माननीय मन्त्रीज्यू,
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,
सिंहदरबार, काठमाडौँ।
विषय: अस्पताल फार्मेसी सेवा सुदृढीकरण तथा औषधि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी प्राविधिक सुझाव।
माननीय मन्त्रीज्यू,
सर्वप्रथम हजुरलाई हार्दिक नमस्कार!
नेपालको संविधानद्वारा प्रत्याभूत गरिएको 'विचार र अभिव्यक्तिको स्वतन्त्रता' को अधिकारलाई आत्मसात् गर्दै म यो नितान्त व्यावसायिक र प्राविधिक सुझाव यहाँसमक्ष प्रस्तुत गर्न चाहन्छु। नेपालको संविधान (२०७२) को धारा ३५ बमोजिम हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु मौलिक अधिकार हो। यही अधिकार दिलाउनका निम्ति अहोरात्र जनताको सेवामा समर्पित हुनुभएकोमा हजुरप्रति गहिरो सम्मान व्यक्त गर्दछु।
हामी अल्पविकसित तथा मध्यम आय भएका देशका नागरिक हौँ। हामीसँग विकसित देशहरूको जस्तो आधुनिक र सम्पन्न स्वास्थ्य प्रणालीको तत्काल अपेक्षा त छैन, तर हाम्रा न्यूनतम स्रोत-साधनले भ्याएसम्म उपलब्ध संयन्त्रको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भन्ने आम बुझाइ हो। अहिलेसम्म जे-जति उपलब्धिको जग बस्यो, ती सबै सकारात्मक र महत्त्वपूर्ण छन्। अबको मुख्य उद्देश्य भनेको त्यो जगमाथि उभिएर थप सुधार, सुदृढीकरण र आगामी रणनीतिलाई अझ बढी परिणाममुखी बनाउनेतर्फ केन्द्रित हुनु हो।
फर्मास्युटिकल साइन्सेजको विद्यार्थी र फर्मासिस्ट भएको नाताले मैले हाम्रो स्वास्थ्य प्रणाली र आपूर्ति शृङ्खलालाई निकै नजिकबाट नियाल्ने अवसर पाएको छु। विश्वव्यापी मान्यता र जनस्वास्थ्यको संवेदनशीलता अनुसार 'जहाँ औषधि, त्यहाँ फर्मासिस्ट' अनिवार्य हुनुपर्छ। हालै हजुरले प्रस्तुत गर्नुभएको १०० दिनको कार्यविवरण मैले निकै उत्सुकताका साथ अध्ययन गरेँ।
स्वास्थ्य-फार्मेसी सेवा प्रवाहलाई सुदृढ बनाउन हजुरले नीतिगत प्रयास र कार्यान्वयनमा दिनुभएको समयका लागि धन्यवाद दिन चाहन्छु।
हालै मन्त्रालयले 'अस्पताल फार्मेसी' लाई 'सुलभ फार्मेसी' भनी नामकरण गरी कार्यान्वयनमा ल्याएको छ। तर, नाम परिवर्तनभन्दा पनि काम र सेवाको गुणस्तरमा परिवर्तन आउनु आजको आम नागरिकको वास्तविक अपेक्षा हो। अब हजुरले 'अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२'लाई अक्षरशः पालना गराउनेतर्फ कदम चाल्नुहुनेछ भन्ने विश्वास लिएको छु।
संविधानतः अन्तर-सरकारी सम्बन्धको स्वामित्व लिँदै सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल र स्थानीय सरकारद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूका फार्मेसीहरूमा निम्न पक्षहरूको प्रभावकारी कार्यान्वयनका लागि आम फर्मासिस्टहरूको ठूलो आशा र भरोसा रहेको छ।
१. असल फार्मेसी अभ्यास र आपूर्ति शृङ्खला
औषधिको ढुवानीदेखि भण्डारणसम्मको गुणस्तर सुनिश्चितताका लागि सम्पूर्ण चक्रलाई सुदृढ बनाउनु आवश्यक छ। यस अन्तर्गत निम्न प्राविधिक पक्षहरू पर्दछन्: असल औषधि वितरण अभ्यास र फर्मास्युटिकल केयरको पूर्ण पालना, औषधिको वैज्ञानिक छनोट तथा आवश्यक मात्राको सही पूर्वानुमान, पारदर्शी खरिद व्यवस्थापन, असल मौज्दात तथा भण्डारण व्यवस्थापन, असल वितरण र प्रतिवेदन व्यवस्थापन।
२. अनुगमन, अनुसन्धान र सिकाइ
फार्मेसी सेवाको नियमित अनुगमन, मूल्याङ्कन, अनुसन्धान तथा सिकाइ प्रणाली स्थापना गर्ने।
तल्लो तहसम्म प्राविधिक सहयोग, क्षमता अभिवृद्धि र अन्तर-निकाय समन्वयको वैज्ञानिक व्यवस्थापन गर्ने।
यी प्रयासहरूले विश्वव्यापी रूपमा स्थापित ढाँचाहरू जस्तै: Health System Strengthening (HSS) र Pharmaceutical System Strengthening (PSS) लाई नेपालमा साकार रूप दिन ठूलो टेवा पुर्याउनेछन्। विभिन्न अध्ययनहरूले उत्कृष्ट फार्मेसी अभ्यास र आपूर्ति शृङ्खलाका सूचकहरू चुस्त हुँदा मात्र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने पुष्टि गरेका छन्।
एक प्राविधिकका रूपमा हाम्रो अपेक्षा के छ भने, मन्त्रालयको ध्यान केवल कस्मेटिक ब्रान्डिङ (बाह्य स्वरूप परिवर्तन) मा मात्र सीमित नभई, फार्मेसी सेवा प्रवाहको भित्री गुणस्तर र सुशासन सुधारमा बढी केन्द्रित होस्।
विभिन्न सञ्चारमाध्यम र अखबारहरूका अनुसार, आज देशको राजधानी काठमाडौँमै पनि निःशुल्क अत्यावश्यक औषधिहरूको आपूर्ति शृङ्खलामा समस्या देखिन्छ। हुम्ला, जुम्ला वा कालिकोट जस्ता दुर्गम जिल्लाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा एउटा सामान्य सिटामोल समेत पाउन मुस्किल रहेको तितो यथार्थ हाम्रासामु छ।
जबसम्म सहरदेखि गाउँसम्मका फार्मेसीहरूमा 'जहाँ औषधि, त्यहाँ फर्मासिस्ट', असल फार्मेसी अभ्यास र समग्र औषधि आपूर्ति शृङ्खला गुणस्तर सुनिश्चितता संयन्त्रलाई गहिराइबाट आत्मसात् गरिँदैन, तबसम्म राज्यले निःशुल्क औषधि र स्वास्थ्य क्षेत्रमा गर्ने करोडौँको लगानी बालुवामा पानी हाले सरह हुनेछ। फर्मासिस्टहरूको विज्ञता र सुरक्षित औषधिको उपलब्धता बिना विश्वव्यापी स्वास्थ्य पहुँचको नारा केवल कागजमा मात्र सीमित रहनेछ।
अन्त्यमा, यी प्राविधिक पक्षहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा मात्र 'अस्पताल फार्मेसी' सही अर्थमा 'सुलभ र भरपर्दो फार्मेसी' का रूपमा उदाउनेछ। यसले फर्मास्युटिकल जनस्वास्थ्यलाई बलियो बनाउँदै सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको भरोसा बढाउनेछ।
विद्यमान चुनौतीहरू र कार्यक्षेत्र व्यापक रहे पनि तत्काल कार्यान्वयन गर्न सकिने यिनै प्राविधिक विन्दुहरूबाट कार्य प्रारम्भ गर्नु उपयुक्त हुनेछ। हजुरको यो ऐतिहासिक कार्यकाल पूर्ण रूपमा फलदायी, सफल र नतिजामुखी होस् भनी कामना गर्दछु।
धन्यवाद।
सद्भावसहित,
सन्दीप रायमाझी
लाइसेन्सप्राप्त फर्मासिस्ट