काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रको बढ्दो चाप र चुनौतीबीच, स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने हिंसाको भार र त्यससित सम्बन्धित कारक तत्वहरु पत्ता लगाउन एक अनलाइन राष्ट्रिय सर्वेक्षण सुरु गरिएको छ। सर्वेक्षणको उद्देश्य कार्यस्थलमा हुने हिंसाको भार, प्रकार र त्यसका बहुआयामिक कारणहरू बुझ्नु हो, जसले दीर्घकालीन नीतिगत समाधानमा योगदान पुर्याउनेछ।
सर्वेक्षणका प्रमुख अध्ययनकर्ता मुकेश अधिकारीले भने, 'हामीले यो सर्वेक्षण सुरु गर्नुअघि कार्यस्थलमा शारीरिक हिंसा भोगेका १२ जना स्वास्थ्यकर्मीहरू माथि गुणात्मक अध्ययन गरेका थियौं। त्यस अध्ययनले देखायो कि कार्यस्थलमा हुने हिंसाका कारणहरू बहुआयामिक छन्। हामीले बाहिर देखे जस्तो सतही कारणहरु मात्र नभई भित्री कारणहरु पनि हुने रहेछन् । धेरै नतिजाहरु मध्ये एउटा चाखलाग्दो नतिजा चाँहि हामीले के पायौ भन्दाखेरी शक्ति वा पहुँच भएका बिरामी तथा तिनीहरूका आफन्तहरूले हिंसा गर्ने सम्भावना धेरै देखियो।'
अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’
यस अघि गरिएको गुणात्मक अध्ययनले कारणहरू पत्ता लगाएको भए पनि, नेपालको सन्दर्भमा स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाको भार सम्बन्धी राष्ट्रिय स्तरको तथ्यांकको अभाव रहेको भन्दै, सोही अभाव पूर्ति गर्न यो अध्ययन थालिएको हो।
नीतिगत सन्दर्भमा अध्ययनको महत्व
अधिकारीका अनुसार यो अध्ययनबाट प्राप्त हुने निष्कर्षहरूले नेपालमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नका लागि नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्याउनेछ। कार्यस्थलमा हिंसाको प्रभावबारे वैज्ञानिक प्रमाण उपलब्ध गराएर स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन र सुरक्षा निकायलाई ठोस रणनीति तयार गर्न सहज बनाउनेछ।
अधिकारीले जोड दिदै भने, ‘यो सर्वे मात्र तथ्य संकलन होइन, स्वास्थ्यकर्मीका आवाजलाई नीति निर्माणमा पुर्याउने पुल हो।’
सर्वेक्षणमा सहभागी हुनेबारे जानकारी
सर्वेक्षणमा नेपालका सबै स्वास्थ्यकर्मी (चाहे सरकारी, निजी वा स्वयंसेवी संस्थामा कार्यरत) सहभागी हुन सक्नेछन्। यो अध्ययन नेपाल स्वास्थ्य व्यवसायी परिषदको इथिकल रिभ्यू कमिटीबाट स्वीकृत भएको छ। सहभागिता पूर्ण रूपमा गोप्य रहने छ, र चाहे तपाईंले हिंसा भोग्नुभएको होस् वा नभएको, तपाईंको अनुभवले यस अध्ययनलाई अझ समृद्ध बनाउनेछ।
अध्ययनमा तल दिइएको लिंकमा क्लिक गरेर सहभागी हुन सकिनेछ ।