बागलुङ- पछिल्ला दिनमा क्षयरोगको संक्रमण दर बागलुङ जिल्लामा बढ्दो अवस्थामा रहेको छ। जिल्लामा चालु वर्षको ८ महिनामा मात्रै जिल्लामा १७९ क्षयरोगी भेटिएका छन्। जसमा १ सय १४ पुरुष र ६७ जना महिला छन्। जिल्लाका दश स्थानीय तह मध्ये ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षयरोगी सबैभन्दा बढी रहेको प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयले पत्रकारसँग अन्तरक्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो। क्षयरोगको स्क्रिनिङ र कन्टयाक्ट ट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उनले बताए।
अघिल्लो वर्षको ८ महिनामा २ सय २७ क्षयरोगी भेटिएका थिए। यस वर्ष बडिगाड गाउँपालिकामा खोजी गर्न बाँकी छँदै यो संख्या आएको हो। गत वर्ष क्षयरोगकै कारण जिल्लाका १० जनाले ज्यानसमेत गुमाएको घिमिरेले जानकारी दिए।
सबैभन्दा धेरै ढोरपाटनमा ४३ संक्रमित भेटिएका हुन्। त्यसपछि बडिगाडमा ३८ जना, गलकोटमा २८ जना, बागलुङ नगरापलिकामा २७ जना संक्रमित छन्। निसीखोलामा १४ जना, जैमिनीमा ७, बरेङमा ४, काठेखोलामा ७ , ताराखोलामा ४ र तमानखोलामा ३ जना संक्रमित भेटिएका हुन्। पछिल्लो समय खोजपड्ताल पनि बढाइएको घिमिरेले बताए।
अझै पनि संभावित संक्रमित मध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजपड्तालबाट मात्र निवारण सम्भव भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताए। अहिले पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोग मुक्त बनाउने अभियान समेत चलेको छ।
गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन्। उक्त अभियानका लागि खोजपड्ताललाई पनि तीव्रता दिइएको बताए।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले क्षयरोग निवारणमा संचार माध्ययमको पनि महत्वपुर्ण भुमिका हुने बताए।
क्षयरोग एक सरुवा रोग हो जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिस भन्ने आंखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट हुन्छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट सर्दछ।
फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु वाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्छ।
क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन। यदि क्षयरोगका किटाणुहरुले आक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन। तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्दछ। जस्तै कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। एक जना क्षयरोगीले १ बर्षमा १० देखी १५ जनासम्म स्वस्थ्य व्यक्तिलाई सर्न सक्छ।