विराटनगर- लामो समयदेखि सरकारी जग्गा ओगटेर व्यापारिक फाइदा लुटिरहेका संस्थाहरूविरुद्ध कोशी अस्पताल प्रशासनले कडा कदम चालेको छ। अस्पतालको नाममा रहेको बहुमूल्य जग्गामा गैरकानूनी रूपमा निर्माण गरिएका २६ वटा व्यावसायिक सटरहरूमा सोमबार बिहानै अस्पताल प्रशासनले डोजर चलाएको हो।
विराटनगर–७ स्थित व्यस्त अस्पताल चोकमा सुरक्षा निकायको भारी उपस्थितिका बीच यो अप्रेशन चलाइएको थियो।
अस्पतालको जग्गा लिएर सेवामूलक काम गर्ने भन्दै बसेका संस्थाहरूले नै सोही जग्गामा सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाई व्यापार गरिरहेको पाइएको छ। अस्पतालको जग्गा ओगट्नेहरूमा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति, देवकोटा पुस्तकालय लगायत थिए।
यी संस्थाहरूले आफू अनुकूल स्थायी संरचना बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका थिए। जसलाई अस्पताल प्रशासनले डोजर लगाएर पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने बनाइदिएको छ।
यो कदम हचुवाका भरमा नभई सरकारको कडा निर्देशनपछि चालिएको हो। गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा सरकारी जग्गामा अवैध रजाइँ भएको देखेपछि मन्त्रीद्वयले ती अनाधिकृत संरचना तत्काल हटाउन 'अन द स्पट' निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनअघि नै अस्पतालले असार ५ गते १५ दिने सूचना जारी गरेको थियो। निर्देशनपछि पुनः ७ दिने सार्वजनिक सूचना जारी गर्दै अन्तिम चेतावनी दिइएको थियो। सोही समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान सारिसकेका थिए भने बाँकी रहेका संरचना सोमबार भत्काइएको हो।
डोजर चलाउने क्रममा हुनसक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै मोरङका प्रहरी प्रमुख कबित कटवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको थियो। बाक्लो संख्यामा प्रहरी परिचालन गरी ती अवैध संरचनाहरू हटाइएपछि अब अस्पतालले आफ्नो जग्गा सेवा विस्तारका लागि प्रयोग गर्न पाउने बाटो खुलेको छ।