काठमाडौं - चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरेर पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र हालसम्म कुनै नयाँ जटिलता नदेखिएको अस्पतालद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका अनुसार असार २३ गते न्युरो सर्जन डा. बसन्त पन्त, डा. सुदन ढकाल, डा. नवीन पन्थी र डा. शम्भुबहादुर कार्कीको नेतृत्वमा एनेस्थेसिया विभाग तथा नर्सिङ विभागकी आइषा रेग्मीसहितको विशेषज्ञ टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार शल्यक्रियाका क्रममा मस्तिष्कमा रहेको ट्युमर पूर्ण रूपमा निकाल्न सफलता मिलेको छ। शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सन्तोषजनक र स्थिर रहेको तथा कुनै नयाँ न्युरोलोजिकल समस्या नदेखिएको अस्पतालले जनाएको छ।
उनलाई आगामी केही दिन अस्पतालमै राखेर विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार गरिनेछ। ट्युमरको प्रकृति (बायोप्सी) को अन्तिम प्रतिवेदन र त्यसका आधारमा आवश्यक पर्ने थप उपचारबारे परिवारलाई क्रमिक रूपमा जानकारी गराइने अस्पतालले उल्लेख गरेको छ।
अस्पताल प्रशासनले आफ्नो स्वास्थ्य उपचारका लागि स्वदेशकै स्वास्थ्य सेवामाथि विश्वास गरेकोमा अभिनेत्री दीपाश्री निरौला तथा उनको परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।