मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको अस्ति भर्खरै 'मुटुको कथा' सार्वजनिक भएको थियो। किताब लिएकी थिएँ तर पढ्ने मौका जुरेको थिएन। डा कोजुको पुस्तक पढ्नुअघि नै उनलाई भेट्ने सन्दर्भ जुर्यो'। धुलिखेल अस्पतालको क्याथल्याबमा डा कोजु बिरामीसँगै थिए । मुटुको भल्वमा समस्या रहेकी एक महिला उपचारत थिइन्। उनका भाइ पनि उनीसँगै थिए । ५१ वर्षीय उनी करिब २४ वर्षदेखि डा कोजुसँग उपचाररत रहिछन्।
डा कोजुको उपस्थितिमा उनका सहकर्मीहरु बिरामीहरुलाई उपचार दिइरहेका थिए। त्यहीबेला ती महिलाले डा कोजुतिर हेर्दै भनिन्, 'डाक्टरसा'ब तपाईं त्यहीँ उभिरहनु है तपाईंलाई देख्दा मात्रै पनि मेरो आधा रोग निको हुन्छ।'
उनको उक्त शब्ले उनका भाइ, त्यहाँ रहेका डाक्टर, नर्स, म भावविभोर भयौं। डा कोजु सदाझैं मन्द मुस्कानसहित स्थिर थिए। मैले ती महिलासँग छोटो संवाद गर्नु उचित ठानें। नजिकै पुगेर सोधें- अहिले कस्तो छ तपाईंलाई?
उनले गहभरी आँशु पार्दै भनिन्, 'यस्तै छ, उहिल्यै मर्छु जस्तो लगेको थियो २४ वर्षदेखि उपाचारमै छु। डा कोजु हुनुहुन्छ र अझै केही वर्ष बाँच्छु कि जस्तो लाग्छ।'
उनले त्योबेला धेरै कुरा भनिन्। डा कोजु नजिक गए र धाप मार्दै आडभरोसा दिलाए, 'नआत्तिनुस् तपाईंलाई केही हुँदैन।'
करिब १५ मिनेट जस्तो क्याथल्याबमै कुरें म। डा कोजु बिरामीको रिपोर्ट हेर्दै थिए, डाक्टर र नर्सहरुसँग फलोअप रिपोर्ट र प्रोसिजर विषयमा कुरा गरे। र, हामी क्यान्टिनतिर निस्कियौं।
मैले 'मुटुको कथा'बारे प्रसंग उप्काएँ । चिकित्सा जीवन, त्यससँगै बटुलिएका अनुभव र आफूले जानेका कुरा अरुलाई भन्ने स्वभावले किताब बनेको रहेछ । 'जिन्दगीको कथा जसको पनि हुन्छ, लेख्ने हो, जसको जिन्दगी पनि पुस्तक हुने रैछ,'- म हिँडेको बाटो पुस्तककी लेखिका सितादेवी पोखरेलको भनाइ सम्झिएँ मैले। त्यो बसाइँमा डा कोजुले आफ्नो चिकित्सा यात्रा बढो मीठो ढंगले प्रस्तुत गरे, सुनिरहुँ जस्तो। उनको बोल्ने शैलीअनुरुप नै लेख्न सकिँदो हो त त्यो अझ मिठासपूर्ण हुन सक्थ्यो। तर, उनको किताबभित्र नसमेटिएको एउटा अनुभव उनकै शब्दमा यहाँ प्रस्तुत छ :
पहिलोपटक हवाइजहाज चढेर बाग्लुङ
मलाई अझै पनि सम्झना छ, २०४४ साल पुसको २७ गते एयरपोर्ट पुगिसकेपछि प्राविधिक कारणले गते हवाई यात्रा क्यान्सिल भयो। फेरि पुस २८ गते विहान फेरि काठामाडौंबाट हवाइ यात्रा गरें। हवाइ यात्रा पहिलो थियो, साथै घरपरिवार साथीभाइ, इष्टमित्र र आफ्नो ठाउँ छोडेर बाहिरिएको पहिलोपटक नै थियो। केही समयको अन्तरालमा हवाइजहाज बाग्लुङको बलेवामा अवतरित भयो। त्यतिबेला बलेवामा प्लेन ल्यान्ड हुने ठाउँ माटोको थियो । पहिलोपटक आफ्नो जन्मभूमिबाट त्यति टाढा त्यसमाथि विल्कुलै फरक भूगोल, संस्कार, संस्कृतिसँग परिचित हुन पुगेको थिएँ।
बलेवाबाट तीन घण्टा कालीगण्डकीको तिरैतिर हिँडेर बाग्लुङ बजार आइपुग्दा रात परिसकेको थियो। बाग्लुङ अस्पतालसँगै रहको मातृ तथा शिशु स्वास्थ्य केन्द्रमा जिन्दगीको पहिलो जागिर सुरु भयो। केन्द्रमा आमा र बच्चाको स्वास्थ्य स्थितिको चेकजाँच सँगै धेरैजसो बाग्लुङका दुर्गममा भेगमा स्वास्थ्य उपचार तथा शिविर सञ्चालन गरिन्थ्यो। औषधि बोकेर ४/५ जना स्वास्थ्यकर्मीको टोली बोकेर कहिले ढोरपाटन, कहिले हरिचौर त कहिले स्याङजाको बोर्डरर गरेर आधा बाग्लुङ सकियो। नजिकका जिल्ला पर्वत, म्याग्दीमा पनि शिविर गरेको तथा तालिम दिएको मलाई सम्झना छ। एक हप्ताको कार्यक्रम गर्न जाँदा हरेक ठाउँमा स्वास्थ्य जाँचसँगै सँगै दुई दिन प्रथामिक उपचारको र स्वास्थ्य सम्बन्धि विभिन्न तालिम दिइने गरिन्थो। पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जाका धेरै ठाँउमा पैदल हिँडेर काम गरियो । त्योबेला धेरै ठाँउमा यातायतको पहुँच पुगेको थिएन । आजभोलि ती दिन सम्झिदा मात्रै पनि छुट्टै ऊर्जा आउँछ मनमा।
बाग्लुङसम्मै गाडी नपुग्ने स्थितिमा पोखराबाट स्याङ्जाको नैडाँडाबाट आँधीखोला तरेर कार्कीनेटाको उकालो काटेर कुस्मा हुँदै मोदीखोला तर्दै बाग्लुङ पुगेको पनि अस्ति भर्खर मात्रै हो जस्तो लाग्छ। दुई वर्षीय बाग्लुङ बसाइँमा मैले धेरै कुरा देख्ने, भोग्ने र सिक्ने अवसर पाएँ। १८ वर्षे ठिटो समुदायमा गएर स्वास्थ्य सम्बन्धी तालिम दिने क्रममा म भन्दा उमेर परिपक्व मान्छेको जमातलाई सिकाउन त्यति सजिलो भने थिएन। आमाबुवा, स्वास्थ्यकर्मी, गाउँका मुखिया अगुवाहरुसँग बसेर मनमा करुणाभाव बोकेर विनम्रता पूर्वक प्रस्तुत हुनुपर्ने चुनौती हुन्थ्यो।
कतिपय अवस्थमा डेमोस्ट्रेसन गरेर पनि देखाउनु पर्ने अवस्था हुन्थ्यो। जलवियोजन हुँदा यसरी यसरी मनतातो पानी सोलाउन राखेर ६ चिया ग्लासमा नापेर खुवाउनुपर्छ भनेर अभ्यास समेत गराइयो। पहिले-पहिले गाउँमा घरघरमा रेडियो सुन्ने चलन हुन्थ्यो। रेडियोबाट आउने बिज्ञापनमा उमालेको पानीमा घोलेर खानु भन्ने अर्थले मान्छेहरुले जीवनजल उमालेरको पानीमा प्याकेट नखोली घोलेर खाएका घटनाहरु घटेको सुनिएपछि म आफ्नै प्रयोगात्मक तरिकाबाट सिकाउने गर्थें। कतिपय अवस्थामा आफैंले चित्रहरु कोरेर पोस्टरहरु पनि बनाएर देखाउँथे।
जचाउन भनेर टपरीभरी दिसा
मलाई अर्को एउटा घटना पनि याद छ, एकजना बुढो मान्छे जाँच गराउन आउनुभयो। डाक्टरले तपाईंको दिसाको जाँच गर्नुपर्छ भन्नुभयो। अर्कोदिन टपरीभरी दिसा लिएर आउनुभएछ। त्योबेला महशुस भयो- सानो बट्टामा नमुना ल्याउनुहोला। माइक्रोस्कोपबाट हेर्ने हो भनेर सम्झाउने धैर्यताले मात्रै पनि कति फरक पार्छ भन्ने उदाहरण मैले प्रस्शतै भेटें।
पेशाप्रतिको संवेदनशीलता, त्यसको महत्व, हामीले गर्ने संवाद र सूचना सञ्चारले कति ठूलो अर्थ राख्छ भन्ने मेरो मानसपटलमा त्यतिबेला देखि नै घुमिरहेको थियो। त्यसैले आज पनि म स्वास्थ्य संवाद, सञ्चार र उपचारका लागि हरदम तयार छु जस्तो लाग्छ।
दुर्गममा काम गर्नुपर्दा सबैका आफ्नै खालका भोगाइ, अनुभव होलान्। मेरा पनि छन्। अहिले पनि स्मृतिमा आउँछन्। मेरो नेतृत्व, आत्मविश्वास, दृढसंकल्पलाई त्यसले अझै सुदृढ बनायो कि लाग्छ जस्तो लाग्छ।
ज्यान भन्दा महंगो हवाइ टिकट
बाग्लुङ हुँदाखेरिकै घटना हो, हामी सँगै काम गर्ने हाम्रो एकजना स्वास्थ्यकर्मी दिदि हुनुहुन्थो। हामी तीनजना हेल्थ अस्सिटेन्स केटा साथीहरु थियौं। दिदि साह्रै सहयोगी, सबै भाईहरुलाई माया गर्ने, हामी सबैको आदरणीय दिदि हुनुहुथ्यो। एक राति उहाँलाई एक्युट एपेन्डिसाइटिस भयो। रातिको समय छ, उहाँलाई त्यत्तिकै राखिराख्न पनि मिलेन, एपेन्डिक्स फुट्न सक्ने र संक्रमण जतिबेला पनि फैलिएर ज्यान जान सक्ने खतरा थियो। त्यहाँ उपचार हुन सक्ने अवस्था थिएन, रातभरी हिँडाएर ल्याउन सक्ने अवस्था पनि थिएन।
त्योबेला प्लेन टिकट पाउन पनि उत्तिकै मुस्किल थियो। १५ दिन अगाडि जस्तो टिकट काट्नु पर्ने, केही विकल्प नभएपछि राति हिँडेर बिहानै अञ्चालाधी कार्यालयमा हारगुहार गरियो। मुस्किलले एउटा टिकट मिल्यो । बिरामीलाई मात्रै टिकट पायौं। त्यसदिन राति नै दिदिलाई डोकोमा बोकेर बलेवा पुग्यौं। बिरामीको मात्रै टिकट भयो, बिरामीसँग जाने एउटा टिकटको लागि त्यहाँ मैले कतिसँग विन्तीभाउ गरे हुँला। तर मान्छे बरु बिरामी मरेरै जावोस्, टिकट नदिने जस्तो कुरा गर्न थाले। उनीहरुलाई ज्यान भन्दा महंगो हवाइ टिकट लागेको देखेर जिन्दगीमा पहिलोपटक साह्रै नमज्जाले मन रोयो। मान्छेहरु संवेदनाहिन देखेर मन नै भाँचिएर आयो।
हाम्रो अहोभाग्य, अन्तिममा एकजना यात्रु आइपुगेनन्। मैले टिकट पाएँ। त्यसपछि हामी पोखरा अस्पताल आएर उपचार थाल्नुका साथै उहाँको आफन्तको जिम्मा लगाएर फर्किएँ।
आफ्नै साथीलाई दुर्गममा एपेन्डिसाइटिस भएपछि
मेरो जिवनको अर्को घटना जसले अझै पनि मेरो मुटु हल्लाउँछ। मेरो नजिकको साथी बालकृष्ण थापा, जो नेपालकै राम्रो न्युरोसर्जनमा गनिन्थे। केही वर्षअघि प्लेन दुर्घटनामा उनको देहान्त भयो। आफू निकट मान्छे गुमाउनु पर्दा उनीसँग बिताएका पलहरु सम्झिदा पनि गाह्रो हुने रहेछ। उनी काभ्रेका थिए, म धुलिखेलको। हामीले एचए पनि सँगसँगै गरियो। आफ्नो ठाउँ भन्दा पर जाखिर खाने थलो पनि एउटै भएको भएर साथीसँगको मित्रता र आत्मियता गाढा हुने रहेछ। हामी बंगलादेशमा पनि सँगै अध्ययनरत हुँदा सँगै बिताएका पल पनि उत्तिकै यादगार छन्।
हेल्थ अस्सिटेन्ट पढ्ने बेलाको साथी उनी पनि हेल्थ असिस्टेन्सको जागिर खाने क्रममा बाग्लुङ नै आइपुगेका थिए। गाउँमा स्वास्थ्य शिविर र चेकजाँचकै लाग हुक्दीशेर भन्ने ठाउँमा गएर फर्किने क्रममा विरेठाँटी आइपुग्दा एक्युट एपेन्डिसाइटिस भयो। तल हामी भएको ठाउँसम्म आइपुग्दा उसलाई असह्य भएछ, ऊ भन्न थाल्यो- म त मर्छु जस्तो लाग्यो। त्यतीबेला नारायण भन्ने एकजना साथी, म अनि एउटा भरिया दाइ भएर राति डोकेमा बोकेर ३ घण्टा उकालो-आरालो गर्दै थियौं। नारायण भन्ने साथी बाटो देखाउँदै थिए, म भरिया सँगसँगै साथीलाई सम्झिदै नआत्तिनु भन्दै थिए।
पहाडको बाटो खोला तर्ने बेला भरियाको खुट्टा चिप्लो ढुङ्गामा चिप्लिएर डोको हल्लिन पुग्दा दु:खेको दु:खाइमा अझै बल पुग्दा साथी ऐय्या भन्दैछ। भरिया बिचरालाई के थाहा ? उसको पेटको दु:खाइमा डोको सर्किएर हल्लिएर उसलाई झनै दु:खिरहेछ र ऊ ऐय्या भनिरहेको थियो। भरिया उल्टै बिरामी मान्छे धेर बोल्नु हुँदैन भनेर सान्त्वना दिँदै थिए।
त्योबेला एअरपोर्ट पुग्दा पनि टिकटको लागि उस्तै सास्ती भोग्नु परेको थियो। क्षेत्रीय अस्पताल त ल्याइपुयाइयो तर उही नेपाली टाइम भने जस्तै भयो, डाक्टर आउँछ भन्दाभन्दै बेलुका ६ बज्यो । एकजना नर्स आएर डाक्टर आउँदै हुनुहुन्छ, उहाँको प्राइभेट पार्ट सफा गरिदिनु भनिन्। डाक्टर आउँदा राती परिसकेको थियो।
त्योबेला एपेन्डिसाइटिस अन्तिम अवस्था अर्थात् मेडिकल भाषमा पेरिटोनाइटिस अर्थात् संक्रमणको उच्च जोखिम पुगिसकेको रहेछ। डाक्टरले हामीले यहाँ सक्दैनौं भनेपछि थप अन्योल सृजना भयो। कसलाई सम्पर्क गर्ने भन्ने भइरहेको बला एकजना बाग्लुङ पोखरा गरिरहने व्यापारी साथीको याद आयो। उसैले दुईटा प्लेन टिकट मिलाएकाले काठङ्गाडौं पुगियो।
साथीको एपेन्डिक्स बाटोमै फुट्यो, फुटेपछि पेटमा सर्यो। पेट कडा हुँदै आउदा साथी आत्तिदै थियो। बल्ल-तल्ल एयरपोर्ट पुगियो। त्यतिबेला आर र एभ्रो बिमान चल्दथ्यो। एभ्रो भन्ने अलिक ठूलो हुन्थ्यो। म बिरामी साथीलाई ह्विलचेयरमा राखेर प्लेनमा चढाउन लागेको थिएँ। त्यहीबेला पाइलट तल आइपुगे। उनले केरकार थाले- के भएको हो? डाक्टर प्रमाणपत्र खोइ ? त्यतिबेला कहाँ खोज्न जानु ? फोन छैन, कसैलाई एयरपोर्टसम्म पुर्याोइदेऊ भन्न पनि । मैले छैन भनें, उनले उडाउन मिल्दैन भने।
हात जोडेर विन्ति बिसाएपछि उनी उडाउन तयार भए। केही भएमा बिरामीको जिम्मा म लिने भनेर साइन गर्न लगाएर उडाए। हातमा स्लाइन बोतल छ । प्लेन जति माथि उड्छ, त्यति स्लाइन बोतल हल्लिएर रगत आउँछ। करिब ४५ मिनेटको उडानपछि काठमाडौं आइपुगियो । पोखराबाट तिनै व्यापारी साथीले ट्रंककल गरेर टिचिङ अस्पतालबाट एमबुलेन्स मगाएछन्। एअरपोर्टमा एमबुलेन्स आएपछि आशाको तान्द्रो पलायो। झन्डै ४८ घण्टा पछि मात्रै उसले उपचार पायो । मृत्युको नजिक पुगेर पनि उसले नयाँ जीवन पायो । उसले पछि भन्यो, 'मैले मेरो सर्जरी हुँदै गर्दा तँलाई धेरै सम्झिएँ। तैले बचाएको हो मेरो जिन्दगी। निको भएर ऊ बाग्लुङ फर्कियो।
जिन्दगी बाँच्ने क्रममा धेरै कुरा सिक्दै सिकाउँदै आएँ हुँला तर विगत फर्केर हेर्दा खुशी पनि लाग्छ १८/१९ वर्षको उमेरमा धेरै कुरा थाहा हुँदैन र थिएन पनि। त्यो बेलामा पनि पेशाप्रतिको संवेदना, बिरामी प्रतिको करुणा र उनीहरुले देखाउने मायाले आज पनि मलाई उर्जा दिइरन्छ।
दुर्गमा काम गर्दाको अनुभवले जीवन जिउने कलामा कति मीठा, कति तीता छाप छोडेका होलान् । तर स्वास्थ्य सेवाको न्यूनतम पहुँच भन्दा पर रहेर काम गर्न भने साँच्चिकै असजिलो विषय हो। यो सबै भन्नुको पछाडी स्वास्थ्यकर्मीले गाउँमा गएर काम गरेनन् भनेर गुनासो सुनिन्छ। हामी स्वास्थयकर्मी नै अस्वस्थ्य भएपछि जनतालाई कसरी सेवा गर्ने? भन्ने बुझ्दैनन्। स्वास्थ्य कार्यकर्ता आफैं बिरामी हुँदा के हविगत हुन्छ ?दुर्गममा डाक्टरलाई जाउ भनेर मात्रै पुग्दैन, प्रोत्साहान गर्नलाई पनि खै त सुविधा? गाउँमा सुविधा नहुँदा द्विबिधा धेरै हुन्छ। तर आफूले बिताएको गाउँसँगको आत्मीयता र माया प्रगाढ हुने रहेछ।
'मुटुको कथा' लेख्ने क्रममा विगतका यादहरु कहिलेकाहिँ तुवालो जसरी आउँछन् । त्यस बिचमा त्यहाँ काम गर्दा माथि मुस्ताङदेखि तल बुटवलसम्मको यात्रा सम्झिँदा छुट्टै खालको आन्नद आउँछ। बाग्लुङ, पर्वतको बाटो हिँड्दै गर्दा कुस्माबजार, झोलुङे पुल, तोरीको तेलमा हरियो खुर्सानी र जिरा, मेथी फुराएको रायोको सागको बास्ना आज पनि नाकमै छ।
ठाउँ अनुसारको खाजा अनि मोही भट्मास, पाल्पाको बारा चुकाउनी, गाउँमा फलेको सुन्तला आफैंले टिपी खाएका, अहो ति दिन ! ती पल कति रमाइला थिए, कति प्रिय थिए।
धुलिखेल अस्पतालको धुलोमाटोमै बिरामी जाँच्न सुरु
तिनै यादहरुलाई थाति राख्दै एमबीबीएस टिचिङबाट सकियो। त्यसपछिको केही समय टिचिङ अस्पताल महाराजगञ्जमै बसेर काम गरें। बेला-बेलामा धुलीखेलतिर स्वास्थ्य शिविरमा आउने गरिन्थ्यो। त्यति बेला डा राम आर.एम. श्रेष्ठसँग भेट भइरहन्थ्यो। उहाँ मेरो स्कुल पढ्ने बेलादेखिको सिनियर पनि हुनुहुन्थ्यो। त्यतिबेला धुलिखेल अस्पतालको निमार्णको क्रममै थियो। २०५१ सालको सेरेफोरोतिर म टिचिङ छोडेर धुलिखेल आएँ। अस्पताल बन्दै थियो।
धुलिखेल अस्पतालका संस्थापक डा रामसरसँग त्यो बेलादेखिको सहकार्य आज पनि छ। छानो पूरै बनिसकेको थिएन, रङरोगन बाँकी नै थियो। म त डाक्टर भएर आएको, मलाई त बिरामी जाँच्ने हुटहुटी, के को पैसा? के तलब ? कहीँ कुराको मतलब नगरी बिरामी हेर्नु सुरु गरियो।
डा राम र म दुईजना भएर बिरामी जाँच्न सुरु गर्नुपर्योर, भनेर ए फोर साइजको पेपरमा धुलिखेल अस्पताल भनेर लेखियो । कन्सट्रकसनको हाम्रो सुपरभाइजरलाई भन्यौं- लौन दुईटा रुम तयार गरिहाल्नुपर्योज, बिरामी जाँच्न पर्योब भनेर कोठा सफा गरियो। ठेकेदारको टेबुलमै औषधीहरु राखेर बेड बनाएर बिरामी जाँच्न सुरु गरियो। कहिलेकाहिँ सर्जरी गर्नुपर्ने केस पनि आउँथ्यो । कहिलेकाहिँ टिचिङ अस्पतालबाट डाक्टर मगाएर काम गरियो।
सामान्य बिरामी त हेरिहालिन्थ्यो । एपेन्डिसाइटिसका बिरामीहरु आउँदा म एनेसथेसिया दिने डाक्टर, राम सर्जरी गर्ने। मलाई याद छ, अस्पताल भनेर दुई कोठामा सुरु गरेको केही दिनमै घाँटी नै छिनिएर आएको मान्छेको सर्जरी गरेर डा रामले बचाउन सफल हुनुभएको थियो। सुत्केरी व्यथा लागेर अस्पताल आउँदा हामी दुईजनाले डेलिभरी गरेका थियौँ। मलाई नर्मल डेलिभरी लिन आउँथ्यो डा. राम सर्जरी गर्नुहुन्थ्यो। त्यसको केही समयपछि गाइनोक्लोजिस्ट डा. बेखालक्ष्मी मानन्धर आउनुभयो र अलिक सहज बन्यो। मलाई याद छ, पहिलो डेलिभरी गरेको मेरो साथी श्रीमतीको हो। त्यतिबेला गाइनोक्लोजिस्ट नहुँदा मखमली भन्ने सिस्टर हुनुहुन्थ्यो । उहाँले नै प्रसुति गराउनुहुन्थ्यो। बिस्तारै अस्पताल बन्दै गयो, डाक्टरहरु आउनुभयो र व्यवस्थित हुँदै गयो।
लेखनमा रुचि
हरेकपटक बिरामी जाँच्ने क्रममा डाक्टर बिरामीले सोध्थे, 'मैले के खानु हुन्छ के हुदैन?' म बाग्लुमै हुँदा उच्च रक्तचाप, हृदयाघातलगायतका विषयमा लेख्ने गर्थें। मान्छेहरुले पढेर प्रतिक्रिया दिन्थे। लेख्दा मन्छेहरुले पढ्ने रैछन् । स्वास्थ्यको विषयमा मान्छेलाई चासो रहेछ, यसरी लेख्दा धेरैमा पुग्ने रहेछ भन्ने लाग्यो। लेखेको पढेर मान्छेहरु थप जिज्ञाशु भएर सोध्ने गरेपछि मलाई थप लेख्ने प्रेरणा मिल्यो । मैले यो पेशा अंगाल्दै गर्दा पैसाकै कारण उपचार पाउन नसकेकाहरुलाई नजिकबाट नियालेको कारण सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्यको विषयमा आज पनि लेख्छु र बोल्छु।
जिन्दगीको यो मोडमा आइपुग्दा उपचार गर्ने र मेरो पेशा नै भयो। तर मैले बोलेर, लेखेर पनि मान्छेको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने अभिप्रायलेले मलाई लेखिरहन मनपर्छ । बोलेरै/लेखेरै मान्छेलाई स्वास्थ जीवन बाँच्न प्रेरित गर्नका लागि म सक्ने बेलासम्म लेखिरहन चाहान्छु।
अहिलेको जमाना सूचना र सञ्चारको जमाना हो । विस्तारै स्वास्थ्यको पहुँच पनि बढिरहेको छ । यसै बिचमा पनि मैले धेरै लेख र स्वास्थ्य सम्बन्धी जनचोतनाको भिडियो बनाएँ। यो सबै पब्लिकेसन र कर्मसलाइजेसनका लागि नभइ नितान्त मान्छे आफ्नो बानी सुधारोस् भन्नका लागि हो।
यो किताबको उद्देश्य मुटु स्वास्थ्यकै रहोस् र मान्छे खुसी बनोस भन्नका लागि हो। हामी सबैको मुटु स्वस्थ रहोस् । स्वस्थ रहन ख्याल मात्रै गरे पुग्छ। जीवनशैली सुधारे मात्रै पुग्छ। साँच्चिकै मुटुको कथामा धेरै यस्ता कथा छन्। जुन हरेक मान्छेले एकपटक पढ्नुपर्छ जस्तो लाग्छ। मुटुको कथामा पढेर मुटुलाई सुकुन् र मनलाई आनन्द मिल्छ र हामीले आफ्नो जीवनशैलीलाई स्वास्थ्य बनाउन मुटुलाई ख्याल गर्छौं।