महिलाको प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने तर अझै पनि खुलेर बहस गर्न हिचकिचाइने एक संवेदनशील स्वास्थ्य समस्या हो पोलिसिस्टिक ओभरियन डिजिज र पोलिसिस्टिक ओभरी सिन्ड्रोम। किशोरावस्थादेखि नै देखा पर्न सक्ने यी अवस्थाहरू आज विश्वभर लाखौं महिलाको लागि चिन्ताको विषय बनेका छन्। हर्मोन असन्तुलन, अनियमित महिनावारी, तौल वृद्धि, अनुहारमा रौं बढ्ने, छालाको समस्या, गर्भधारणमा कठिनाइ, र मानसिक तनावजस्ता लक्षणहरूले महिलाको दैनिक जीवनलाई प्रत्यक्ष असर गर्छ।
यद्यपि यी दुई शब्द एकआपसमा उस्तै लाग्न सक्छन्, पोलिसिस्टिक ओभरियन डिजिज र पोलिसिस्टिक ओभरी सिन्ड्रोम दुई फरक अवस्थाहरू हुन्।
पोलिसिस्टिक ओभरियन डिजिज भन्नाले अण्डाशयमा थुप्रै साना-साना ग्रन्थिहरू (सिस्ट्स) बन्ने अवस्थालाई जनाउँछ, जुन हर्मोन असन्तुलनका कारण महिलाको महिनावारी अनियमित हुने र डिम्ब उत्पादनमा असर गर्ने गर्दछ। यो तुलनात्मक रूपमा कम गम्भीर हुन्छ र जीवनशैलीमा सुधार ल्याएर सजिलै नियन्त्रण गर्न सकिन्छ। अधिकांश महिलाहरू सामान्य रूपमा गर्भवती पनि हुन सक्छन्।
त्यसैगरी, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) भनेको केवल अण्डाशयमा मात्र नभई सम्पूर्ण शरीरको हर्मोन प्रणाली र मेटाबोलिज्ममा असर पार्ने जटिल समस्या हो। यसले प्रजनन प्रणालीसँगै मुटु रोग, मधुमेह, इन्सुलिन प्रतिरोध, र मानसिक स्वास्थ्यमा पनि दीर्घकालीन असर पार्न सक्छ। पिसिओएस भएका महिलालाई गर्भवती हुन कठिन हुने सम्भावना उच्च हुन्छ र यसका लागि औषधीय तथा समग्र चिकित्सा व्यवस्थापन आवश्यक हुन्छ।
पिसिओएसले महिनावारी अनियमित बनाउने, पुरुष हर्मोन (एन्ड्रोजन) बढाउने, तौल बढ्ने, अनुहारमा रौँको वृद्धि, गर्भधारणमा कठिनाइलगायतका समस्या ल्याउँछ। समयमै उपचार नभए यसले मधुमेह, उच्च रक्तचाप, बाँझोपन वा गर्भाशयको क्यान्सरसम्मको खतरा बढाउँछ।
दुवै अवस्थाको मूल कारण जीवनशैली, खानपान, तनाव र आनुवंशिक गुण पनि हुन सक्छ। तर सबैभन्दा आवश्यक कुरा भनेको समयमै लक्षण पहिचान गर्नु, सही परीक्षण गराउनु र आवश्यक जीवनशैली परिवर्तन तथा चिकित्सा परामर्श लिनु हो।
नेपालमा बढ्दो समस्या
नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका महिलाहरूमा यो रोग तीव्र रूपमा बढ्दै गएको छ। थुप्रै अनुसन्धानहरूले विश्वभरका युवती र महिलाहरूमा १०-१५ प्रतिशतले पीसीओएसको लक्षण देखाउने निष्कर्ष निकालिसकेका छन्। तर, नेपालमा यो सङ्ख्या अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ, किनकि धेरैजसो केसहरू लाज, जानकारीको कमी वा नियमित स्वास्थ्य परीक्षणको अभावका कारण निदानमै पुग्दैनन्।
नेपालमा प्रजनन उमेर समूहका महिलामध्ये ठूलो प्रतिशत यो समस्याबाट प्रभावित छन्। तर महिलाहरूको एक ठूलो वर्ग यस्तो अवस्थालाई सामान्य महिनावारी गडबडी ठानी लामो समयसम्म उपचारबिना बसिरहन्छन्।
अहिलेको शहरी जीवनशैली— जस्तै प्लास्टिकमा प्याक गरिएका खाना, रातभर मोबाइल चलाउने बानी, लामो समयसम्म बस्ने प्रवृत्ति, जङ्कफुड, अत्यधिक तनाव र निद्राको कमी —पीसीओएसलाई निम्त्याउने प्रमुख कारणहरू हुन्। यो समस्या शारीरिक मात्र होइन; यसको असर महिलाको मानसिक, यौनिक र सामाजिक आत्मबलमा समेत पर्छ।
उपचारका आधुनिक र परम्परागत उपायहरू
आधुनिक चिकित्सा विज्ञानले पीसीओएसको कुनै निश्चित उपचार नभए पनि यसको व्यवस्थापन खानपान, तौल नियन्त्रण, जीवनशैली परिवर्तन र आवश्यक हर्मोनल औषधिको प्रयोगबाट सम्भव भएको बताउँछ। तर, पछिल्ला वर्षहरूमा प्राकृतिक चिकित्सा र विशेषतः आयुर्वेद तथा योगद्वारा पीसीओएसको समग्र व्यवस्थापनतर्फ वैज्ञानिकहरू र चिकित्सकहरूको ध्यान गइरहेको छ।
आयुर्वेदले पीसीओएसलाई 'आर्तवदोष, राजोदोष वा आर्तवविकृति' अन्तर्गत राख्छ। आयुर्वेदिक दृष्टिमा यो विकार कफ र वात दोषको असन्तुलनसँग सम्बन्धित हुन्छ, जसले श्रोणि (pelvis) क्षेत्रमा स्राव, मासिक चक्र र डिम्ब उत्पादन प्रक्रियामा अवरोध ल्याउँछ। साथै, दूषित आहार, मानसिक तनाव, अनिद्रा र अतिकल्पनात्मक यौनिकता आयुर्वेदमा रोगको मूल कारणका रूपमा वर्णन गरिन्छ।
परम्परागत ग्रन्थहरूमा वर्णित आयुर्वेदिक औषधिहरूमा काञ्चनार गुग्गुलु, त्रिफला, पुनर्नवा मण्डूर, अशोकारिष्ट, शतावरी र लोध्रासव मुख्य छन्। यिनले यकृत, रक्त तथा गर्भाशयमा सकारात्मक प्रभाव पार्दै शारीरिक चयापचय सन्तुलनमा ल्याउँछन्। अनुसन्धानहरूले पनि ब्राह्मी, अश्वगन्धा र शतावरीले हर्मोनको स्तर सन्तुलित गर्न र ओभुलेसन सुधार गर्न सहयोग गर्ने देखाएका छन्।
सन् २०१९ मा भारतको बनारस हिन्दू विश्वविद्यालयमा गरिएको एक अध्ययनले अशोकारिष्ट र काञ्चनार गुग्गुलुको प्रयोगले ७८% महिलाहरूमा महिनावारी नियमित भएको देखाएको थियो। त्यस्तै, अश्वगन्धा र त्रिफला चूर्णको संयोजनले इन्सुलिन प्रतिरोध घटाउने र तौल नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको प्रमाणित गरिएको छ।
तर केवल औषधि नै पर्याप्त हुँदैन। आयुर्वेदले जीवनशैली सुधारलाई औषधि सरह मान्दछ। यस अन्तर्गत नियमित निद्रा, समयमा भोजन र व्यायाम अनिवार्य छन्। तनाव घटाउने उपायहरूलाई पनि उपचारको अभिन्न अङ्ग बनाइएको छ।
योग र पीसीओएस
यसै सन्दर्भमा योग एक वैज्ञानिक तथा समग्र उपचार प्रणालीका रूपमा अघि आउँछ। योग अभ्यासले न केवल शारीरिक लचकता र स्फूर्ति ल्याउँछ, यसले अन्तःस्रावी ग्रन्थिहरूको सन्तुलन, पाचन तन्त्रको सुधार र मानसिक शान्ति पनि दिन्छ।
सूर्य नमस्कार: सम्पूर्ण शरीर सक्रिय राख्ने, तौल घटाउने र रगत सञ्चार सुधार गर्ने।
भुजङ्गासन, उष्ट्रासन, सेतु बन्धासन, पश्चिमोत्तानासन: श्रोणि क्षेत्रमा रक्तसञ्चार बढाउने, डिम्बग्रन्थिको कार्यक्षमता सुधार गर्ने।
नाडी शुद्धि प्राणायाम, कपालभाति, भ्रामरी र शीतली: मानसिक तनाव कम गर्ने र हर्मोनल सन्तुलन कायम राख्ने।
ध्यान र योगनिद्रा: आत्मस्वीकृति बढाउने र दीर्घकालीन रूपमा मानसिक शान्ति प्रदान गर्ने, जसले पीसीओएसबाट मुक्त गराउने आशा जगाउँछ।
घरेलु उपचार र खानपान
हाम्रो घरमै रहेका दैनिक प्रयोग हुने मसला, जीवनशैली सुधार र आहारको विवेकशील चयनबाट पनि यसलाई व्यवस्थापन गर्न सकिन्छ।
घरेलु उपायहरू:
१. मेथीको दाना (Fenugreek Seeds): रातभर भिजाइएको एक चम्चा मेथीको दाना बिहान खाली पेट मनतातो पानीसँग लिनु। यसले इन्सुलिन प्रतिरोध घटाउने र मासिक चक्र नियमित गर्ने कार्य गर्छ।
२. अलैँची र दालचिनीको चिया: दालचिनीले शरीरको चयापचय (metabolism) सुधार गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। अलैँचीले हर्मोन सन्तुलनमा सहयोग गर्छ। दूधरहित कालो चियामा यी मिसाएर बिहान-बेलुका सेवन गर्नु लाभदायक हुन्छ।
३. फ्ल्याक्स सिड (आलस) पाउडर: आलसमा रहेको ओमेगा-३ फ्याटी एसिड र लिग्नन्सले एन्ड्रोजन हर्मोनको मात्रा घटाउने कार्य गर्छ। दैनिक १ चम्चा अलसीको पाउडर मनतातो पानी वा सलादसँग लिन सकिन्छ।
४. करेलाको जुस: हप्तामा २–३ पटक करेलाको जुस पिउनाले इन्सुलिन सन्तुलनमा ल्याउने र पाचन सुधार गर्ने प्रभाव देखिन्छ।
५. तुलसी र अदुवा मिश्रण: तुलसीको पात र अदुवा बराबर मात्रामा कुटी पानीमा उमालेर बिहान खाली पेट लिने। यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकाल्न र हर्मोन सन्तुलनमा सहायता पुर्याउँछ।
खानपानमा के ध्यान दिने?
पीसीओएस भएका महिलाहरूले ‘कम ग्लाइसेमिक इन्डेक्स’ भएका खाद्य पदार्थलाई प्राथमिकता दिनुपर्छ। भातभन्दा ढिँडो, पिठोभन्दा सातु, मैदाभन्दा गहुँ वा कोदो प्रयोग गर्नु उचित हुन्छ। प्रशोधित चिनी र तेलयुक्त मसालेदार खानाभन्दा उमालेको वा बफाएको खाना बढी उपयुक्त हुन्छ। नियमित रूपमा जामुन, नासपाती, बदाम, मुग दाल, करेला, तोरीको साग जस्ता पोषणयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्छ। बासी खाना, फ्रिजको जुस, कार्बोनेटेड पेय पदार्थ र प्याकेटमा पाइने स्न्याक्सहरू यथासम्भव टाढा राख्नुपर्छ।
निष्कर्ष
पीसीओएस कुनै एक औषधिले ठीक पारिने सानो समस्या होइन। यो एक बहुआयामिक विकार हो जसको उपचार पनि समग्रतामा हुनु आवश्यक छ। आधुनिक चिकित्सा, आयुर्वेद र योग एक-अर्कालाई प्रतिस्थापन गर्ने होइनन्; तिनको संयोजनले मात्र समुचित समाधान सम्भव छ। विशेषतः आयुर्वेद र योगद्वारा हामी केवल शरीरलाई होइन, मानसिक र आत्मिक पक्षलाई पनि उपचार दिन सक्छौं — जुन दीर्घकालीन स्वास्थ्यका लागि अपरिहार्य छ। महिलाको स्वास्थ्य समाजको मेरुदण्ड हो। पीसीओएसको रोकथाम, शीघ्र निदान र आयुर्वेद तथा योग चिकित्सा पद्धतिको समावेशमार्फत हामी स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणतर्फ अग्रसर हुन सक्छौं।
-(डा प्रशन्न नेपाल स्वास्थ्यवृत्त तथा योग विशेषज्ञ हुन्)