चिकित्सकहरूको हकहित संरक्षणका लागि स्थापना भएको ७६ वर्ष पुरानो संस्थाले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको, युवा चिकित्सकका वास्तविक समस्या प्रभावकारी रूपमा उठान गर्न नसकेको र उठाएका मुद्दामा पनि परिणाममुखी पहल कमजोर भएको गुनासो धेरै युवामा देखिन्छ।
देशभर कार्यरत युवा चिकित्सकहरूका अनुभव फरक–फरक भएपनि उनीहरूका साझा चिन्ता भने उस्तै छन्। इन्टर्नसिपदेखि रेजिडेन्सीसम्मको कठिन यात्रा, सीमित अवसर, कम पारिश्रमिक, असुरक्षित कार्यस्थल, अत्यधिक कामको चाप, मानसिक तनाव, विदेश पलायन, र नीति निर्माण तहमा आफ्ना आवाज नपुगेको महशुस उनीहरुलाई भएको छ। उनीहरूले नेपाल चिकित्सक संघलाई केवल औपचारिक संस्था होइन, पेशागत जीवनको सुरुवाती चरणदेखि साथ दिने अभिभावक संस्थाका रूपमा हेर्न चाहेका छन्।
युवा चिकित्सकहरूका अनुसार अबको नेपाल चिकित्सक संघले मेडिकल अफिसरदेखि विशेषज्ञ चिकित्सकसम्म सबैलाई समेट्ने साझा मञ्च बन्नुपर्छ। संघले शहर केन्द्रित गतिविधिभन्दा बाहिर निस्केर दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकका समस्या सुन्ने, नियमित संवाद गर्ने, वैज्ञानिक कार्यसमय, उचित पारिश्रमिक, सुरक्षाको प्रत्याभूति र चिकित्सा शिक्षामा सुधारका लागि स्पष्ट एजेन्डासहित अगाडि बढ्नुपर्ने उनीहरूको अपेक्षा छ।
नयाँ नेतृत्वसँग उनीहरूको मुख्य आग्रह एउटै देखिन्छ- चिकित्सकका समस्या केवल विज्ञप्तिमा सीमित नरहोस्, समाधानका लागि परिणाम देखिने गरी काम गरोस्। युवा चिकित्सकहरू भन्छन्, 'यदि नेपाल चिकित्सक संघले समयसापेक्ष सुधार, समावेशी नेतृत्व र बलियो पैरवी गर्न सक्यो भने मात्रै संस्थाप्रति युवापुस्ताको भरोसा पुनः स्थापित हुन सक्छ।'

डा. सुमन आचार्य
चिकित्सकहरूको हकहितका लागि स्थापना भएको ७६ वर्ष पुरानो संस्था नेपाल चिकित्सक संघले युवा चिकित्सकहरूको चाहनाअनुसार काम गर्न नसकेको कुरामा केही सत्यता छ।
नेपालको चिकित्सा शिक्षामा खासै सुधार आउन सकेको छैन। यसको आवाज उठाउनुपर्ने संस्था नेपाल चिकित्सक संघ हो। तर, त्यसलाई बुलन्द बनाउन नसकेको अवस्था छ। यो समस्या स्वास्थ्य सेवा र शिक्षा दुवै क्षेत्रमा भए पनि त्यसलाई मजबुत बनाउन सकिएको छैन।
स्वास्थ्य शिक्षा लिने क्रममा सुरुदेखि नै विद्यार्थीले अनगिन्ती समस्या भोगिरहेका छन्, जसलाई नेपाल चिकित्सक संघले उठान गर्न जरुरी छ। आजसम्म नेपाल चिकित्सक संघले मेडिकल अध्ययन गर्ने विद्यार्थीहरूको विषय प्रभावकारी रूपमा उठाएको देखिँदैन।
इन्टर्नसिपदेखि स्थायित्वसम्मका समस्या मेडिकल विद्यार्थीहरूले भोगिरहेका छन्। चिकित्सकहरूको दरबन्दी थप्ने विषय बेला–बेलामा उठेपनि त्यसको सम्बोधन गराउन नेपाल चिकित्सक संघ सफल हुन सकेको छैन। स्वास्थ्यकर्मीहरूको सेवा–सुविधा तथा काम गर्ने अवधि अवैज्ञानिक रहेको विषय पनि समाधान हुन सकेको छैन।
युवा चिकित्सकहरूले इन्टर्नसिप सुरु गरेदेखि नै सामना गर्ने समस्याहरूलाई नेपाल चिकित्सक संघले बलियो रूपमा उठाउन जरुरी छ। हालसम्म संघले उठाएका विषय कार्यान्वयन गराउन दृढता देखाउन नसकेको तथा प्रभावकारी सञ्चारसमेत नभएको अवस्था छ।
एमबिबिएसमा कायम रहेको सिटअनुसार एमडीमा सिट नहुँदा युवा चिकित्सक विदेश पलायन हुने तथा मानसिक तनावमा पर्ने अवस्था छ। एमडी सिट बढाउन नेपाल चिकित्सक संघले समन्वयकारी भूमिका खेलोस् भन्ने अपेक्षा युवा चिकित्सकहरूको छ।
रेजिडेन्ट चिकित्सकलाई ३६ घण्टासम्म लामो ड्युटी गराइन्छ, जसका कारण उनीहरू मानसिक तनावमा पुग्ने अवस्था छ। यस विषयलाई नेपाल चिकित्सक संघले बुलन्द रूपमा उठाउन आवश्यक छ।
नयाँ नेतृत्व कसरी अगाडि बढ्नुपर्छ ?
नेपाल चिकित्सक संघका पदाधिकारीहरूले नियमित रूपमा युवा चिकित्सकहरूसँग उनीहरूका समस्याबारे संवाद गरिरहन आवश्यक छ।
युवा चिकित्सकहरूले इन्टर्नसिप, रेजिडेन्सी, कामको अवसर, पेशागत विकासको अभावलगायतका समस्या भोगिरहेका छन्। नीतिगत रूपमा समाधान गर्नुपर्ने समस्याको सूची बनाएर नेपाल चिकित्सक संघ अगाडि बढ्नुपर्छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको शिकार धेरैजसो युवा चिकित्सक नै हुने गरेका छन्। समस्याको पहिचानदेखि समाधानसम्मका काम नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले गर्नुपर्छ।
तत्कालका प्राथमिकता
मानिसले वर्तमान अवस्थामा सामना गरिरहेको समस्याका आधारमा समाधानको प्राथमिकता निर्धारण गर्ने गर्दछ।
नेपाल चिकित्सक संघले चिकित्सकको अध्ययन अवधि घटाउन समन्वय गर्नुपर्छ भन्ने मलाई लाग्छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी बढाउन संघले तत्काल पहल गर्नुपर्छ। दरबन्दी बढेमा युवा चिकित्सकहरूको मनोबल उच्च हुन्छ।
रेजिडेन्सी सिट संख्या बढाउने, सुरक्षाको प्रत्याभूति गर्ने, आर्थिक सुरक्षा सुनिश्चित गर्ने तथा अध्ययन अवधि घटाउने विषयलाई नेपाल चिकित्सक संघले तत्काल प्राथमिकतामा राखेर अगाडि बढ्न सके धेरै हदसम्म युवा चिकित्सकका समस्या समाधान हुन सक्छन् भन्ने मलाई लाग्छ।

डा. जितेन्द्र भण्डारी
नेपाल चिकित्सक संघले युवा चिकित्सकका लागि केही काम गरे पनि देखिने गरी गर्न सकेको छैन। विगतका चिकित्सकहरूले पेशागत जीवनमा गरेका अनुभव तथा अभ्यास पछिल्लो समय प्रविधिमैत्री र एआईसँग जोडिएका चिकित्सा अभ्यासभन्दा केही फरक छन्।
पछिल्लो पुस्ताका चिकित्सकहरू संसारसँग विभिन्न माध्यमबाट जोडिएका छन्। चिकित्सा क्षेत्रमा पुरानै शैलीमा काम भइरहँदा नेपाल चिकित्सक संघले समयसापेक्ष परिवर्तन ल्याउन नसकेको हो कि भन्ने आभास हुनु स्वाभाविक हो।
विगतमा चिकित्सकलाई भगवान्को रूपमा हेर्ने परम्परा अहिले परिवर्तन भएको छ।
नयाँ नेतृत्वले के गर्नुपर्छ ?
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले संस्थासँग सबै युवा चिकित्सकलाई जोड्न आवश्यक छ। यसअघि चिकित्सक संघले पेशागत सुरक्षाका लागि उठाएका कतिपय विषयमा फलोअप नगरेको अवस्था छ। नयाँ नेतृत्वले त्यो सुधार गर्नुपर्छ।
चिकित्सकहरूले हकअधिकारका लागि आन्दोलन गरिरहेका स्थानमा नेपाल चिकित्सक संघले समर्थन जनाउँदै सक्रियता बढाउन आवश्यक छ। सेवाग्राही र स्वास्थ्यकर्मीबीच हुन सक्ने गलत बुझाइ कम गर्न नयाँ नेतृत्वले पर्याप्त काम गर्नुपर्छ।
सामाजिक सञ्जालमा नेपाल चिकित्सक संघप्रति नकारात्मक धारणा सार्वजनिक भइरहेका छन्। ती धारणा सकारात्मक बनाउन नयाँ नेतृत्वले काम गर्नुपर्ने हुन्छ।
तत्काल गर्नुपर्ने काम
विभिन्न प्रकारका सम्मेलन आयोजना गरेर विभिन्न स्थानका चिकित्सकलाई जोड्ने काम नयाँ नेतृत्वले गर्न अत्यावश्यक छ। यसले नेपाल चिकित्सक संघको कार्यलाई प्रभावकारी बनाउन सक्छ।
स्वास्थ्यकर्मीमैत्री नीति ल्याउन लेख–रचना प्रकाशित गर्ने, आम जनतामा चिकित्सकप्रतिको धारणा परिवर्तन गर्न भूमिका खेल्ने तथा चिकित्सकको विशिष्टीकृत ज्ञानको प्रयोग गर्ने जस्ता कार्यमा नेपाल चिकित्सक संघले सक्रिय भूमिका खेल्नुपर्छ।
ग्रामीण क्षेत्रमा चिकित्सकहरूले विशेषज्ञता बाहिर गएर बिरामीको उपचार गर्ने प्रचलन हटाउन नेपाल चिकित्सक संघले भूमिका खेल्नुपर्ने हुन्छ।

डा. रामजी राम
नेपाल चिकित्सक संघ सम्पूर्ण चिकित्सकहरूको हकहितमा काम गर्न स्थापना भएको संस्था हो।
यो संस्था चिकित्सकका लागि काम भएको छ वा छैन भन्ने विषयमा निगरानी गर्ने निकाय पनि हो। त्यस्तै, कतिपय अवस्थामा चिकित्सकहरूले चिकित्सकीय मर्यादाविपरीत गरेका कामहरूको निगरानी गर्न पनि आवश्यक हुन्छ।
केही चिकित्सकहरूको गलत आचरणले सम्पूर्ण चिकित्सकप्रति नकारात्मक धारणा बन्न सक्छ। त्यसकारण त्यस्ता गतिविधिको निगरानी नेपाल चिकित्सक संघले गर्न आवश्यक छ। चिकित्सकमाथि दुर्व्यवहार हुँदा नेपाल चिकित्सक संघ भएको आभास दिलाउन सके मात्रै यसको औचित्य रहन्छ।
सबै चिकित्सकलाई समेट्न नेपाल चिकित्सक संघमा विभिन्न उमेर समूह र तहका चिकित्सक समावेश हुन आवश्यक छ। कतिपय सक्रियता देखाउनुपर्ने ठाउँमा पनि संघले प्रभावकारी काम गर्न सकेको छैन। यस्तो अवस्थाको अन्त्यका लागि नेपाल चिकित्सक संघमा युवा चिकित्सकहरूको आवश्यकता छ।
अधिकांश युवा चिकित्सकले पूर्वाग्रहविहीन भएर काम गर्न सक्छन्। युवावर्ग सकेसम्म छिटो परिवर्तन चाहन्छ। जेन्जी आन्दोलनपछि युवा चिकित्सकमा झन् जागरुकता बढेको छ। काम गर्ने तदारुकता युवामा बढी हुने भएकाले नेपाल चिकित्सक संघमा युवालाई बढी समेटिनुपर्छ। तर, अझै पर्याप्त मात्रामा युवा संघमा समावेश हुन सकेका छैनन्।
नयाँ नेतृत्वले कसरी समेट्नुपर्छ युवालाई ?
नेपाल चिकित्सक संघका पदाधिकारीहरू युवा चिकित्सकले भोगिरहेका समस्याबारे जानकार नभएका होइनन्। त्यसकारण थाहा भएकै समस्या समाधानतर्फ लाग्नु नै नयाँ नेतृत्वलाई मेरो पहिलो सुझाव हो।
जानकारी नभएका समस्याबारे बुझ्न युवा चिकित्सकहरूसँग नियमित संवाद गर्न जरुरी छ। समस्या समाधानका लागि निश्चित समयसीमा तोकेर काम गर्न आवश्यक छ।
संघले आफैं गर्न सक्ने र अन्य व्यक्ति तथा समुदायको सहयोगमा मात्रै गर्न सक्ने कामहरूको सूची बनाएर अगाडि बढ्नुपर्छ। भइरहेको कामबारे चिकित्सकलाई जानकारी दिनु पनि उत्तिकै आवश्यक छ। कतिपय काम तत्काल गर्नुपर्ने अवस्था भए पनि कानुनले रोक लगाएको छ भने त्यस्ता कानुन संशोधन गर्न पहल गर्नुपर्छ।
त्यस्तै, युवा चिकित्सकका लागि नेपाल चिकित्सक संघले गर्दै आएका तथा आगामी दिनमा गर्न सक्ने कामबारे पनि स्पष्ट जानकारी गराउन आवश्यक छ।

डा. अनुराधा प्रधान
नेपाल चिकित्सक संघले युवा चिकित्सकको चाहनाअनुसार काम गर्न नसकेको भन्ने आरोपमा केही सत्यता छ। नेपाल चिकित्सक संघ भएर चिकित्सकहरूको हकहितमा त्यस्तो उपलब्धिमूलक काम भएको आभास हामीजस्ता युवा चिकित्सकले गर्न पाएका छैनौं।
संघले गरेका कामले हाम्रो पेशागत जीवनमा खासै सकारात्मक प्रभाव पार्न सकेको छैन। नेतृत्वले युवा चिकित्सकलाई केन्द्रित गरेर गर्न सक्ने धेरै काम भए पनि प्रभावकारी रूपमा गर्न सकेको देखिँदैन।
पछिल्लो समय कार्यस्थलमा चिकित्सक असुरक्षित बन्दै गएका छन्। उनीहरूमाथि हातपात तथा आक्रमणका घटना सञ्चारमाध्यममा निरन्तर आउने गरेका छन्। यस्ता घटनामा नेपाल चिकित्सक संघले कडा रूपमा आवाज उठाई पीडित चिकित्सकलाई न्याय दिलाउन सकेको छैन।
चिकित्सकमाथि आक्रमण तथा दुर्व्यवहार भएपछि नेपाल चिकित्सक संघका प्रतिनिधि पीडितलाई थप पीडा हुने गरी मिलेमतो गरेर फर्किने गरेको गुनासो पनि सुनिन्छ। संघको यस्तो व्यवहारले चिकित्सकको मनोबल घटाउनुका साथै असहाय महसुस गराउँछ।
चिकित्सकहरू सहरमा मात्रै होइन, दुर्गम क्षेत्रमा पनि जनताको सेवामा छन्। तर, दुर्गममा कार्यरत चिकित्सकको अवस्था बुझ्नसमेत संघले चासो नदिएको जस्तो लाग्छ।
चिकित्सकहरूले अध्ययनमा ठूलो लगानी गरे पनि अत्यन्त न्यून तलब–भत्तामा काम गरिरहेका छन्। विशेषज्ञ नवौं तहका चिकित्सकको सरकारी तलब करिब ५६ हजार रुपैयाँ हाराहारीमा छ, जुन अत्यन्त न्यून हो।
यदि चिकित्सकले एउटा मात्रै संस्थामा काम गर्ने हो भने त्यसबाट जीवन निर्वाह कसरी सम्भव हुन्छ ? यो विषयमा नेपाल चिकित्सक संघले नीतिनिर्माण तहसम्म वकालत गर्न आवश्यक छ।
एकभन्दा बढी स्थानमा काम गर्नुपर्ने बाध्यताले चिकित्सकहरू अत्यधिक मानसिक चापमा पुगिरहेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक दिलाउन नेपाल चिकित्सक संघले प्रभावकारी भूमिका खेल्नुपर्छ।
धेरै मेडिकल कलेजमा मेडिकल अफिसर र रेजिडेन्ट चिकित्सकलाई सस्तो श्रमशक्तिका रूपमा प्रयोग गरिएको छ। अत्यन्त न्यून पारिश्रमिक र अत्यधिक कामको चापका कारण उनीहरू मानसिक तनावमा पुगिरहेका छन्। यस्तो श्रम शोषणको अवस्थालाई नयाँ नेतृत्वले अन्त्य गर्न सक्नुपर्छ।
नयाँ नेतृत्वले प्राथमिकतामा राख्नुपर्ने विषय
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले चिकित्सकमाथि हुने दुर्व्यवहार तथा हातपातका घटनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।
सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा कार्यरत चिकित्सकका लागि पनि संघले प्रभावकारी भूमिका खेल्नुपर्छ।
नेपाल चिकित्सक संघले मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सक तथा विशेषज्ञ चिकित्सक सबैको आवाज बुलन्द पार्दै नीतिनिर्माण तहसम्म पुर्याउने गरी काम गर्नुपर्छ।

डा. मनिष थापा
नेपाल चिकित्सक संघले युवा चिकित्सकलाई केही हदसम्म समेटे पनि जति हुनुपर्ने हो, त्यो पर्याप्त छैन।
युवा चिकित्सकका आवाज सुन्ने र उनीहरूको हकहितमा काम गर्न ‘जुनियर डक्टर्स कमिटी’ गठन गरिएको छ। यो युवा चिकित्सकका धारणा राख्ने एउटा प्लेटफर्म हो। त्यस्तै, युवा चिकित्सक तथा चिकित्सा क्षेत्रमा आउन चाहने नवआगन्तुकका लागि जेएनएनएको करिकुलम तथा स्वेच्छिक सहभागिताको अवसर पनि नेपाल चिकित्सक संघले दिएको छ। यसले समय–समयमा जर्नलसमेत प्रकाशित गर्ने गरेको छ।
युवा चिकित्सकका लागि भएका केही प्रयास प्रशंसायोग्य भए पनि बेला–बेलामा आम युवा चिकित्सकलाई समेट्न नसकेको आरोप लाग्ने गरेको छ। त्यसकारण भर्खरै निर्वाचित नयाँ नेतृत्वले युवा चिकित्सकको असन्तुष्टि सम्बोधन गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
नयाँ नेतृत्वले प्राथमिकता दिनुपर्ने विषय
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी बढाउने विषयलाई प्राथमिकतामा राखेर पहल गर्नुपर्छ। यसले युवा चिकित्सक विदेशिने क्रम केही हदसम्म रोक्न सक्छ।
रेजिडेन्ट चिकित्सक अत्यधिक कामको चापमा छन्। त्यसकारण उनीहरूको काम गर्ने अवधि वैज्ञानिक बनाउन नेपाल चिकित्सक संघले पहल गर्न आवश्यक छ।
पछिल्लो समय युवा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा हातपातका घटना बढिरहेका छन्। यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गराउन नेपाल चिकित्सक संघको ध्यान जान आवश्यक छ।

डा. महेन्द्र पाण्डे
नेपाल चिकित्सक संघमा उम्मेदवारी दिने तथा युवा चिकित्सकलाई समेट्ने विषयमा विभेद रहेको पाइन्छ। यो विभेद हटाउन सके युवा चिकित्सकको आवाज अझ प्रभावकारी रूपमा आउन सक्छ।
नेपाल चिकित्सक संघलाई मेडिकल अफिसरदेखि विशेषज्ञ चिकित्सकसम्मको साझा संस्था बनाउन आवश्यक छ। मेडिकल अफिसर र रेजिडेन्ट चिकित्सक हुनु भनेको पेशागत जीवनको संवेदनशील चरण हो। यही बेला नेपाल चिकित्सक संघजस्तो संस्थाको साथ र समर्थन आवश्यक पर्छ।
नेपाल चिकित्सक संघले विभिन्न सम्मेलन आयोजना गरेर मेडिकल अफिसर र रेजिडेन्ट चिकित्सकलाई आफ्ना कुरा राख्ने प्लेटफर्म उपलब्ध गराउनुपर्छ। अझै युवा चिकित्सकका लागि संघको संरचना खुकुलो बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
नयाँ नेतृत्वलाई सुझाव
चिकित्सकहरूले ठूलो आशा र अपेक्षासहित डा. बद्री रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेका छन्। आम चिकित्सकले गरेको आशा र विश्वास निराशामा बदलिन नपरोस् भन्ने मेरो कामना छ।
यद्यपि, म जस्ता धेरै युवा चिकित्सकमा निराशा छ। धेरै युवा चिकित्सक निराश हुँदै विदेश गइरहेका छन्, अझै धेरै जाने तयारीमा छन्। यी समस्याको समाधानका लागि नयाँ नेतृत्वले काम गर्नुपर्छ।
युवाको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्याउन आवश्यक छ। युवा चिकित्सकले पेशागत जीवनमा भोग्ने समस्याको सम्बोधन हुने खालका नीति निर्माणमा नेपाल चिकित्सक संघले सहयोग गर्नुपर्छ।
मेडिकल अफिसर तथा रेजिडेन्ट चिकित्सकजस्ता पेशागत जीवनको सुरुवाती चरणमा रहेका चिकित्सकको समस्या सुन्ने निकायका रूपमा नेपाल चिकित्सक संघलाई अगाडि बढाउनुपर्छ।
नेपाल चिकित्सक संघमा युवा चिकित्सकको सदस्यता अत्यन्त कम छ। यसलाई बढाउन नयाँ नेतृत्वले विशेष पहल गर्नुपर्छ।
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कार्यस्थलमा के गर्ने र के नगर्ने भन्ने स्पष्ट नियम बनाएर त्यसको कार्यान्वयन गराउन नेपाल चिकित्सक संघले नीति निर्माण तथा समन्वय गर्न सक्छ।
स्वास्थ्यकर्मीलाई सेवाग्राहीसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा अभिमुखीकरण दिनु पनि संघको जिम्मेवारी हुन सक्छ।
नेपाल चिकित्सक संघका पदाधिकारीले युवा चिकित्सकप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्छ। कार्यस्थलमा चिकित्सकलाई थर्काउने, धम्काउने तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई कडा कारबाही गराउन संघले आवश्यक सहयोग गर्नुपर्छ।
चिकित्सकलाई सामान्य जीवन निर्वाह गर्न पुग्ने तलब–भत्ता सुनिश्चित गराउन पनि नेपाल चिकित्सक संघले भूमिका खेल्नुपर्छ। त्यस्तै, चिकित्सकको काम गर्ने समय वैज्ञानिक बनाई उनीहरूलाई मानसिक तनावमा पुग्नबाट जोगाउने वातावरण बनाउन आवश्यक छ।