रत्यारोपित जोर्नीले प्राकृतिक जस्तै काम गर्छ ?
प्रत्यारोपण गरेको जोर्नीले प्राकृति जस्तो हुबहु काम गर्न सक्दैन। यद्यपि दुखाइ बिना नै दैनिकी सञ्चालनमा भने प्रत्यारोपण गरेको जोर्नीले सहयोग गर्न सक्छ।
कहाँ-कहाँ पाउन सकिन्छ सेवा ?
प्रोफेसर डा अशोकरत्न बज्राचार्यले वीर अस्पतालबाट जोर्नी प्रत्यारोपण सुरु गरेको भन्ने गरिन्छ। त्यस्तै बी एन्ड बी अस्पतालका संस्थापक डा अशोक बाँस्कोटाले त्रिपुरेश्वरमा रहेको काठमाडौं हस्पिटलबाट जोर्नी प्रत्यारोपणको सुरुवात गरेको भन्ने अर्काे दाबी समेत रहेको छ।
जोर्नी प्रत्यारोपण सेवाको सुरुवात पहिलोपटक नेपालमा कसले भन्नेमा यकिन तथ्यांक नभएपनि यी दुवैलाई नेपालमा जोर्नी प्रत्यारोपणका अगुवाका रुपमा भने लिन सकिन्छ।
आजभन्दा करिब १०/१५ वर्ष अगाडि काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा अर्थाेपेडिक अस्पतालमा फाटफुट मात्रामा जोर्नी प्रत्यारोपण हुँदै आएको थियो।
पछिल्लो ५ वर्ष यता भने काठमाडौं उपत्यकाका अधिकांश ठूला अस्पतालहरुमा नियमित रुपमा जोर्नी प्रत्यारोपण हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल लगायतका अस्पतालहरुमा जोर्नी प्रत्यारोपण हुने गरेको छ।
यसबाहेक निजीस्तरका बी एन्ड बी, मेडिसिटी, ग्रान्डी इन्टरनेशनल लगायतका अस्पतालहरुमा समेत नियमित रुपमा जोर्नी प्रत्यारोपण हुँदै आएकोे छ।
प्रत्यारोपण कतिको महँगो ?
प्रत्यारोपणमा प्रयोग हुने जोर्नी विदेशबाट आयात गरिन्छ। अधिकांश स्वास्थ्यजन्य सामग्री नेपाल आयात हुने छिमेकी मुलुक भारतमा समेत यो सामग्री बन्दैन।
यो यूरोप तथा अमेरिकामा मात्रै बन्ने गर्छ। यसरी आयातित सामग्री भएकोले पनि यो महँगो सेवा हो। सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपणका लागि ३ देखी साँढे ३ लाख पर्ने गर्छ भने निजी अस्पतालमा साढे ४ लाखसम्म खर्च हुन सक्छ।
कोरियन सामग्रीको प्रयोग गरिने प्रत्यारोपण अमेरिकन सामग्रीभन्दा केही सस्तो पर्न सक्छ। गुणस्तर तथा मोडलका आधारमा पनि मुल्य निर्धारण हुने गर्छ।
जोर्नी प्रत्यारोपण पछि बिरामीले धेरै फलो अप भने गर्नुपर्दैन। शल्यक्रिया पश्चात् ६ हप्ता, तीन महिना र एक वर्षमा फलोअप आउनुपर्ने हुन्छ। यदि बीचमा केही समस्या नआएमा भने चिकित्सक कहाँ आउनुपर्दैन। प्रत्यारोपण पश्चात् कुनै प्रकारको औषधि सेवन आवश्यक हुँदैन।
जोर्नी प्रत्यारोपणलाई कसरी सहज बनाउने ?
नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य कार्यक्रम अन्तर्गत जोर्नी प्रत्यारोपण सेवालाई समावेश गर्न सकेमा यसलाई सस्तो र सहज सेवाका रुपमा विस्तार गर्न सकिन्छ।
मेरुदण्डको चोटपटक, क्यान्सर लगायतका सेवालाई सरकारले उपचारमा सहुलियत प्रदान गर्दै आएको छ। जोर्नी प्रत्यारोपणलाई सेवालाई समेत सरकारले सहुलियत प्रदान गरेको अवस्थामा यसलाई सहज बनाउन सकिन्छ।
औसत आयु बढ्नु तथा जनचेतनाका स्तर बढ्दै जाँदा जोर्नी प्रत्यारोपण सेवा लिने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ।
कुन अवस्थामा जोर्नी प्रत्यारोपण गराउने ?
४०/४५ वर्ष उमेर पुरा हुँदै जाँदा सामान्यतया घुँडाको जोर्नीको काम गर्ने क्षमता कम हुँदै जान्छ। ६० वर्षको उमेरमा अधिकांशमा जोर्नी खिइने समस्या देखिसक्ने गर्छ। यो नियमित प्रक्रिया पनि हो। सबै मानिसलाई प्रत्यारोपण गर्नुपर्ने अवस्था भने हुँदैन।
यद्यपि कसैमा धेरै खिइने समस्या हुन्छ भने कसैको कम। कसै–कसैमा भने लक्षण बिना नै घुँडा खिइने समस्या भइरहेको हुन्छ।
जोर्नी खिइने समस्या लिएर अस्पताल आइपुगेका जोकोहीलाई पनि पहिलो चरणमा औषधि,फिजियोथेरापी,जीवनशैली परिवर्तन जस्ता उपचार विधिको प्रयोग गरिन्छ।
यी उपचार विधीको प्रयोगले ठिक नभएका बिरामीलाई मात्रै शल्यक्रिया गरिन्छ। अन्य उपचार विधीले ठीक नभएका बिरामीका लागि दीर्घकालीन समाधान भनेको शल्यक्रिया नै हो।
(डा विष्ट ट्रमा सेन्टरमा कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञसँगका रुपमा कार्यरत छन्।)