काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लेटरप्याड र काउन्सिलका रजिष्ट्रार डा सतिश देवको हस्ताक्षरसहित लाइसेन्स परीक्षा पास भएको पत्रको आवश्यक जाँचका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइएको छ। डाली युनिभर्सिटी चीनबाट एमबीबीएस उत्तीर्ण गरेका सीडी भूषालले काउन्सिलको लेटरप्याडमै लाइसेन्स परीक्षा पास भएको जानकारी पाएका थिए। लेटरमा उक्त जानकारी पाएका उनी काउन्सिलको रेकर्डमा भने फेल नै छन् ।
पास भएको पत्र प्राप्त भएको तर पास नभएको जानकारी पाएपछि उनले काउन्सिलका अध्यक्ष डा चोपलाल भूषाललाई निवेदन लेखेको पाइएको छ। उक्त पत्रका विषयमा काउन्सिल आफैंले छानविन भने गरेन ।
उक्त पत्र र पत्रमा उल्ले विवरण शंकास्पद देखिएपछि काउन्सिलले आफ्नो कानुनी सल्लाहकारसँग छलफल गरेर थप जाँचपड्ताका लागि ब्युरोलाई पठाएको अध्यक्ष डा भूषालले जानकारी दिए।

सीडी भुषालले लेखेको निवेदन
उनले भने, 'हामीलाई एक विद्यार्थीले निवेदन लेखेका थिए। उक्त निवेदन, विवरणको थप जाँचका लागि हामीले सीआईबीलाई पठाएका छौं।'
काउन्सिलको परीक्षामा फेल भएका आफूलाई पुनर्योग गर्न सुझाव, फारम भर्ने जिम्मा र उत्तीर्ण भएको जानकारी पत्र समेत पुतलीसडकमा रहेको स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीले दिएको उनले पत्रका लेखेका छन्।
पुनर्योगको परीक्षा पछि २०८१ कात्तिक २८ गते उत्तीर्ण भएको पत्रको फोटोकपी पनि सीडीले काउन्सिलमा बुझाएका छन्। तर, उक्त पत्र र त्यसको विवरणमा आशंका सृजना भएपछि सीआईबीलाई पठाइएको हो।
सीडी भुषालले लेखेको निवेदनमा ज्ञवालीले आफूलाई लाइसेन्स लिन बाँसबारीस्थित काउन्सिलमा बोलाएको समेत उल्लेख गरेका छन्। ज्ञवालीलाई पत्र काउन्सिलका रजिष्ट्रार डा देवले नै दिएको दाबी उनले दिएको निवेदनमा उल्लेख छ।
रजिष्ट्रार डा देव भने उक्त पत्र आफूले नदिएको बताउँछन् । भुषाललाई पुनर्योगमा पास भएको जानकारी सहितको पत्र दिने ज्ञवाली काउन्सिलको समेत सम्पर्कमा नआएको रजिष्ट्रार डा देवले बताए। उनले भने, ‘काउन्सिलको छाप, लेटरप्याड र मेरो हस्ताक्षर समेत दुरुपयोग गरिएको छ। हामीले दिएको पत्र होइन । सीडी भुषाल बाहेक अन्य विवरण समेत मिल्दैन।'

काउन्सिलबाट प्राप्त भनिएको पत्र
उक्त विवरणमा उल्लेख सीडी भुषालको नाम र सिम्बोल नम्बर बाहेक अन्य ७ जनाको विवरण समेत गलत रहेको काउन्सिलको भनाइ छ। काउन्सिलले दोस्रोपटक पत्र लेखेर उक्त जानकारी गराइसकेको छ। काउन्सिलले दिएको भनिएको उक्त शंकास्पद पत्रमा उल्लेख कोही पनि लाइसेन्स परीक्षामा पास नभएको पनि स्पष्ट पारिएको छ ।