मंगलबारे, इलाम- इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएको लामो समय भइसकेको थियो।
उज्यालो संसारबाट धेरै समय टाढा रहेका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थालेका छन्। गुमेको ज्योती फिर्ता भएसँगै उनले पुनर्जीवन नै पाएको बताए।
आँखा नदेखे पनि डाक्टरले आँखा झिकिदिन्छन् भन्ने डरले उपचार नै गराउन नजानु भएका तामाङलाई भतिजी चन्द्रकलाले बल्ल बल्ल आँखा शिविरमा ल्याएकी थिइन्।
उपचारका लागि उनलाई नेपाल नेत्र ज्योति संघ, इलाम र विराटनगर आँखा उपचार केन्द्र, विराटनगरद्वारा इलाम सदरमुकाममा सञ्चालित मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया शिविरमा उनले नै ल्याएकी हुन्।
उपचारमा ल्याउँदा बाटोमा समेत आँखा हराउँछ भन्ने डर उनमा थियो । भतिजी चन्द्रकलाले भनिन्, ‘बाटोमा समेत सारै डराउनु भएको थियो, आँखा छाम्दै–छाम्दै आउनुभको हो।’
आँखाको उपचार त के, उहाँ आँखा जाँच गर्न नै डराउने गर्थे। मंगलबार पनि उनले उपचार गराउन नमानेपछि डाक्टर मनिष पाण्डेको टोली नै लागिपरेर जबर्जस्ती जस्तै गरी शल्यक्रिया गरेको थियो।
बिहान एउटा आँखामा पट्टि बाँधेर अस्पताल परिसरमा देखिएका तामाङ निकै निरास देखिन्थे। उनको मनभरि निराशा छाएको थियो भने डाक्टर मनिषदेखि उनी रिसाएका थिए। उनकी भतिजीदेखि त झन् धेरै रिसाएर बर्बराउन नै थालेकी थिइन्।
रिसाएका तामाङलाई डाक्टरको टोलीले अन्य २४ जना शल्यक्रिया गरेको टोलीसँगै जब कुर्सीमा राखियो । उनको सहाराका रुपमा रहेको लठ्ठी एकातिर राखियो । तामाङलाई आफ्नो लठ्ठी कहाँ छ भन्ने नै थाहा थिएन।
डाक्टर पाण्डेले आँखा सफा गर्दै आँखा खोल्न आग्रह गरे। तामाङले आँखा त खोले, तर चम्किलो अनुहार लगाएर टोलाइ मात्र रहे। उनकी भतिजी आएर सोधिन्, ‘म को हो ?’ तामाङ एकै छिन टोलाए। अनि आफ्नो असीम खुशी छल्काउने गरी भने, ‘उम्.. नानी...’ त्यसपछि सबैको हाँसो गुन्जियो, सबैमा खुशी छायो ।
तामाङलाई डाक्टर मनिषले सोधे, ‘म को हो ?’ तामाङले खुशी भएर हेर्दै ‘नमस्कार डाक्टर !’ भनिहाले । डाक्टर मनिषको मुहारमा पनि खुशी छल्केको थियो । तामाङले सबैलाई पालैपालो हेर्दै नमस्कार गर्न थाले। डाक्टर मनिषले उनको छेउमा गएर मोबाइल निकाल्दै उनलाई देखाउँदै सेल्फी खिच्न आग्रह गरे।
जब उपचार भयो, कसोकसो गर्दा उनले आफ्नो जुत्ताको लेस खुस्केको थाहा पाए। अनि बोली पनि नबुझिने गरी कराउन थाले। तामाङकी भतिजी सो बेला बाहिर गएकी रहिछन्। जुत्ताको लेस हेर्दै कराउन थालेपछि अर्का एक अधबैंसेले उनको लेस बाँधिदिन खोजे। तामाङ अझ झाँेक्किएर आफ्नो लेस आफैँ बाँध्ने बताए। लामो समयदेखि अर्कैले कपडा लगाइ दिने, अर्कैैले नुवाइधुवाइ गरिदिने र लगभग परनिर्भर जस्तै तामाङले जुत्ताको लेस आफैँ बाँधे।
भतिजीले उनको बारेमा बताउन थाले, डाक्टर र उपस्थित सबै छक्क परे । फिल्मी शैलीमा जस्तै अचानक उनमा आएको परिवर्तनले डाक्टर र उनका आफन्तजनमा समेत खुशीयाली छाएको थियो ।
यति छिटो यस्तो परिवर्तन हुन्छ भन्ने नसोचेकी उनकी भतिजीले समेत छक्क पर्दै भनिन्, ‘पहिले नै उपचार गराउन जाउँ भन्दा कुट्न खोज्नुहुन्थ्यो ।’ डाक्टर मनिष पाण्डे नेतृत्वको टोली पनि दंग प¥यो । धेरै यस्ता उपचार गराए पनि यो उपचारले डाक्टर हुनुमा गौरव महसुस भएको उनले बताए।
जब शिविरमा डाक्टरले जाँच गर्न थाले तबसम्म पनि आँखा देख्न सक्छु भन्ने विश्वास आफूमा नपलाएको तामाङले बताए। आँखाको शल्यक्रिया पछि उनले संसारको उज्यालो जब अलिअलि देख्न थाले, तब तामाङले पहिला नै किन उपचार नगरेको भन्ने पश्चाताप आफूमा छाउन थालेको बताए। उनले शिविरबाट नयाँ जीवन पाएको महसुस गरेको बताए।
इलाम अस्पतालमा मंगलबार बिहान देखिएको यो दृष्यले सबै मोतियाबिन्दुका बिरामीलाई शल्यक्रिया गरे आँखाको ज्योति फेरि फर्कने रहेछ भन्ने विश्वास गर्न ठूलो मद्दत पुगेको छ ।
तामाङको एउटा आँखाको मात्र शल्यक्रिया गरिएको छ । अब उनी आफैँ अर्को आँखाको शल्यक्रिया गराउन तम्तयार देखिएका छन्।
उमेर बढेसँगै मानिसमा मोतियाबिन्दु हुने डाक्टर मनिष पाण्डे बताउँछन्। उनले मोतियाबिन्दुको निश्चित औषधि नभएको बताउँदै उत्तम विकल्प भनेको शल्यक्रिया नै भएको बताए।
इलाममा मोतियाबिन्दु भएकाका लागि तीनदिने निःशुल्क शिविर भइरहेको छ । सोमबारदेखि सुरु भएको शिविर बुधबार सकिएको छ ।
पहिलो दिन २५ जना र दोस्रो दिन ३१ र तेस्रो दिन १९ को निःशुल्क शल्यक्रिया भएको आयोजक नेत्रज्योति संघ, इलामका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए। शिविरमा एक हजार ५०० भन्दा बढीले आँखा जाँच गराएको उनले बताए। रासस