पथरी– विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ।
नोबेलका सञ्चालक सुनिलकुमार शर्माका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. ३ का सम्पूर्ण विपन्न परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइनेछ। डा शर्माले भने, 'सरकारले एक परिवारको बीमाका लागि दुई हजार ५ सय रुपैयाँ लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्नेछ।'
शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २ सय जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने पनि घोषणा गरेका छन्।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। शर्माले भने, 'स्वास्थ्य शिविरमा भेटिएका आर्थिक अभावका कारण उपचार नपाएका १ सय ५० भन्दा बढी बिरामीले नोबेल अस्पतालमा उपचार गराइरहेका छन्।' रासस