अमेरिका — ममता काफ्ले भट्ट बेपत्ता भएको ४८ घण्टाभित्र उनका पति नरेश भट्ट उत्तरी भर्जिनियाका दुई स्थानमा रहेका डम्पस्टरमा कम्तीमा पाँच पटक पुगेको सीसीटीभी क्यामेराको भिडियो अदालतमा प्रस्तुत गरिएको छ।
अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा चलिरहेको सुनुवाइका क्रममा बुधबार अभियोजन पक्षले उक्त भिडियो प्रमाणका रूपमा प्रस्तुत गरेको हो।
सन् २०२४ जुलाई २९ मा ममतासँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यसपछि उनी बेपत्ता भएकी हुन्। उनी हालसम्म फेला परेकी छैनन्।
अभियोजन पक्षका अनुसार नरेशमाथि आफ्नी पत्नीको हत्या गरेपछि उनको शव टुक्राटुक्रा पारेर उत्तरी भर्जिनियाका विभिन्न स्थानमा रहेका फोहोर फाल्ने ठाउँमा फालेको आरोप छ। उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग लगाइएको छ। यद्यपि, यी आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन्।
दुई स्थानमा फोहोर फालेको भिडियो
अदालतमा प्रस्तुत भिडियोअनुसार नरेशले मनासस पार्कस्थित आफ्नी छोरीको हेरचाह गर्ने व्यक्तिको अपार्टमेन्ट परिसर र फल्स चर्चस्थित अर्को अपार्टमेन्ट परिसरमा रहेका डम्पस्टर तथा फोहोर थिच्ने मेसिन प्रयोग गरेका थिए।
सन् २०२४ जुलाई ३० को बिहान करिब ६:४० बजेअघि नरेशले आफ्नी शिशु छोरीलाई बालहेरचाहकर्ताको अपार्टमेन्टमा पुर्याएका थिए। त्यसै समयमा उनी गाडीबाट ओर्लिएर एउटा झोला डम्पस्टरमा फाल्दै गरेको भिडियोमा देखिन्छन्। त्यसपछि उनी गाडी लिएर त्यहाँबाट निस्किएका थिए।
सोही दिन दिउँसो छोरीलाई लिन आउँदा उनले फेरि त्यही डम्पस्टरनजिक गाडी रोकेको देखिन्छ।
बालहेरचाहकर्ता अमान्डा जिरोन-पेरेजले मंगलबार अदालतमा दिएको बयानअनुसार, छोरी लिन आएका नरेश उनको अपार्टमेन्टभित्र जबर्जस्ती प्रवेश गरेका थिए। उनले नरेशले कोठाभित्र अस्वाभाविक रूपमा यताउता हेरेको पनि बताएकी छन्।
सेतो पञ्जा लगाएर फोहोरका झोला फालेको दृश्य
जुलाई ३१ को मध्यरात आसपासको अर्को भिडियोमा नरेश नीलो टेस्ला कारमा फल्स चर्चस्थित अपार्टमेन्ट परिसरको फोहोर थिच्ने मेसिननजिक पुगेको देखिन्छ।
सेतो पञ्जा लगाएका उनी कारबाट ओर्लिएर फोहोरका झोलाहरू निकाल्दै मेसिनभित्र फाल्छन्। भिडियोमा उनी कार र मेसिनबीच चार पटक ओहोरदोहोर गरेको देखिन्छ। उनले विभिन्न आकार र तौलका झोलाहरू मेसिनभित्र राखेका थिए।
नरेशले उक्त अपार्टमेन्ट परिसरको एउटा युनिट अझै भाडामा लिइरहेका थिए। तर उनी त्यहाँ बस्न छाडिसकेका थिए। उनी आफ्नी पत्नी ममता र शिशु छोरीसँग मनासस पार्कस्थित आफ्नै घरमा बस्दै आएका थिए।
भिडियोमा देखाइएको समयअनुसार उक्त घटना जुलाई ३१ को बिहान १२:३० बजे भएको देखिन्छ। तर सम्पत्ति व्यवस्थापकका अनुसार निगरानी क्यामेरामा देखिने समय वास्तविक समयभन्दा एकदेखि दुई घण्टासम्म अगाडि वा पछाडि हुन सक्ने भएकाले समय यकिन नहुन सक्छ।
अभियोजन पक्षको आरोप
अभियोजन पक्षले ममता बेपत्ता भएपछि नरेशले विभिन्न स्थानमा फोहोर फालेको घटनालाई मुद्दाको प्रमाणका रूपमा प्रस्तुत गरिरहेको छ। अभियोजन पक्षको दाबीअनुसार उनले ममताको शव लुकाउन र नष्ट गर्न विभिन्न डम्पस्टर प्रयोग गरेका थिए।
नरेशमाथि लागेको आरोपको विषयमा अदालतमा सुनुवाइ जारी छ। निगरानी क्यामेराका दृश्य र साक्षीको बयानले घटनाक्रमबारे थप विवरण सार्वजनिक गरे पनि आरोप प्रमाणित भए–नभएको अन्तिम निर्णय अदालतले गर्नेछ।