नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा दशकौँदेखि एउटा गम्भीर प्रश्न उठ्दै आएको छः “के स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनको मूल्याङ्कन वास्तवमै वैज्ञानिक छ?” स्वास्थ्य सेवा विभागदेखि दुर्गमका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रसम्म कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मापन गर्ने परिपाटीलाई नजिकबाट नियाल्दा, यहाँ मूल्याङ्कनका नाममा केवल कागजी प्रक्रिया वा गुणस्तर सुधार सामाग्रीहरु (जस्तै न्यूनतम सेवा मापदण्ड, स्ट्याण्डर्ड ट्रिटमेण्ट प्रोटोकल) को प्रयोगलाई नै कार्यसम्पादन सूचक मान्ने एउटा ठूलो भ्रम व्याप्त छ। तर, वास्तविकता के हो भने, यी उपकरणहरू सेवाको गुणस्तर मापन गर्ने संयन्त्र मात्र हुन्। तिनले व्यक्तिको कार्यक्षमता वा तोकिएको जिम्मेवारीको निर्वाहलाई पूर्ण रूपमा चित्रण गर्न सक्दैनन्।
यस रिक्ततालाई पूर्ति गर्दै अब नेपालको स्वास्थ्य क्षेत्रमा तथ्यमा आधारित र कृत्रिम बुद्धिमत्ता निर्देशित वैज्ञानिक कार्यसम्पादन मूल्याङ्कनको अवधारणामा अग्रसर हुन जरुरी देखिएको छ।
किन अहिलेको प्रणाली चुक्दै छ?
स्वास्थ्यकर्मीहरूका लागि उनीहरूको कार्यस्थान अनुसार स्पष्ट कार्यविवरण नहुनु नै हाम्रो स्वास्थ्य प्रणालीको सबैभन्दा ठूलो कमजोरी हो। एक कर्मचारीले उसका लागि तोकिएको कार्यस्थानमा कुन जिम्मेवारी पूरा गर्नुपर्छ र त्यसको मूल्याङ्कन कसरी गरिन्छ भन्ने स्पष्टता नहुँदा कार्यसम्पादनको स्तर खस्कँदै गएको छ। अहिलेको मूल्याङ्कन प्रणाली व्यक्तिगत दक्षता भन्दा पनि पहुँच वा 'हचुवाको भर' मा हुने गरेको गुनासो बारम्बार सुनिन्छ।
कृत्रिम बुद्धिमत्ता आधारित मोडल: अबको बाटो
यसको समाधानका लागि कृत्रिम बुद्धिमत्ता आधारित ट्रयाङ्गुलेसन विधि अपनाउन सकिन्छ। यस विधि अन्तर्गत कर्मचारीको कार्यसम्पादनका महत्त्वपूर्ण आयामहरूलाई ट्रयाङ्गुलेट गरिनेछ :
डिजिटल लग: स्वास्थ्यकर्मीले कार्यस्थलमा गर्ने कामको स्वःमूल्याङ्कन गरी मोबाइल एप्लिकेशनमा आफूले गरेका कार्यहरुको विवरणलाई प्रविष्ट गर्नुपर्नेछ। भविष्यमा यसरी कर्मचारी तहबाट प्रविष्ठ भएका कार्यविवरणहरुलाई कार्यस्थल तथा कार्यसम्पादन सूचकका रुपमा ड्रप-डाउन बक्सहरुमा चयन गर्न मिल्ने गरी संयोजन गर्दै जान सकिनेछ। कार्यस्थान विशिष्ट जिम्मेवारीहरुको निर्वाहका क्रममा कर्मचारीले सामना गरेका सहज एवं असहज कार्य सम्पादनहरुको प्रविष्टिले मुख्य कम्प्युटर (सर्भर) मा कार्यस्थल विशिष्ठ कार्यसम्पादन सूचकहरु निर्माणका लागि प्राथमिक-डाटाको सङ्कलन हुँदै जानेछन्। अन्तर्राष्ट्रिय स्तरका प्रामाणिक अभ्यास तथा स्थानीय श्रोत साधनहरुको उपलब्धताको विश्लेषणका आधारमा यिनै जानकारीहरुलाई कृत्रिम बुद्धिमत्ता एल्गोरिदमले कार्यसम्पादन सूचकहरुको सूची तयार पार्दै जानेछ।
सुपरभाइजर भ्यालिडेसन: यस प्रणालीको सफल कार्यान्वयनका लागि सुपरभाइजरहरुले मातहतका कर्मचारीहरुको कार्यसम्पादनका लागि जिम्मेवार र जवाफदेही हुनु आवश्यक छ। मातहतका कर्मचारीहरुले सम्पादन गर्ने जिम्मेवारीहरुका सम्बन्धमा सुपरभाइजरहरुमा विस्तृत ज्ञान हुनुपर्नेछ। त्यस्तै, कर्मचारीहरुले सम्पादन गर्ने सीपको मूल्यांकनका लागि सुपरभाइजर दक्ष हुनु पनि उत्तिकै आवश्यक हुनेछ। कर्मचारीहरुले प्रविष्ट गरेका डिजिटल लग अभिलेखमा सुपरभाइजरहरुको पहूँच सुनिश्चित हुने गरी एउटा अपरेटर लेभल राख्न सकिनेछ।
मातहतका हरेक कर्मचारीहरुको क्षमतामा देखिएका समस्याहरुका सन्दर्भमा सम्बन्धित सुपरभाइजरहरुले तहगत रुपमा क्रमैसँग समस्या समाधानका लागि आफ्ना तर्फबाट उपलब्ध गरिएको सहयोगलाई कमेण्टका रुपमा प्रविष्ट गर्दै जानुपर्नेछ। साथै, कर्मचारीहरुले प्रविष्ट गरेका सहज कार्यसम्पादनहरुलाई डिजिटल्ली प्रमाणित गर्दै माथिल्लो अपरेटर लेभलमा प्रतिवेदन गर्दै जानुपर्नेछ। यसरी मातहतका कर्मचारीहरुबाट सम्पादित सहज जिम्मेवारीहरुलाई सुपरभाइजरका तहबाट हुने डिजिटल प्रमाणिकरण र कर्मचारीहरुले सामना गरेका जिम्मेवारी सम्बन्धि समस्याहरुका लागि सुपरभाइजरहरुबाट प्रविष्ट भएका कमेण्टहरुलाई सर्भरले सङ्कलन गर्दै जाने र भविष्यका लागि कार्य सम्पादन सूचकहरु निर्माणमा प्रयोग गर्न सकिने आधार बन्दै जानेछ। यसले कर्मचारीहरुको कार्यस्थल एवं क्याडर विशिष्ट कार्यसम्पादनका मापदण्ड निर्माण र ती मापदण्डहरुका लागि मूल्याङ्कन सूचकहरुको स्वःचालित प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ।
यस प्रणालीलाई कुनै पनि कार्यस्थानमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा गरिरहेको कार्यप्रदर्शन ड्यासबोर्डको माध्यमबाट रियल टाईम विश्लेषण गरी हेर्न मिल्ने गरी डिजाइन गर्न सकिनेछ।
डाइनामिक अपडेट र अटोमेटिक नोटिफिकेसन
अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका अध्ययन अनुसन्धानहरुका कारण स्वास्थ्य क्षेत्रले निरन्तर रुपमा अध्यावधिक सूचना, अभ्यास तथा सिद्धान्तहरुको बदलाव सामना गरिरहेको हुन्छ। तसर्थ, कार्यसम्पादन मूल्याङ्कनको यस प्रणालीलाई रियल टाइम मोडुलेसनका लागि योग्य बनाउनु अत्यन्त जरुरी हुन्छ। कृत्रिम बुद्धिमत्ता एल्गोरिदमबाट कुनै पनि स्वास्थ्यकर्मीको कार्यसम्पादनमा कमजोरी भएको विश्लेषण हुन गएमा सोको कारण र सम्भावित निवारण वा क्षमता अभिबृद्धिका पहलहरु समेत प्रणालीले नै सिफारिस गर्न सक्नुपर्दछ।
विश्व जगतमा भइरहने स्वास्थ्य सम्बन्धि अद्यावधिक प्रोटोकलहरुमा कर्मचारीहरु दक्ष नहुन सक्छन्। यस्ता परिस्थितिहरुमा यस अघि झैं महँगा तालिम तथा गोष्ठीहरु आयोजना गर्ने परिपाटीलाई यो प्रणालीले निरुत्साहित गर्दै सम्बन्धित कर्मचारीलाई रियल टाइम नोटिफिकेशन पठाउने एवं रिमोट एसिस्टेन्स वा इन-पर्सन डिजिटल सहजिकरणको सुविधा प्रदान गर्न समर्थ हुनुपर्दछ। सघन र अति आवश्यक सिपहरुका सन्दर्भमा मात्र भौतिक रुपमा सहभागी गराई दक्षता अभिबृद्धिका क्रियाकलापहरु सञ्चालन गर्ने परिपाटीको विकास हुँदै जानुपर्छ।
वैज्ञानिक र अनुमानयोग्य स्वास्थ्य प्रणाली
नेपालको स्वास्थ्य क्षेत्रमा न्यायसंगत, अनुमानयोग्य र तथ्यमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली विकास गर्नु अपरिहार्य छ। कार्यसम्पादन मूल्याङ्कन कर्मचारीको वृत्ति विकासमा समेत जोडिने भएकाले कार्यसम्पादनको न्यायसंगत मूल्याङ्कनको अनिवार्यतालाई महत्व दिइनु जरुरि छ।
वैज्ञानिक मूल्याङ्कन प्रणालीको विकासले स्वास्थ्यकर्मीहरूमा आफ्नो जिम्मेवारी प्रति स्पष्टता प्रदान गर्दछ भने सम्बन्धित सुपरभाइजरहरुलाई समेत मातहतका कर्मचारीहरुको अपेक्षित गुणस्तरीय कार्यसम्पादनको मूल्याङ्कन र आवश्यक सुधारका लागि सहयोग उपलब्ध गराउन तथ्यगत आधारहरु निर्माण हुनेछन्। यस प्रणालीले क्षमता अभिबृद्धिको प्रक्रियालाई समेत आवश्यकतामा आधारित, निष्पक्ष र अनुमानयोग्य बनाउन सक्छ।