काठमाडौं- नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करण हो।
'फार्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि' भन्ने मूल नाराका साथ आयोजना गरिएको यस एक्स्पोको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज बिहान एक विशेष समारोहका बिच उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन पूर्व बिहान ७ बजे प्रदर्शनी मार्गबाट भव्य प्रभातफेरि (वाकाथोन) समेत आयोजना गरिएको छ।
तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्। आयोजकका अनुसार यस पटक ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ, जसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरूलाई नेपाली बजारसँग जोड्नेछन्। बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरू प्रदर्शन गरिनेछ।
नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु यस एक्स्पोको मुख्य लक्ष्य हो। एक्स्पोमा औषधि उत्पादनमा प्रयोग हुने ‘रिसर्च एन्ड डेभलप्मेन्ट’ र आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ।
नि:शुल्क प्रवेश र सहकार्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजना गरिएको यस एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न १४ वटा सङ्घ-संस्थाहरू एसोसिएट सदस्यका रूपमा आबद्ध छन्। औषधि क्षेत्रको ज्ञान लिन चाहने जो-कोहीका लागि प्रवेश नि:शुल्क गरिएको आयोजकले जनाएको छ।
एक्स्पो फागुन २८, २९ र ३० गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहानदेखि साँझसम्म सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण नागरिक र सरोकारवालाहरूलाई नेपाली औषधि उद्योगको प्रगतिको साक्षी बन्न र एक्स्पोमा सहभागी हुन हार्दिक अपिल गरेको छ।