सर्वप्रथम, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनु मेरा लागि गौरवको विषय हुनुका साथै ठूलो जिम्मेवारी पनि हो। मलाई यो जिम्मेवारी प्रदान गर्नुहुने कुलपति एवं सम्माननीय प्रधानमन्त्रीज्यू लगायत नियुक्ति प्रक्रियामा संलग्न सम्पूर्ण महानुभावहरू प्रति हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रकै एक महत्त्वपूर्ण स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्था हो। यस प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु, चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु र संस्थागत सुशासनलाई सुदृढ बनाउनु हाम्रो प्रमुख दायित्व हो।
उपकुलपतिको जिम्मेवारी सम्हालेपछिका पहिलो १०० दिनलाई मैले प्रतिष्ठानको विद्यमान अवस्था बुझ्ने, समस्या तथा चुनौती पहिचान गर्ने, सरोकारवालाहरू सँग छलफल गर्ने र सुधारका प्राथमिकता निर्धारण गर्दै कार्यान्वयनमा अघि बढ्ने अवधिका रूपमा लिएको छु।
यस अवधिमा अस्पतालको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार, आर्थिक स्रोतको परिचालन, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रलाई प्राथमिकतामा राखेर सुधारका प्रयासहरू अघि बढाइएको छ।
मेरो बुझाइमा १०० दिनको सफलता निर्णयहरूको सङ्ख्याले मात्र मापन हुँदैन; ती निर्णयबाट बिरामी, विद्यार्थी, स्वास्थ्यकर्मी, कर्मचारी र समग्र संस्थाले प्राप्त गरेको सकारात्मक परिवर्तन नै सफलताको वास्तविक मापदण्ड हो।
यस अवधिमा हासिल भएका उपलब्धिहरू सम्पूर्ण विभागीय प्रमुखहरू, चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवारका सबै सदस्यहरूको सकारात्मक सहयोग, सहकार्य र प्रतिबद्धताको परिणाम हुन्। यसका लागि म सम्पूर्ण प्रतिष्ठान परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु।
१. सघन उपचार कक्ष (ICU) को क्षमता विस्तार
५०० शैय्याको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वर्षौं देखि सघन उपचार कक्ष (ICU) को क्षमता १० शय्यामा सीमित रहेको थियो। बिरामीको बढ्दो चाप र सघन उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै थप २५ शैय्या विस्तार गरी हाल कुल ३५ शैय्याको आईसीयू सेवा सञ्चालनमा ल्याइएको छ। यसबाट गम्भीर अवस्थाका बिरामीलाई समयमै सघन उपचार उपलब्ध गराउन तथा उपचारका लागि अन्य अस्पतालमा प्रेषण (Refer) गर्नुपर्ने बाध्यता कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको छ।
२. बहिरङ्ग सेवा, बिलिङ तथा फार्मेसी सेवाको विस्तार
बिरामीको चाप अनुसार फार्मेसी, बिलिङ तथा टिकट काउन्टरहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। साथै, बहिरङ्ग सेवा (OPD) का काउन्टर तथा सेवा सञ्चालन क्षमतामा विस्तार गर्दै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने प्रयास गरिएको छ। यी सुधारबाट सेवाग्राहीको प्रतीक्षा समय तथा सेवा प्राप्तिमा हुने असहजता कम गर्न सहयोग पुगेको छ।
३. मुटुरोगसम्बन्धी सेवाको एकीकृत व्यवस्था
मुटुरोग सम्बन्धी परीक्षण तथा निदान सेवालाई सहज र व्यवस्थित बनाउन इसिजी (ECG), होल्टर मोनिटरिङ (Holter Monitoring) र इकोकार्डियोग्राफी (Echocardiography) लगायतका सेवाहरू एउटै स्थानबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ। यसबाट बिरामीले विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता कम हुनुका साथै परीक्षण सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
४. मानसिक रोग तथा रेडियोलोजी सेवाको सुदृढीकरण
मानसिक रोग विभागमा ईईजी (EEG) तथा ईसीटी (ECT) सेवा प्रारम्भ गरिएको छ। त्यसैगरी, रेडियोलोजी विभागमा भिडियो एक्स-रे तथा इन्टरभेन्सनल रेडियोलोजी सेवालाई थप सुदृढ बनाइएको छ। यी पहलहरूले रोगको निदान तथा उपचारमा अस्पतालको क्षमता अभिवृद्धि गर्नुका साथै बिरामीलाई प्रतिष्ठानमै थप विशिष्टीकृत सेवा उपलब्ध गराउने आधार तयार गरेका छन्।
५. अस्पतालको वातावरणीय सरसफाइमा सुधार
अस्पताल परिसर, सेवा कक्ष तथा अन्य कार्यक्षेत्रको वातावरणीय सरसफाइमा उल्लेखनीय सुधार गरिएको छ। स्वच्छ, सुरक्षित र व्यवस्थित अस्पताल वातावरण निर्माण गर्न सरसफाइ व्यवस्थापनमा जोड दिइएको छ। यसले बिरामी, कुरुवा, सेवाग्राही तथा स्वास्थ्यकर्मीका लागि स्वस्थ र सहज वातावरण निर्माण गर्न सहयोग पुर्याएको छ।
६. साईमुलेशन ल्याबको स्थापना
‘वान हार्ट वर्ल्डवाइड’ (One Heart Worldwide) को सहयोगमा साईमुलेशन ल्याब स्थापना गरिएको छ। यसले विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई वास्तविक बिरामीमा अभ्यास गर्नुअघि कृत्रिम अभ्यास वातावरणमा सीप विकास गर्ने अवसर प्रदान गर्नेछ। यसबाट चिकित्सा शिक्षाको व्यावहारिक पक्ष, क्लिनिकल सीप तथा बिरामी सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
७. दन्त चिकित्सा विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनको तयारी
चिकित्सा शिक्षाको दायरा विस्तार गर्ने उद्देश्यले यस वर्ष देखि दन्त चिकित्सा विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा गर्ने दिशामा काम अघि बढाइएको छ। यस कार्यक्रमको सञ्चालनबाट विशेषज्ञ जनशक्ति उत्पादन, शैक्षिक अवसर विस्तार तथा प्रतिष्ठानको शैक्षिक प्रतिष्ठा अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
८. विद्युतीय चिकित्सा अभिलेख प्रणाली (EMR) कार्यान्वयनको प्रक्रिया अघि बढाइएको
अस्पतालको सेवा प्रवाहलाई आधुनिक, व्यवस्थित, पारदर्शी तथा प्रविधि मैत्री बनाउन विद्युतीय चिकित्सा अभिलेख प्रणाली (Electronic Medical Record—EMR) कार्यान्वयनको प्रक्रिया तीव्रताका साथ अघि बढाइएको छ। यस प्रणालीको प्रभावकारी कार्यान्वयनबाट बिरामीको स्वास्थ्य अभिलेख व्यवस्थित राख्न, उपचारसम्बन्धी जानकारीको पहुँच सहज बनाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा तथ्यमा आधारित व्यवस्थापकीय निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
९. बिरामीलाई अन्यत्र प्रेषण (Refer) गर्नुपर्ने बाध्यतामा उल्लेखनीय कमी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको अत्यधिक चाप तथा केही सेवाको सीमित उपलब्धताका कारण बिरामीलाई अन्य स्वास्थ्य संस्थामा प्रेषण (Refer) गर्नुपर्ने अवस्था रहने गरेको थियो। १०० दिने कार्ययोजना अन्तर्गत बहिरङ्ग र अन्तरङ्ग सेवा क्षमता विस्तार, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग र सेवा व्यवस्थापनमा सुधारका प्रयासहरू अघि बढाइएका छन्। यसबाट अस्पतालमै उपचार सेवा उपलब्ध गराउन सहज भएको र अन्यत्र प्रेषण (Refer) गर्नुपर्ने बाध्यतामा उल्लेख्य कमी आएको छ।
१०. शव भण्डारण/व्यवस्थापन क्षमतामा वृद्धि
विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन हाल भइरहेको ७२ शव भण्डारण/व्यवस्थापन क्षमतालाई वृद्धि गरी ९६ वटा सम्म शव व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ।
११. कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत शैय्या लक्षित वर्गको निःशुल्क उपचारका लागि अनिवार्य छुट्ट्याउनुपर्ने प्रावधान भए तापनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा आउने जो सुकै,जति सुकै पनि बिरामीले आर्थिक सामाजिक वा अन्य कुनै पनि कारणले उपचारबाट वञ्चित हुनु नपर्ने व्यवस्थालाई निरन्तरता दिँदै विपन्न, असहाय र दीनदुखी बिरामीहरूका लागि निःशुल्क उपचारको व्यवस्थालाई सुदृढ बनाइएको छ।
१२. अस्पतालको अन्तरङ्ग सेवा तथा शैय्या क्षमतामा उल्लेखनीय विस्तार
आर्थिक वर्ष २०८१/८२ मा ४३४ शैय्या सञ्चालनमा रहेको अस्पतालको क्षमता वृद्धि भई विगत १५ महिनामा कुल ५२२ शय्या सञ्चालनमा रहेको छ। यस क्रममा २५ शैय्याको आईसीयू सेवा सहित थप कुल ८८ शैय्या सञ्चालन गरिएको छ।
करिब १४ वर्षअघि ५०० शय्याको स्वीकृति प्राप्त गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध जनशक्ति, पूर्वाधार तथा स्रोत साधनको प्रभावकारी परिचालन मार्फत स्वीकृत क्षमता भन्दा बढी शय्या सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनु महत्त्वपूर्ण उपलब्धि हो।
यसले अन्य कुनै पनि संघ संस्थाहरूको संस्थागत सहयोग वा आर्थिक सहायताको याचना नगरी उपलब्ध स्रोत साधनको अधिकतम उपयोग बाट पनि अस्पतालको सेवा क्षमता विस्तार गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। यसका साथै, अन्तरङ्ग सेवामा बिरामीको पहुँच बढाउन र शैय्याको अभावमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको छ।
आगामी कार्यदिशा
पहिलो १०० दिनमा हासिल भएका उपलब्धिहरूलाई आधार बनाउँदै आगामी दिनमा अस्पतालको सेवा गुणस्तर सुधार, बिरामी मैत्री सेवा प्रवाह, जनशक्तिको प्रभावकारी व्यवस्थापन, चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा संस्थागत सुशासनलाई थप प्राथमिकता दिइनेछ।
हाम्रो उद्देश्य सेवा लिन आउने प्रत्येक बिरामीले समयमै, सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने तथा स्वास्थ्य सेवाका लागि अन्यत्र कतै जानु नपर्ने वातावरण निर्माण गर्नु हो। त्यसैगरी, विद्यार्थीले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने, स्वास्थ्यकर्मीले सुरक्षित र व्यवस्थित कार्य वातावरणमा काम गर्ने तथा प्रतिष्ठानले राष्ट्रिय स्तरमा उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्ने दिशामा निरन्तर प्रयास गरिनेछ।
अन्त्यमा, यी उपलब्धिहरूलाई अन्तिम गन्तव्यका रूपमा नभई संस्थाको दीर्घकालीन सुधार यात्राको प्रारम्भका रूपमा लिईएको छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, पदाधिकारी, विभागीय प्रमुखज्यूहरू, प्राज्ञिक वर्ग, आर्थिक, प्रशासनिक, प्राविधिक, सहयोगी कर्मचारी, सम्पूर्ण प्रतिष्ठान परिवार, सरोकारवाला निकाय तथा आम नागरिकको सहयोग, सहकार्य र विश्वासका साथ थप सक्षम, गुणस्तरीय, पारदर्शी र जनउत्तरदायी संस्थाका रूपमा विकास गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई पोखरा स्वास्थ्य विज्ञान विश्वविद्यालय मा रूपान्तरण गर्ने बाटोमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछु।