काठमाडौँ – राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरले खकारको जाँच गरी क्षयरोग पत्ता लगाउने अत्याधुनिक आठ थान मोलिक्युलर डब्लुएचओ रेकमेन्डेड रेपिड डायग्नोस्टिक (एमडब्लुआरडी) मेसिन प्राप्त गरेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले बुधबार ५ हजार थान परीक्षण किटसहित ती मेसिन केन्द्रलाई हस्तान्तरण गरेको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले केन्द्रका निर्देशक डा. श्रीराम तिवारीलाई उपकरणहरु हस्तान्तरण गरेका हुन्।
डा. तिवारीका अनुसार एमडब्लुआरडी मेसिन जीन एक्सपर्ट जस्तै काम गर्ने अत्याधुनिक प्रविधि हो, जसले खकारको नमुनाबाट क्षयरोग छिटो र विश्वसनीय रुपमा पत्ता लगाउन सहयोग पुर्याउँछ। विभागका अनुसार ८ वटा मेसिन र ५ हजार परीक्षण किटको लागत ३ करोड ८४ लाख रुपैयाँ रहेको छ।
हाल केन्द्रले देशभरका ११८ स्थानमा जीन एक्सपर्ट मेसिनमार्फत क्षयरोगको परीक्षण गरिरहेको छ, जसमा प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरु समेत छन्। नयाँ प्राप्त मेसिनहरु अत्यधिक परीक्षण भार भएका स्थानहरुमा वितरण गरिने र आवश्यकता अनुसार नयाँ स्थानमा पनि स्थापना गरिने डा. तिवारीले जानकारी दिए।