नेपालमा क्यान्सर रोगको जोखिम तीव्र रूपमा बढ्दैछ। तर यसको रोकथामाका उपायहरूमा उचित ध्यान नदिँदा स्वास्थ्य क्षेत्रमा ठूलो संकट देखा पर्ने खतरा छ। क्यान्सरको उपचार अत्यन्त महँगो छ, जसले गर्दा धेरै नेपाली नागरिक विशेषगरी आर्थिक रूपमा कमजोर वर्गले उपचारमा पहुँच नै पाउँदैनन्। सरकारले क्यान्सर पीडितहरूलाई एक लाख रुपैयाँसम्मको आर्थिक सहयोग दिने व्यवस्था गरेको भए पनि यो रकम अत्यन्त न्यून छ। किनभने क्यान्सरको वास्तविक उपचार खर्च लाखौं रुपैयाँ पर्न सक्छ।
भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१९ मा गरिएको एक अध्ययन अनुसार ८६.१ प्रतिशत सहभागीहरूले उपचारको क्रममा आर्थिक कठिनाइको सामना गरेका थिए र ७८.२ प्रतिशतले ऋण लिएका थिए । ४७.६ प्रतिशतले आफ्नो सम्पत्ति बेच्नुपरेको थियो। यस अध्ययनले क्यान्सरको औसत प्रत्यक्ष खर्च ३ लाख ८७ हजार रुपैयाँ र औसत चिकित्सा खर्च ३ लाख १३ हजार रुपैयाँ रहेको देखाएको छ जुन सामान्य नेपालीको वार्षिक आय ७८ हजार ९४६ रुपैयाँभन्दा निकै माथि छ।
त्यसैगरी, सन् २०२४ मा प्रकाशित एक अध्ययनले नेपालमा ७५ वर्ष उमेर अगाडि १४ मध्ये १ पुरुष र १३ मध्ये १ महिलामा क्यान्सरको जोखिम रहेको देखाएको छ। क्यान्सरको उपचार खर्च र यो बढ्दो जोखिमलाई ध्यानमा राखेर नेपालले क्यान्सरको रोकथाममा विशेष ध्यान दिनुपर्ने अत्यन्त आवश्यकता छ। जसका लागि प्रिभेन्टिभ अन्कोलोजी (रोकथामात्मक क्यान्सर चिकित्सा) मा औपचारिक तालिम र पाठ्यक्रमको विकास पहिलो कदम हो।
हाल नेपालमा प्रिभेन्टिभ अन्कोलोजीसम्बन्धी कुनै औपचारिक पाठ्यक्रम सञ्चालनमा छैन। यद्यपि नेपलिज सोसाइटी फर प्राइमरी केयरले क्यान्सर रोकथाम सम्बन्धी मेडिकल अधिकृतहरूको लागि तालिम सञ्चालन गरेको छ। छिमेकी मुलुक भारतले यस क्षेत्रमा फेलोशिप र पीएचडी कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। जसले रोकथाममा दक्ष जनशक्ति तयार गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नेपालले पनि यसबाट सिक्नुपर्छ र रोकथामात्मक क्यान्सर चिकित्सा क्षेत्रमा विशेषज्ञहरू तयार गर्न तालिम र शिक्षण कार्यक्रमको थालनी गर्नुपर्छ।
क्यान्सर रोकथामका लागि प्रारम्भिक स्क्रिनिङ, जोखिम भएका समूहहरूको पहिचान, खोप सम्बन्धी कार्यविधि र जनचेतना अभिवृद्धिका लागि प्रिभेन्टिभ अन्कोलोजीमा प्रशिक्षित जनशक्तिको आवश्यकता छ। यसले प्रारम्भिक चरणमा नै क्यान्सर पहिचान गरी ठूलो उपचार लागतबाट जोगिन मद्दत पुर्याउँछ। रोकथाममा लगानी गर्दा दीर्घकालीन रूपमा क्यान्सरको जोखिम घटाउन सकिन्छ, जसले स्वास्थ्य प्रणालीमा पर्ने दबाबलाई पनि कम गर्छ।
क्यान्सरको जोखिम घटाउन खानपानमा पनि ध्यान दिनुपर्ने खाँचो छ। अस्वास्थ्यकर खानेकुरा, जस्तै जंक फूड, अत्यधिक चिनी भएको पेय पदार्थ, र अल्ट्रा प्रोसेस्ड फुड सेवनले क्यान्सरको जोखिम बढाउँछ। नेपालमा यस्ता उत्पादनहरूको कडा पोषण लेबलिङ अनिवार्य गर्नुपर्छ, जसले उपभोक्तालाई उत्पादनमा भएका हानिकारक तत्वहरूको बारेमा जानकारी दिन मद्दत गर्छ। बालबालिका र युवाहरूमा जंक फूडको खपत धेरै हुने भएकाले यस्ता खानाको उत्पादन र विज्ञापनमा थप कडाइको आवश्यकता छ। सरकारले जंक फूड उत्पादनमा स्वास्थ्य चेतावनी अनिवार्य गरिनुपर्ने र बालबालिकालाई लक्षित विज्ञापनहरूमा प्रतिबन्ध लगाउनुपर्छ। साथै, अस्वास्थ्यकर खानेकुराको उत्पादनमा मापदण्डहरू कडाइका साथ लागू गरेर मात्रै क्यान्सर जोखिम घटाउन सकिन्छ।
नेपालमा क्यान्सरको अर्को प्रमुख कारण सुर्तीजन्य उत्पादन हो। यद्यपि सुर्ती नियन्त्रण ऐन लागू गरिएको छ, यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको छ। सरकारले सुर्तीजन्य उत्पादनहरूमा कर बढाउनुको साथै खुद्रा बिक्री अर्थात् एक पैकेटभन्दा कम सिगरेट बिक्री गर्न नदिने कानुन कडाइका साथ लागू गर्नुपर्छ, जसले बालबालिका र युवा पुस्तालाई सिगरेट किन्नबाट रोक्न मद्दत पुर्याउँछ। किनभने उनीहरूसँग प्रायः पूरा प्याकेट किन्न पर्याप्त पैसा हुँदैन, यसले युवाहरूलाई धुम्रपानबाट टाढा राख्न सक्दछ।
क्यान्सरको बढ्दो जोखिमलाई नियन्त्रण गर्न रोकथाममा ध्यान दिनु अनिवार्य छ। यो काम प्रिभेन्टिभ अन्कोलोजीमा औपचारिक तालिम, कडा खाद्य नियम र सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रभावकारी कानुनी प्रबन्धहरूबाट मात्र सम्भव छ। क्यान्सरको महँगो उपचारको सट्टा रोगको जोखिमलाई कम गर्न र रोकथामका उपायहरूमा लगानी गर्ने हो भने, दीर्घकालीन रूपमा क्यान्सरको जोखिम घटाउन सकिन्छ।
नेपालले समयमै क्यान्सर रोकथाम र नियन्त्रणका रणनीतिहरूमा लगानी गर्न सकेमा स्वास्थ्य क्षेत्रमा परेको आर्थिक र सामाजिक दबाबलाई कम गर्न मद्दत पुग्नेछ।