काठमाडौं - स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले संघीय, प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब १ करोड ९१ लाख ८६ हजार बराबरको मेसिन उपकरण हस्तान्तरण गरिएको महाशाखाले जनाएको हो।
महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार कुल १४ हजार ६१ वटा सामग्री हस्तान्तरण गरिएको हो।
सबैभन्दा संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख रुपैयाँ, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री दिइएको हो। सामुदायिक स्वास्थ्य केन्द्रमा सबैभन्दा कम ९१ हजारको सामग्री वितरण भएको उल्लेख छ।
विभागले क्षयरोग स्क्रिनिङ, पेट सम्बन्धी रोगको पहिचान र उपचारका लागि पनि सामग्रीहरु वितरण गरेको छ।
फोर के थ्रीडी ल्याप्रोस्कोप, सी-आर्म, कार्डियो टोपोग्राफी, इलेक्ट्रो सर्जरी, फिजियोथेरापी, एफएफआर उपकरणहरू वितरण गर्न नसकिएको जनाएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीले उक्त सामग्रीहरूको सही रुपमा अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा प्रवाह गर्नका लागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई निर्देशन दिए।
व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले ती सामग्रीहरूको प्रयोगबाट अस्पताल तथा स्वास्थ्य संस्थाहरूले अधिकतम फाइदा लिने विश्वास व्यक्त गरे।