भारी वर्षा र बाढीले देशका धेरै क्षेत्रमा जनजीवन संकटमा पारेको छ। यस्तो विपद् परिस्थितिमा घरमै रहनु अत्यावश्यक छ, आफूलाई सुरक्षित राख्नुहोस्, छिमेकवासीको सहारा बनौं र मानवता देखाऔं। बाढीले केवल घर र सम्पत्ति मात्र होइन, स्वास्थ्य र जीवनमाथि पनि गम्भीर खतरा पुर्याउँछ। सतर्क रहौं, जिम्मेवार बनौं र जीवनको रक्षा गरौं।
बाढी र वर्षापछि प्रमुख स्वास्थ्य जोखिमहरू
१. पानीजन्य रोगहरू
झाडापखाला, हैजा: बाढी वा भारी वर्षापछि दूषित पानी र खाना सेवन गर्दा झाडापखाला हुन सक्छ। यसले शरीरमा अत्यधिक पानी र लवण गुमाएर निर्जलीकरण (Dehydration) निम्त्याउँछ र ज्यानका लागि गम्भीर खतरा सिर्जना गर्न सक्छ।
टाइफाइड ज्वरो: दूषित खाना वा पानीबाट फैलिने रोग, जसले उच्च ज्वरो, पेट दुखाइ, कमजोरी र दीर्घकालीन स्वास्थ्य समस्या ल्याउन सक्छ। यदि समयमा उपचार नपाइयो भने गम्भीर जटिलता जस्तै आन्द्राको समस्या र जीवनमा जोखिम हुन सक्छ।
हेपाटाइटिस ‘ए’ र ‘ई’: कलेजोमा गम्भीर असर गर्ने रोग, विशेषगरी गर्भवती महिलाका लागि अत्यधिक जोखिमपूर्ण।
२. कीटजन्य रोगहरू
जमेको पानीमा लामखुट्टेको सङ्ख्या बढ्छ, जसले डेङ्गी, मलेरिया र चिकनगुनिया फैलाउने सम्भावना धेरै बढाउँछ।
३. छालाका सङ्क्रमण
दूषित पानीमा लामो समय बस्दा वा भिजेका लुगा लगाउँदा छालामा एलर्जी, फङ्गल संक्रमण र घाउमा सङ्क्रमण हुन सक्छ।
४. सर्पदंश र अन्य विषालु जीवजन्तुको टोकाइ
बाढीले सुरक्षित स्थान खोज्दै सर्प र विषालु जीव बस्तीमा प्रवेश गर्न सक्छन्, जसले सर्पदंशको जोखिम बढाउँछ।
५. मानसिक स्वास्थ्य समस्या
घर, सम्पत्ति वा प्रियजन गुम्दा तनाव, चिन्ता र अवसाद देखा पर्न सक्छ।
स्वास्थ्य जोखिम कम गर्न अनिवार्य उपायहरू
क. शुद्ध खानेपानी
पानी कम्तीमा १० मिनेट उमालेर मात्र पिउनुहोस्।
उमाल्न नसकिने अवस्थामा पानी शुद्धीकरण चक्की प्रयोग गर्नुहोस्।
इनार, ट्युबवेल वा पानीको स्रोतलाई बाढीको पानीले दूषित हुनबाट जोगाउनुहोस्।
ख. व्यक्तिगत सरसफाइ (Personal Hygiene)
साबुनपानीले हात धुनु अनिवार्य: शौचालय प्रयोगपछि, बाहिरबाट फर्केपछि, खाना बनाउने र खानुभन्दा पहिले।
खुला ठाउँमा दिसा-पिसाब नगर्नुहोस्; अस्थायी शौचालय वा माटोले ढाकेर सुरक्षित व्यवस्थापन गर्नुहोस्।
ग. सुरक्षित खाना
ताजा र राम्रोसँग पकाएको खाना मात्र खानुहोस्।
बासी, सडेगलेको वा खुला खाना नखानुहोस्।
फलफूल र तरकारी राम्ररी धोएर पकाउनुहोस्।
घ. लामखुट्टे नियन्त्रण र अन्य सावधानी
सुत्दा झुल (Mosquito Net) प्रयोग गर्नुहोस्।
लामो बाहुलाको कपडा लगाउनुहोस्।
घर वरपर पानी जम्न नदिनुहोस्।
बाढी प्रभावित क्षेत्रमा हिँड्दा जुत्ता वा चप्पल अनिवार्य।
आपतकालीन अवस्थामा प्राथमिक उपचार
१. झाडापखाला/वान्ताको अवस्थामा (Diarrhoea/Vomiting)
ओआरएस घोल खुवाउनुहोस्।
घरमै बनाउने उपाय (ओआरएस नहुँदा मात्र): १ लिटर सुरक्षित पानीमा ३.५ ग्राम नुन र ४ ठूलो चम्चा चिनी घोल्नुहोस्।
लगातार वा रगत मिसिएको झाडापखाला भए तुरुन्तै स्वास्थ्य केन्द्र जानुहोस्।
२. चोटपटक वा घाउ (Injuries/Wounds)
घाउ सफा साबुनपानीले धुनुहोस्।
एन्टिसेप्टिक क्रिम वा सफा पट्टी लगाउनुहोस्।
गहिरो वा फोहोरले सङ्क्रमित घाउमा टिटानसको सुई डाक्टरसँग सल्लाहअनुसार।
३. मानसिक स्वास्थ्य सहायता
प्रभावित व्यक्तिलाई सुन्नुहोस् र सहानुभूति दिनुहोस्।
एक्लोपनबाट जोगाउनुहोस् र सुरक्षित महसुस गराउनुहोस्।
डर, चिन्ता वा उदासी लामो समय रहेमा मनोसामाजिक परामर्शदाता वा स्वास्थ्यकर्मीको सहायता लिनुहोस्।
बाढी र विपद्का समयमा पूर्व तयारी, सुरक्षाका उपाय र छिमेकसँगको सहयोग नै सबैभन्दा ठूलो औषधि हो। कुनै पनि गम्भीर स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्।