माननीय मन्त्रीज्यू,
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार ।
विषय:- अस्पताल केन्द्रित अनुगमन र ओझेलमा परेका स्वास्थ्य चौकीहरू !
विगत केही वर्षदेखि स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्न आउनुहुने मन्त्रीज्यू र सचिवज्यूहरूको कार्यशैली र कार्यव्यस्ततालाई दुर्गमको भुगोलबाट नियाल्दा एउटा गम्भीर विरोधाभास महसुस भइरहेको छ। यहाँहरू स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै देशका विभिन्न ठूला, सुविधासम्पन्न र बजारकेन्द्रित अस्पतालहरूको अनुगमनमा निकै सक्रिय देखिनुहुन्छ।
तर, विडम्बना! यहाँहरूको यो सक्रियता केवल अस्पतालको चौघेराभित्र मात्रै सीमित हुँदा आम नागरिकको प्रत्यक्ष पहुँचमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य चौकी (आधारभूत स्वास्थ्य केन्द्र) र प्राथमिक स्वास्थ्य केन्द्र भने सधैँ राज्यको प्राथमिकताबाट ओझेलमा परेको भान हुन्छ।
नेपालको संविधानले प्रत्येक नागरिकका लागि आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा निर्दिष्ट गरेको छ। अधिकतम नागरिकको पहुँच र कुनै समय भरोसाको केन्द्र रहेका यी स्थानीय स्वास्थ्य संस्थाहरूको अवस्था र गुणस्तरप्रति राज्य यसरी उदासिन रहँदा उदेक लाग्नु स्वाभाविक हो। करिब ५० वर्ष अगाडि स्थापना भएका स्वास्थ्य चौकीहरूको केवल नाम र बोर्ड मात्र फेरेर आधुनिकताको नाटक कहिलेसम्म गरिरहने? बदलिँदो परिवेश, प्रविधि र जनसंख्याको चाप अनुकूल यी संस्थाहरूको संरचनात्मक र कार्यात्मक पुनर्गठन गर्ने योजना राज्यसँग कहिले बन्छ?
माननीय मन्त्रीज्यू / सचिवज्यू, यहाँहरू एउटा ठूलो अस्पतालबाट अर्को अस्पतालको भ्रमण वा निरीक्षणको यात्रामा रहँदा, यहाँहरूको राजकीय सवारी गुड्ने बीच बाटोमै त्यस्ता कैयन स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रहरू पर्छन्। तर, तिनको ढोकासम्म पुग्ने फुर्सद यहाँहरूलाई कहिल्यै मिलेन। आगामी दिनमा अस्पतालतर्फको यात्रा तय गर्दा, बीच बाटोमा पर्ने ती ग्रामीण र स्थानीय स्वास्थ्य चौकीहरूमा पनि एकचोटि सवारी रोकेर आकस्मिक अनुगमन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
यहाँको उच्च पद र जिम्मेवारीबाट ती आधारभूत स्वास्थ्य संस्थाहरूमा पुगेर निम्न कोणहरूबाट सूक्ष्म अनुगमन होस् भन्ने एउटा जनस्वास्थ्य कर्मिको चाहना छ:
• संस्थाको सञ्चालन अवस्था: स्वास्थ्य चौकी वास्तवमा कसरी चलिरहेको छ? भौगोलिक अवस्थिति, संस्थाको क्याचमेन्ट एरिया, भौतिक पूर्वाधार र औषधि उपकरणको उपलब्धता कस्तो छ ? बढदो सडक संजाल र यातायातको उपलब्धता अनुसार हाम्रो स्वास्थ्य संस्थाहरु रणनितिक लोकेशेनमा छन् कि छैनन् ?
• सेवाग्राहीको चाप र सेवाको प्रकृति: प्रतिदिन त्यहाँ कति जना सेवाग्राही आउँछन् (Average Visit), कस्तो सेवा लिन आउँछन र उनीहरूले पाउनुपर्ने तोकिएका आधारभूत सेवाहरूको गुणस्तर कस्तो छ?
• कर्मचारीको अवस्था: त्यहाँ खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरू दरबन्दि अनुसार छन कि छैनन् ? किन अधिकतम स्वास्थ्यकर्मि करारबाट पदपुर्ति गरिएको छ ? स्वास्थ्यकर्मिहरु आफुले काम गर्ने कार्यस्थल र आफुलाई खटन पटन गर्ने स्थानिय सरकार प्रति कति सन्तुष्ट छन ? आफ्नो जिम्मेवारि अनुसारको काम गर्न कति उत्साहित छन्?
• नागरिक सन्तुष्टि: सेवा लिन आउने सर्वसाधारण ग्रामीण नागरिकहरू राज्यको सेवाबाट कत्तिको सन्तुष्ट छन्? अहिलेको बदलिंदो परिवेशमा उक्त स्वास्थ्य संस्थाले नागरिकको अपेक्षा पुरा गर्न सकेको छ कि छैन ? उनीहरूले राज्यको उपस्थिति महसुस गर्न पाएका छन् कि छैनन्? हाम्रो स्वास्थ्य संस्था हुलाक कार्यालय जस्तै त भएको छैन?
• लगानीको प्रतिफल: ती आधारभूत तहका स्वास्थ्य संस्थाहरूमा राज्यले गरेको लगानीको वास्तविक प्रतिफल र प्रभाव कस्तो छ (बर्थिङ सेन्टर समेत)?
सिंहदरबार र ठूला अस्पतालको चमकदमकभन्दा बाहिर निस्किएर हेर्ने हो भने मात्र देशको वास्तविक स्वास्थ्य अवस्था छर्लङ्ग हुन्छ। तसर्थ, यहाँको वृहत् दृष्टिकोण र पदको गरिमालाई उपयोग गर्दै यी ओझेलमा परेका आधारभूत स्वास्थ्य संस्थाहरूको अनुगमन र पुनर्संरचनामा तत्काल कदम चाल्न अनुरोध गर्दछु।
भवदीय,
विभु कुमार झा
वरिष्ठ जनस्वास्थ्य अधिकृत
जनस्वास्थ्य कार्यालय रामेछाप