नेपालमा हाल देखिएको गरिबी, मानसिक समस्यासम्बन्धी शिक्षाको कमी, अभाव, नैराश्य, तनाव, विकृति–विसङ्गति एवं अनेकौँ समाधान गर्न नसकिने इच्छाका कारण दिनानुदिन मानिसमा मानसिक समस्या बढिरहेको छ। व्यक्ति, परिवार, समाज, देश हुँदै विश्वमै मानसिक समस्या एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा अघि बढिरहेको अवस्था छ।
जसलाई निराकरण गर्न वा घटाउनका लागि एक्लैको प्रयासबाट असम्भव जस्तै हुन जान्छ। मानसिक समस्या घटाउन घर, परिवार, समाज, विद्यालय, विभिन्न सङ्घ–संस्था, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले एकीकृत रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर मानिसमा आउने मनोवैज्ञानिक असरका बारेमा परामर्श एवं स्वास्थ्य शिक्षा टोल, समुदाय, परिवार, विद्यालयका साथै विभिन्न समूहहरूमा प्रचार–प्रसार गर्न सकेको खण्डमा मानसिक समस्या घटाउन सकिनेछ।
यसरी हेर्दा नेपालको सन्दर्भमा विशेष गरी मानसिक समस्यामा पर्नुको कारण सुरुवाती अवस्थामै व्यवस्थापन गर्न ढिलाइ भएकाले गर्दा मानवीय क्षति हुने गरेको पाइन्छ। मानसिक समस्याको व्यवस्थापन गर्ने दायित्व परिवार, समुदाय, स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकार सबैले आ–आफ्नो तर्फबाट लिनुपर्छ। मानसिक समस्यासम्बन्धी जनचेतनामूलक जानकारी सबैले पाउनुपर्छ, साथै मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सबै तहमा सञ्चालन गरिनुपर्छ। यसो गर्दा मानिसमा हुने सामान्य प्रकारका मानसिक समस्यालाई आफैँ समाधान गर्ने मनोबलको विकास भई जटिलता बढ्नबाट रोक्छ।
वास्तवमा अन्तर्निहित (रुट) कारण थाहा नहुने हुँदा कुनै व्यक्तिले आफैँ अप्रिय घटना घटाएमा व्यक्तिलाई नै दोष दिनु सबैको बुझाइको कमी मात्र हो। किनकि व्यक्तिमा देखिने सुरुवाती समस्या र भावनात्मक प्रतिक्रिया नबुझ्नु हामी सबैले सोच्नुपर्ने विषय बनेको छ।
सामान्यभन्दा सामान्य किसिमको मानसिक समस्या समाधान गर्ने शिक्षा दिन सके आज दैनिक हुने १८–२० जनाको मृत्यु हुनबाट जोगाउन सकिन्छ।
त्यसैले सबै जुटौँ र मानसिक समस्याबाट हुने मृत्युदर घटाऔँ।
-(टीका राम खड्का जनस्वास्थ्यकर्मी तथा मनोपरामर्शकर्ता हुन्।)