पोखरा- गण्डकी आयुर्वेद अस्पताल, पोखराले आरोग्य दिवस तथा धनवन्तरी जयन्तीको अवसरमा एक खुला जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
आगामी २०८३ कातिक २१ गते मनाइने यस वर्षको राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती 'प्रकृति अनुकूल आहार, औषध र विहार, रोगमुक्त समाजको आधार' भन्ने महत्वपूर्ण मूल नाराका साथ मनाइँदैछ। यसै नारालाई आत्मसात् गर्दै स्वास्थ्य क्षेत्रमा सर्जकहरूलाई जोड्न र डिजिटल माध्यमबाट जनचेतना फैलाउन खुला भिडियो प्रतियोगिता प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस प्रतियोगितामा देशभरिका इच्छुक सम्पूर्ण व्यक्ति तथा रचनात्मक सर्जकहरूले उत्साहपूर्वक सहभागिता जनाउन सक्नेछन्।
भिडियोमा समेट्नुपर्ने मुख्य विषयवस्तुहरू
प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरूले निम्नलिखित विषयहरूमध्ये कुनै एक वा बढीलाई समेटेर भिडियो तयार पार्नुपर्नेछ:
न सर्ने रोगको रोकथाम तथा जोखिम न्यूनीकरण र त्यसमा आयुर्वेदको भूमिका
प्रकृति अनुकूल आहार, विहार र स्वस्थ जीवनशैली
योग, व्यायाम, निद्रा तथा मानसिक स्वास्थ्य
आयुर्वेद र स्वास्थ्य प्रवर्द्धन
औषधिको उचित प्रयोग तथा रोगको रोकथाम
प्रतियोगितामा सहभागी हुन पालना गर्नुपर्ने मुख्य सर्तहरू:
प्रतियोगीहरूले पठाउने भिडियोको अवधि न्यूनतम २ मिनेटदेखि अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ।
भिडियो पूर्ण रूपमा मौलिक, सन्देशमूलक तथा समाजमा जनचेतना अभिवृद्धि गर्ने खालको हुनुपर्नेछ।
भिडियो निर्माणका क्रममा प्रयोग गरिने अन्य सामग्री तथा संगीतको प्रतिलिपि अधिकार सम्बन्धी सम्पूर्ण नियमहरू अनिवार्य रूपमा पालना गरिएको हुनुपर्नेछ।
भिडियो पठाउने अन्तिम मिति २०८३ कार्तिक २० गते दिउँसो १:०० बजेसम्म तोकिएको छ। तोकिएको समयभित्र आफ्नो भिडियो गुगल ड्राइभमा अपलोड गरी सोको पहुँचयोग्य लिङ्क अस्पतालको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।
प्राप्त भिडियोहरूमध्येबाट उत्कृष्ट भिडियोहरूको छनोट आयोजकको निर्णयअनुसार नै हुनेछ।
पुरस्कार
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिनेछ:
प्रथम पुरस्कार: रु. ५,०००/-
द्वितीय पुरस्कार: रु. ३,०००/-
तृतीय पुरस्कार: रु. २,०००/-
गण्डकी आयुर्वेद अस्पतालले स्वस्थ जीवनशैली र रोग रोकथामसम्बन्धी सकारात्मक सन्देश सिर्जना गरी यस अभियानलाई व्यापक रूपमा प्रवाह गर्न सबैमा हार्दिक आह्वान गरेको छ। यस प्रतियोगितासम्बन्धी थप जानकारी लिन वा भिडियो पठाउने प्रक्रियाबारे बुझ्नका लागि पोखरा, लेखनाथस्थित गण्डकी आयुर्वेद अस्पतालमा प्रत्यक्ष रूपमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।