सिंगापुरको एसोसिएसट प्रोफेसर डा ओङ वियु ची हालै नेपाल आएकी छिन्। उनी सिंगापुर सरकारको ‘सिंग हेल्थ’ कार्यक्रम अन्तर्गत नेपाल सरकारसँग भएको सम्झौता अनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित जनशक्तिलाई तालिम दिन नेपाल आएकी हुन्। राजधानीको होटल शंकरमा आयोजित कार्यक्रममा उनले बिरामीको सुरक्षा, गुणस्तर सुधारको तौरतारिका आदि विषयमा तालिम दिएकी छिन्। कार्डियाक एनेस्थेसियोलोजिस्ट एवं स्वास्थ्य गुणस्तर विशेषज्ञ चीसँग स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेल र प्रवीण ढकालले गरेको कुराकानीः
यो तालिम कस्तो प्रकृतिको हो र के उद्देश्यले गरिएको हो?
अस्पतालहरुमा बिरामीको सुरक्षा (प्यासेन्ट सेफ्टी) र गुणस्तर सुधारको तौरतरिका सिकाउनु नै यो तालिमको प्रमुख उद्देश्य हो। विशेषगरी, यसमा उपचार सेवाको क्षेत्रलाई कसरी निरन्तर रुपमा गुणस्तरीय बनाइराख्ने र समस्यालाई कसरी समाधान गर्दै लैजाने भन्ने कुरा बढी पर्छन्। ‘क्लिनिकल’ अभ्यास र आउटकम अर्थात् उपचारको परिणामलाई उच्च र राम्रो बनाउन यो तालिम केन्द्रित छ।
यसमा के के कुरा सिकाइन्छ?
हामी एक जना व्यक्तिलाई मात्र नभई प्रणाली नै विकास गर्ने कुरा सिकाउँछौं। हाम्रो जोड नै टिमवर्क र प्रणाली सुधारमा हुन्छ। कुनै पनि संस्था सफल हुनुमा टिमवर्ककै महत्वपूर्ण भूमिका रहन्छ। त्यसकारण यो तालिममा कसरी मिलेर समूहमा काम गर्न सकिन्छ भन्ने कुरा अभ्यास मार्फत हामीले सिकाइरहेका छौं। यसमा अन्तर विभाग समन्वय कसरी गर्ने? कसरी योजना बनाएर सही ढंगले कार्यान्वयन गर्ने? लगायतका तौरतरिका सिकाउँछौं।
बिरामीको सुरक्षा र गुणस्तर सुधारका कुरामा हामीले सैद्धान्तिक ज्ञान मात्र दिएका छैनौं। तालिममा सहभागीलाई प्रयोगात्मक र व्यावहारिक ज्ञान दिएका छौं। सहभागीबाट नै समस्या पहिचान गरेर समाधान गराउन लगाएका छौं।
तालिममा सहभागी हुने व्यक्तिको छनोट कसरी भयो?
यो कार्यक्रम सिंगापुर र नेपाल सरकारबीचको सम्झौता अनुसार भएको हो। त्यसकारण हामीले स्वास्थ्य सेवा गुणस्तरका विषयमा तालिम दिन लागिरहेको जानकारी नेपालको स्वास्थ्य मन्त्रालयमा गराएका थियौं।
मन्त्रालयले आफ्नो आवश्यकता अनुसार नेपालका विभिन्न १० अस्पतालका प्रतिनिधि छानेर पठाएको छ। यहाँ करिब ७० जनाले तालिम लिइरहेका छन्। हामीले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, व्यवस्थापन, प्रशासन र लेखाका व्यक्ति पनि चाहिन्छ भनेका थियौं। त्यही अनुसार प्रतिनिधि छनोट भएर आएका छन्। त्यसबाहेक विभिन्न मेडिकल कलेज तथा युनिभर्सिर्टीमा पनि यही प्रकृतिको तालिम सञ्चालन गर्नेछौं।
तालिमका लागि नेपाललाई कसरी छनोट गरियो?
नेपाल र सिंगापुरबीचको मित्रताको सम्बन्ध अनि डा विजयन्द्र बरालको समन्वयका कारण नेपाललाई छनोट गरिएको हो। नेपालमा कार्यक्रम ल्याउनुभन्दा अगाडि यहाँको स्वास्थ्य मन्त्रालय र मन्त्रालयका पदाधिकारीसँग पनि कुरा भएको थियो।
हामीले कुरा गर्दा नेपालका स्वास्थ्य मन्त्री गगन थापा थिए। थापासँग सिंगापुरका रक्षा तथा परराष्ट्रका वरिष्ठ राज्यमन्त्री डा मोहमद मलिकी बिन ओसमानले पनि कुराकानी गर्नुभएको थियो। यो कार्यक्रमको औपचारिक सुरुवात उहाँहरु दुवै जनाले संयुक्त रुपमा गर्नु भएको हो। कार्यक्रमका विषयमा नेपाल सरकार पनि सकारात्मक भएपछि हामीले कार्यक्रम ल्याएका हौं।
तालिममा सिकेका कुरा व्यावहारमा देखिनेछ भनेर कसरी मूल्यांकन गर्नुहुन्छ?
मैले अघि पनि भनेको थिएँ। यो लेक्चर र सैद्धान्तिक मात्र नभएर अभ्यासमा आधारित तालिम हो। यहाँ सहभागीलाई हामी तालिमका क्रममा केही प्रोजेक्ट दिन्छौं। त्यसलाई उसले आफ्नो अस्पताल वा संस्थामा गएर लागू गर्नुपर्छ।
त्यसको हामी मध्यावधि र अन्तिममा समीक्षा गर्छौं। त्यसैले तालिममा सिकेका कुरा व्यवहारमा उत्रिन्छ भन्नेमा हामी ढुक्क छौं। यो तालिम भनेको दुई दिन कार्यशाला गरेर सकिने नभई सम्बन्धित संस्थामा निरन्तर अभ्यास गर्दै जाने खालको हो। त्यसकारण यहाँ सहभागी भएकाहरुले आफ्नो संस्थामा गएर यसलाई नियमित अभ्यासका रुपमा लागू गर्छन्।
तालिममा सहभागीहरुसँगको अन्तक्र्रियाका क्रममा नेपालको स्वास्थ्य गुणस्तरबारे के जानकारी पाउनुभयो?
तालिममा सहभागी सबैको सक्रिय सहभागिता छ। उनीहरुमा सिक्ने खुल्दुली देखेर निकै खुसी लागेको छ। यो तालिमलाई उनीहरु सबैले चासोका साथ लिएका छन्। उनीहरुका अनुसार नेपालमा गुणस्तरका लागि कामहरु भएका त छन् तर त्यो पर्याप्त छैन।
गुणस्तरीय सेवाका लागि सबैको सक्रिय सहभागिता हुनुपर्छ भन्ने विषयमा उनीहरुले ‘रियलाइजेसन’ गरेका छन्। तालिममा आएकाहरुको जानकारी अनुसार नेपालमा गुणस्तरको विषय डाक्टर तथा स्वास्थ्यकर्मीले प्रशासनलाई, प्रशासनले व्यवस्थापकलाई अनि व्यवस्थापकले अर्कोलाई देखाएर पन्छिने चलन रहेछ। गुणस्तर सुधारको विषयमा एकले अर्कोलाई देखाएर पन्छिनु नै ठूलो समस्या छ। तर, तालिममा आउनेहरुले यो विषय सबैको हो र सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने रहेछ भन्ने बुझेका छन्।
सिंगापुरमा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न के–कस्तो व्यवस्था छ?
पहिलो कुरा त कानुन नै हो। सिंगापुरमा कानुनमा शून्य सहनसीलता छ। मान्नै पर्छ। मानेन भने सजाय हुन्छ। कानुनमा नै गुणस्तरका लागि मान्नुपर्ने व्यवस्था छ।
अर्को, हेल्थ केयर च्याम्पियन्स भन्ने छ। उनीहरुले अनुगमन गर्ने, गुणस्तरको निगरानी गर्ने गर्छन्। हुन त सिंगापुरमा अधिकांस अस्पताल ‘जोइन्ट कमिसन इन्टरनेसनल एक्रिडिटेसन (जेसिआई) स्ट्यान्डर्ड’का छन्। त्यस बाहेक हाम्रो आन्तरिक गुणस्तरको स्ट्यान्डर्ड पनि छ। साथै, अस्पतालले आफैं मूल्यांकन गरेर पनि काम गरेका छन्। गुणस्तरीय सेवा दिन के–के छ भनेर उनीहरु नै जागरुक भएर लागेका छन्। सबै जना गुणस्तरका लागि डेडिकेटेड छन्।
कुनै छुट्टै निकाय छ कि अनुगमनका लागि?
त्यस्तो छुट्टै निकाय नै भन्ने छैन। कानुन तथा लाइसेन्सका कुरा सरकारले नै हेर्ने हो भने निरीक्षणका लागि गुणस्तर निरीक्षक अर्थात् गुणस्तर च्याम्पियन्स छन्।