मधुमेह एक परिचय
मधुमेह एक दीर्घकालीन समस्या हो, सामान्यतया मधुमेह पश्चात् रगतमा चिनीको मात्रा बढ्छ । रगतमा बढेको उक्त चिनीको मात्राले शरीरका विभिन्न अंगहरुलाई समेत हानी गर्न सक्छ।
मधुमेह हो, होइन पत्ता लगाउन रगत परीक्षण अनिवार्य हुन्छ । रगतमा खाली पेटको सुगर, खाना खाइसकेपछिको २ घन्टाको सुगर तथा तीन महिनाको एभरेज अर्थात् एचबिए सुगर परीक्षण पश्चात् मधुमेह भए÷नभएको निश्कर्षमा पुग्न सकिन्छ।
फास्टिङमा रगतमा सुगरको मात्रा १२६ भन्दा माथि छ, खाना खाइसकेपछिको सुगर २ सय भन्दा माथि तथा तीन महिनाको सुगर एचबिए ६.५ प्रतिशत भन्दा माथि रहेको अवस्थालाई मधुमेह भनिन्छ । यी ३ मध्ये जुनसुकै २ अवस्थामा समेत मधुमेह भएको मान्न सकिन्छ।
जुनसुकै उमेरका मानिसलाई मधुमेह हुनसक्छ
नवजात शिशु, वयस्क तथा वृद्घ जुनसुकै उमेरका मानिसलाई मधुमेह हुनसक्छ । यद्यपि यसको प्रकार भने भिन्न हुनसक्छ । धेरैलाई देखिने मधुमेह टाइप २ डायबिटिज हो । यो जुनसुकै उमेरका मानिसमा पनि देखिन सक्छ । धेरै जसो २५÷३० वर्ष कटिसकेका मानिसहरुमा यस प्रकारको मधुमेह देखिने गर्छ।
यसको प्रमुख कारण मोटोपना हो । त्यस्तै टाइप १ डायबिटिज बालबालिकामा बढी देखिने गर्छ । यो २० वर्षभन्दा कम उमेरका व्यक्तिलाई देखिन्छ।
त्यस्तै मधुमेहको अर्काे प्रकारमा गर्भकालीन डायबिटिज पनि पर्छ । जुन गर्भवती अवस्थामा देखिने गर्छ । त्यस्तै अन्य प्रकारका डायबिटिज पनि हुने गर्छन्।
मधुमेहका लक्षणहरु
मधुमेह अत्यन्तै बढेको अवस्थामा लक्षणहरु देखा पर्न सक्छ । तर सुरुवाती अवस्थामा भने लक्षणबिना नै मधुमेह देखिन पनि सक्छ । मधुमेहका आधा बिरामीहरुलाई लक्षणबिना नै मधुमेह देखिन सक्छ।
मधुमेहको सुरुवाती लक्षणहरुमा पानी तिर्खा बढी लाग्ने, पिसाब धेरै लाग्ने, रातीको समयमा समेत पिसाब फेर्न ४÷५ जानुपर्ने हुनसक्छ । त्यस्तै अन्य लक्षणहरुमा भोक बढी लाग्ने, कार्बाेहाइड्रेट बढी खान मन लाग्ने, चिनीजन्य खानेकुरामा बढी मोह हुने, दुब्लाउँदै जाने, कमजोरी हुने, पिसाब तथा छालाको इन्फेक्सन हुन सक्ने लगायतका लक्षणहरु देखा पर्न सक्छन्।
३५ वर्षपछि हरेक वर्ष अनिवार्य परीक्षण
३५ वर्ष उमेर पूरा भइसकेपछि जोसुकैले पनि वर्षमा एकपटक मधुमेह परीक्षण अनिवार्य रुपमा गराउनुपर्छ । ३५ वर्ष नपुगेका तथा मधुमेहको जोखिममा रहेका व्यक्तिहरुले पनि मधुमेह परीक्षण गराउनुपर्ने हुन्छ।
मोटापना, परिवारमा कसैलाई मधुमेहको समस्या भएका, रक्तचाप तथा कोलेस्ट्रोरेलको औषधि सेवन गरिरहेका, हृदयाघात तथा पक्षघात जस्ता समस्या भइसकेका, गर्भ अवस्थामा मधुमेह देखिएका व्यक्तिहरुले समेत वर्षमा एकपटक अनिवार्य रुपमा मधुमेहको परीक्षण गराउनुपर्ने हुन्छ।
मधुमेहले गुम्न सक्छ दृष्टि
मधुमेह एक दीर्घकालीन समस्या हो । यसलाई समयमा नै नियन्त्रण गर्न नसकेको अवस्थामा यसले हरेक अंगमा क्षति गर्न सक्छ । यसका कारण आँखाको दृष्टि समेत गुम्न सक्छ।
मोतियाबिन्दु, रेटिनोप्याथी, मुटु तथा रक्तनलीमा रगत सञ्चालन नहुँदा रक्तचाप बढ्ने, हृदयाघात हुने, हर्ट फेलियर हुने, स्ट्रोक तथा प्यारालाइसिस हुने, मिर्गौला फेल हुने, रक्तनलीहरु जाम हुँदा घाउहरु निको नहुने जस्ता समस्या पनि मधुमेहका कारण हुनसक्छ । मधुमेह भएपनि यसलाई नियन्त्रणमा लिन सकेको अवस्थामा भने थप जटिलता आउनबाट रोक्न सकिन्छ।
मधुमेहका कारण
मानव शरीरको प्याङ्क्रियाज नामक अंगले इन्सुलिन हर्माेन उत्पादन गर्छ । इन्सुलिनले राम्रोसँग काम नगरेको तथा इन्सुलिन उत्पादन नै नभएको अवस्थालाई मधुमेहलाई भनिन्छ।
विशेषगरी बालबालिकामा हुने टाइप १ डायबिटिजमा शरीरमा इन्सुलिन बन्द छाड्छ । टाइप २ डायबिटिजमा इन्सुलिन बनेपनि त्यसले राम्रोसँग काम नै गर्दैन । त्यस्तै गर्भकालीन अवस्थामा हुने मधुमेहमा पनि इन्सुलिनले राम्रोसँग काम गर्दैन ।
जीवनशैली तथा खानपान शैलीका कारण टाइप २ डायबिटिज हुने गर्छ । समयमा नै तौल नियन्त्रणका राख्न नसक्दा तथा वंशाणुगत कारणले यस्तो मधुमेह देखिने गर्छ।
मधुमेहको उपचारमा इन्सुलिनको प्रयोग
भर्खरै मधुमेहको उपचारको लागि आएका एकदमै धेरै सुगर भएका बिरामीहरुलाई मधुमेहका कारण एकदमै गाह्रो पर्ने अवस्थामा इन्सुलिन दिइन्छ । त्यस्तै डायबिटिज इर्मेजेन्सीको अवस्थामा पनि इन्सुलिन दिइन्छ।
जसमा डिकेए भन्ने एक शब्दाबली हुन्छ । यसमा सुगर बढी भएर रगतमा एसिड बन्न थाल्छ । यस्तो अवस्थामा एसिड घटाउनका लागि पनि इन्सुलिन दिने गरिन्छ।
त्यस्तै गर्भावस्थामा भएको मधुमेह खानपान तथा जीवनशैली परिवर्तनका कारण पनि निको नभएमा इन्सुलिनको प्रयोग गरिन्छ ।
त्यस्तै शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुमा पनि इन्सुलिनको प्रयोगले मधुमेहको उपचार गरिन्छ।
कसरी गर्ने रोकथाम
मधुमेहको उपचारमा सबैभन्दा महत्वपूर्ण भनेकै खानपान र जीवनशैली परिवर्तन हो ।
– गुलियो खानेकुराको सेवन कम गर्ने ।
– तयारी खानेकुराको सेवन नगर्ने ।
– कार्बाेहाइड्रेट भएका खानेकुराको सेवन कम गर्ने ।
– खानामा हरियो सागसब्जी, फलफूल तथा प्रोटिनयुक्त खानेकुराको मात्रा बढाउने ।
– स्टार्च बढी भएका आलु, तरुल, पिँडालु जस्ता तरकारीको सेवन कम गर्ने ।
– दैनिक आधादेखि एक घन्टा शारीरिक अभ्यास गर्ने ।
मधुमेह भएको धेरै समय नभएको तथा सुरुवाती अवस्थामा नै थाहा पाउन सकेमा औषधि सेवन र खानपानमा परिवर्तन गरेरलाई यसलाई नियन्त्रणमा लिन सकिन्छ।
(डा शाह आरुष लाइफ हस्पिटलमा कार्यरत छिन्)