काठमाडौं- केही समयदेखि स्थगित अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबारदेखि सुरु भएको सेवा अन्तरगत अस्पतालले प्रारम्भिक चरणमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क ओपीडी सेवा प्रदान गरेको छ।
अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरे। उनले काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको पुनः सञ्चालन स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए। उनले भने, 'म अस्पतालमा संलग्न सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जनउत्तरदायी, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा बागमती स्वास्थ्य मन्त्रालयको साथसहयोग रहन्छ।'

अस्पताल सञ्चालनको औपचारिक उद्घाटन कार्यक्रममा कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले भने, ‘आजको दिन हामी सबैका लागि हर्षको र ऐतिहासिक हो। अस्पताललाई पुनः सञ्चालनमा ल्याउनु हाम्रो दीर्घकालीन सोचको एउटा महत्त्वपूर्ण पाटो हो।'
उनले निजी अस्पताल भन्दा ८० प्रतिशत सस्तोमा सेवा दिने बताए। उनले भने, ‘हामी मेडिकल कलेजकै शिक्षण अस्पतालका रुपमा आएका हौं। त्यसैले सेवा शुल्क सरकारी भन्दा १०-२० प्रतिशतसम्म बढी र निजीको भन्दा ८० प्रतिशत कम शुल्कमा स्वास्थ्य सेवा दिनेछौं।

उनले गुणस्तरीय चिकित्सा शिक्षा र सेवा पुनः उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै आम नागरिकका लागि सहज र सुलभ सेवा पुर्याउने उद्देश्यमा केन्द्रित रहेको बताए।
विशेषज्ञ सेवा निःशुल्क, अन्य सेवामा छुट
अस्पतालका अनुसार प्रारम्भिक चरणमा जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने अस्पतालका व्यवस्थापक दिलिप साहले जानकारी दिए।

एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा विशेष छुट दिइने बताइएको छ। अस्पताल परिसरमै फार्मेसी सेवा पनि सञ्चालनमा ल्याइएको छ, जसले बिरामीहरूलाई थप सहजता दिने उनको भनाइ छ।
उनले थपे, ‘हामी नागरिकहरूको विश्वास जित्ने उद्देश्यका साथ पुनः सञ्चालनमा आएका छौं। सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा जिम्मेवारी बहन गर्नु हाम्रो प्रमुख लक्ष्य हो।'
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारीले काठमाडौं शहरको केन्द्रमै रहेको यो अस्पतालमार्फत् जनतालाई गुणस्तरीय, सुलभ र सस्तो सेवा पुर्याउने लक्ष्यमा समर्पित रहने बताए। ‘निःशुल्क सेवा सुरु गर्नु हाम्रो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता हो। हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ, अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत् हामी आम नागरिकप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गर्न चाहन्छौं,' उनले भने।
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल सञ्चालनको अनुभव बोकेको यस टिमले अब काठमाडौं नेशनल मेडिकल कलेजलाई मेडिकल शिक्षा र सेवा क्षेत्रमा उदाहरणीय संस्था बनाउने लक्ष्य लिएको बताइएको छ।