काठमाडौं– नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य सम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी सरकारलाई दिएको छ।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले केसीको स्वास्थ्य सम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिएका हुन्। उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे।
अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेरसमस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरेको पनि बताए।
संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिन विगत ३ दिनयता हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ। अध्यक्ष श्रेष्ठले डा केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि धारणा राखे।
यस्ता छन् चिकित्सक संघका तीनबुँदे कार्यक्रम:
१) देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट १ घन्टा कालोपट्टी बाँधी धर्ना, र्या ली लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
२) नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय र संघका देशभरका शाखा कार्यालयहरुले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग समन्वय गरी संघले संचालन गरेका कार्यक्रमहरुका बारेमा छलफल गरी सहयोग पुर्याउन अपिल गर्ने ।
३) यी विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने सम्मका कार्यक्रमहरु सञ्चालन गर्न संघ बाध्य हुनेछ । साथै, यसबाट उत्पन्न हुने परिणतीप्रति नेपाल सरकार नै जिम्मेबार हुनेछ ।
उल्लिखित कार्यक्रमको कार्यान्वयनका लागि नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ। साथै, संघले सञ्चालन गरेका कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गरी डा गोविन्द केसीको जीवनरक्षा गर्नका लागि विभिन्न संघसंस्था, शुभेच्छुक, पत्रकार, बुद्धिजीवी, सर्वसाधारण, नागरिकहरु एवं स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुमा यस संघ हार्दिक अपिल गर्दछ।
- नेपाल चिकित्सक संघ